कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
नक्कली भुटानी शरणार्थी प्रकरण

जसले दिएका थिए पहिलो जाहेरी [भिडियो]

मैले प्रधानमन्त्री देउवा, मन्त्री खाण र सचिव पाण्डेलाई भेटेरै डुबेको पैसा फर्काइदिन बिन्ती पनि गरेको थिएँ : बुढाथोकी
देवेन्द्र भट्टराई

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणको पर्दाफास भएपछि जाहेरी, बयान र कागजमा सबैभन्दा बढी आएको नाम हो– गजेन्द्र बुढाथोकी । २३ वर्षयता अमेरिका बसिरहेका दाङका बुढाथोकी यो प्रकरणमा यसरी तानिए कि एक महिना खर्चेर काठमाडौं जिल्ला अदालतले लिएको पीडक/पीडितको बयानमा प्रत्यक्ष वा परोक्ष जोडिन पुगे ।

जसले दिएका थिए पहिलो जाहेरी [भिडियो]

पाँच वर्षसम्म चलेको यो गम्भीर अपराधमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अदालतमा दायर गरेको अभियोगपत्रको पहिलो बुँदामै उल्लेख छ– ‘गजेन्द्र बुढाथोकीसमेतको जाहेरीले नेपाल सरकार...’

२०७५ देखि सुरु यो प्रकरणका गिरोह २०७९ फागुनसम्म सक्रिय रहे । झापा, मोरङ, सुनसरीदेखि कास्की, दाङ, सल्यान, म्याग्दी, रुकुम, रोल्पा, दोलखा, रामेछाप, काठमाडौंसम्मका सर्वसाधारण अमेरिका जाने सपनामा लागिरहे । यसरी हाकाहाकी एक हजारभन्दा बढी नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइने सपनाको सूत्रपात भएको देखिन्छ ।

बुढाथोकीसँगै एकै दिन उजुरी दिनेमा अर्का दाङकै रामकुमार रेग्मी पनि हुन् । जसले आफूसहित १६ जनाले बुझाएको झन्डै ४ करोड रुपैयाँको विस्तृत विवरण काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमै बुझाएका थिए । ‘हामी दुवैका हकमा दाङकै सन्देश शर्मा पोखरेल प्रमुख योजनाकार पात्र थिए, जसले हामी (बुढाथोकीसहित) मार्फत हाम्रै भेगका जनसाधारणलाई ठगी गर्न सफल भएका थिए,’ कान्तिपुरसँग रेग्मीले भने ।

यही प्रकरणमा तानिएका बुढाथोकी भने एक साताअघि अमेरिकाबाट काठमाडौं उत्रिएका हुन् । ‘अमेरिका जाने भन्ने सपनामा जोडिएका मेरा दंगाली साथीभाइ र आफन्तका निम्ति म छड्के किनाराको साक्षीझैं रहें, यदि सरकार (गृह मन्त्रालय) कै पहलमा यसरी आधिकारिक कागजात बनाएर अमेरिका आउन पाइन्छ भने किन खर्च नगर्ने ? किन खतराको तल्लो बाटो रोजिरहने ?’ उनी भन्छन्, ‘मेरै कारण वा मेरो विश्वासमा जोडिएर गिरोहमा पैसा खन्याउने ६१ जनाका तर्फबाट मैले २०७९ जेठ १८ मै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएको थिएँ, जसमा झन्डै १० करोड रुपैयाँ ठगीमा पर्ने मेरा आफन्तजनको नाम/सूची उल्लेख थियो ।’

यो साता मात्रै सकिएको जाहेरवाला/प्रतिवादी बयानमा बुढाथोकीको नाम निकै प्राथमिकताका साथ आएको छ । आफूलाई अमेरिका लैजाने भन्दै ठगी गरेको भनेर दाङ मूल घर भएका राजु केसी, द्रोणबहादुर अधिकारी, लेखनाथ योगी, राकेश लामिछाने, सुदन बस्नेत, दीपक केसी र प्रमोदविक्रम राणाले २०७९ माघ २० मा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । ‘मैले दाङकै सन्देश शर्मासँगको कुराकानी र पछि काठमाडौंमा केशव दुलाल तथा सानु भण्डारीसँगको भेटघाटका कारण आफन्तजनलाई अमेरिका जान सकिनेबारे मार्गप्रशस्त गरेको हुँ,’ बुढाथोकीले भने, ‘आफन्तबाट पैसा उठाउन थालेको वर्ष दिनसम्म पनि केही काम नभएपछि म आफैं पैसा फिर्ता गराउन र गिरोहका पीडक जति सबैलाई कारबाही गराउन लागिपरेको थिएँ ।’

२०७९ जेठ १८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएलगत्तै केही दिन पुल्चोकस्थित मन्त्री क्वार्टरमा गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर अमेरिका जान पैसा बुझाउनेहरूका बारेमा अवगत गराएको उनले बताए । ‘नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कुरा पनि कतै हुन्छ ? नचाहिने कुरा नगर्नुस्’ भनेर सुरुमा खाणले भने पनि उनकै सहयोगी नरेन्द्र केसीको आग्रहमा कांग्रेस अधिवेशनमा ६७ लाख रुपैयाँ सहयोग गरेको बारे आफूले सम्झाएपछि खाण नतमस्तक बनेको बुढाथोकीको भनाइ छ । ‘अनि मन्त्री खाणले तत्कालै गृह सचिव टेकनारायण पाण्डेलाई फोन गरेर दाङबाट आएका बुढाथोकीजी तपाईंकहाँ आउनेछन्, कुरा के हो सुनिदिनु भनेर पन्छाएका थिए,’ बुढाथोकीले सुनाए ।

त्यसपछि उनी सचिव पाण्डेलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा पाण्डेले ‘बुढाथोकीजी, यस्ता ठगीका थुप्रै मुद्दा गृहमा हुन्छन्, यसका पछि नलाग्नुस् । बरु अमेरिकै गएर आरामसँग बस्नुहोस्’ भनेर सम्झाउन चाहेको उनले स्मरण गरे । अर्को चरणमा, बालुवाटार गएर प्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई भेटेको उनी बताउँछन् । ‘नेपालीलाई भुटानी बनाएर अमेरिका लैजाने सपनामा सयौं नेपाली ठगिएको बारे उपत्यका अपराध कार्यालयमा उजुरी दिए पनि सुनुवाइ नभएको भनेर गुनासो राखेको थिएँ,’ बुढाथोकी भन्छन् । प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी भानु देउवातर्फ फर्केर ‘के भएको हो, तत्कालै बुझिहेर’ भनेको र भानुले ‘गृह सचिव विनोद सिंह बाहिर रहेकाले पछि सम्पर्क गर्नेछु’ भनेर उम्किन चाहेको उनले सुनाए । पछि आफ्नै सम्पर्कबाट उनले गृह सचिव सिंहलाई पनि ठगी र गिरोहबारे अवगत गराएका थिए ।

‘मेरै भरोसा र वचनमा धेरैजसो दंगाली आफन्तले पैसा खन्याएको सही हो । सधैंजसो गृह मन्त्रालयको पत्र, यूएनएचसीआरको आश्वासन र मोबाइल मेसेजमा आउने अनेक सूचना यति भरपर्दा थिए कि म पनि यो सरकारकै कार्यक्रम रहेछ भन्नेमा आश्वस्त रहिरहें,’ बुढाथोकी भन्छन्, ‘आफन्तका निम्ति ट्राभल डकुमेन्ट लिन भनेर म दमक, बेलडाँगीको शरणार्थी शिविर पनि पुगेको छु । चितवनदेखि विराटनगरका मेडिकल सेन्टर वा नक्कली फर्म भरिने होटलसम्म गएको छु ।’ तर, यो ठगीमा गृहमन्त्री, सचिवदेखिका उच्च पदस्थ संलग्न रहेछन् भन्ने थाहा पाएपछि आफन्तका नजरमा आफू पीडक बनेको उनले बताए । ‘तर, यो न्यायको लडाइँमा म आफू मारिए पनि वा जेल सजायमा परे पनि सधैं लडिरहनेछु, यो मेरो वचन भयो,’ उनले भने ।

बुढाथोकी र रेग्मीको जाहेरीका कारण गत चैत १२ मा पहिलो पटक गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई पक्राउ परेका थिए । त्यही लहरो आफूहरूसम्म आइपुग्ला भन्ने अन्तिम निचोडमा बुढाथोकी र रेग्मी थिएनन् । ‘अब भने यो लहरो र जालो योभन्दा माथिसम्म पुगेको छ, जोडिएको छ भन्ने संकेत म आफैंले पाउन थालेको छु,’ बुढाथोकीले भने ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर

विभिन्न चरणको ताकेता र कडिकडाउपछि यो प्रकरणमा घुसाउने सन्देश शर्माले विभिन्न मितिका ५ करोड रुपैंयाका चेक फर्काए पनि कतै खातामा पैसा नरहेको त कतै चेक ‘बाउन्स’ मा परेको अवस्था बेहोर्नुपरेको थियो । ‘खासमा गृह मन्त्रालयले बनाएको शरणार्थी समस्या समाधान बारेको कार्यदल प्रतिवेदनमार्फत केही वर्षयता छद्म आवरणमा पैसा उठाइएका नेपालीलाई अमेरिका लगिने भनेर अनेक उपाय अपनाइएको रहेछ,’ बुढाथोकी भन्छन्, ‘तर, यसरी नक्कली रूपमा भेला गरिएको नामको अनुसूची कहींकतैबाट सदर हुन नसकेपछि गिरोहका नाइके छटपटिएका रहेछन्, यही बेला म र रेग्मीजीले दिएको उजुरी कार्यान्वयनमा आउन सकेको रहेछ ।’

बुढाथोकीले दिएको जाहेरी :

रेग्मीले दिएको जाहेरी :

सन्देश शर्माले बुढाथोकीलाई फिर्ता गरेको चेक

प्रकाशित : जेष्ठ २६, २०८० ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?