कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पदयात्रीको रोजाइमा च्छो–रोल्पा

कोभिड महामारीसँगै तीन वर्ष सुस्ताएको रोल्वालिङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्यो 
केदार शिवाकोटी

दोलखा — लामो समयदेखि सुस्ताएको दोलखाको मुख्य पर्यटकीय क्षेत्र रोल्वालिङमा आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ । यसअघि विदेशी पदयात्रीको बाहुल्यता देखिने रोल्वालिङ क्षेत्रमा आन्तरिक पर्यटक पनि आउन थालेका हुन् । तन्नेरी पुस्ताले यो क्षेत्रको पदयात्रामा रमाउने मात्र होइन, कपितयले भ्लग बनाउनसमेत आउन थालेका हुन् ।

पदयात्रीको रोजाइमा च्छो–रोल्पा

कुमारी पदमार्गको परिचय बनाएको रोल्वालिङ उपत्यकामा दैनिक २५ देखि ५० जनासम्म पदमार्गी हिँड्न थालेका छन् । रोल्वालिङ क्षेत्र घुम्नका लागि यो उपयुक्त मौसम पनि हो । रोल्वालिङ पदयात्रा पर्यटकको चहलपहल बढेपछि बेदिङ र नाका होटल व्यवसायीमा समेत उत्साह बढेको छ ।

गौरीशंकर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ उपत्यकामा च्छो–रोल्पा हिमताल तथा दूधकुण्ड घुम्न बढीमा एक साताको पदयात्रा गर्नुपर्छ । छोटो समयमा निकै आकर्षक पदयात्राका लागि च्छो–रोल्पा छान्न सकिने जानकारहरूको भनाइ छ ।

फुर्सदको समयमा पदयात्रमा निस्कने विकास खड्काले पछिल्लो समयमा खासगरी युवाहरू च्छो–रोल्पा पदयात्रामा रमाउन थालेको बताए । ‘भ्लग बनाउने र प्रकृतिसँग रमाउने युवापुस्ता च्छो–रोल्पामा पुग्ने गरेका छन्,’ उनले भने, ‘पछिल्लो समयमा कम खर्चमा नजिकबाट हिमाल हेर्न जाने युवायुवती आकर्षित भएका छन् ।’ रोल्वालिङ पदयात्रा गर्ने अधिकांशको अन्तिम गन्तव्य भने ४ हजार ५ सय ८० मिटर उचाइको च्छो–रोल्पा हुने गरेको छ । घुम्ने हुटहुटीले एक्लै रोल्वालिङ पदमार्ग हुँदै च्छो हिमताल पुगेर आएका अर्जुन दाहालले कम खर्चमा हिमाल र हिमाली जनजीवन बुझ्न पाएको बताए । ‘बासको चिन्ता गर्नु पनि नपर्ने र थोरै खर्चमा पदमार्ग घुम्न सकिने रहेछ,’ उनले भने, ‘युवाहरूका लागि यो निकै आकर्षक गन्तव्य हो ।’

खासगरी विदेशीहरूको रोजाइमा पर्ने यो पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि चहलपहल बढेकोमा खुसी देखिन्छन्, स्थानीय होटल व्यवसायी दावाछिरिङ शेर्पा । कोभिड महामारीसँगै तीन वर्ष सुस्ताएको रोल्वालिङ क्षेत्र आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढेको उनको भनाइ छ । दोलखाको चरिकोटदेखि बिगु गाउँपालिका–१ छ्योछ्योतसम्म सार्वजनिक यातायातबाट सडक यात्रा गरेपछि सुरु हुन्छ, रोल्वालिङ पदमार्ग । पहिलो दिन हिँडेर सिमिगाउँ वा सुरमुचेमा बास बसेर भोलिपल्ट क्याल्चे, डोङखाङ, ठाङ्दीङमा हुँदै ‘हिमाल आरोहण गर्नेहरूको गाउँ’ को परिचय बनाएको बेदिङ पुगिन्छ ।

बेदिङपछि तेस्रो दिन च्छो–रोल्पा पुगेर घुमघाम गरी आन्तरिक पर्यटक ना गाउँमा बस्न सक्छन् । ‘विगतमा धेर थोर विदेशी पर्यटक मात्रै यो पदमार्गमा आउने गरेका थिए,’ शेर्पाले भने, ‘अहिले नेपालीहरू आउन थालेका छन्, व्यवसाय पनि फस्टाएको छ ।’ हाल वर्षमा करिब ३ हजार ५ सय आन्तरिक पर्यटक रोल्वालिङ घुम्न आउँछन् । त्यसमा पनि खासगरी युवापुस्ताको बाहुल्यता छ ।

एकजना स्वदेशी पर्यटकका लागि रोल्वालिङ पदयात्रा गर्दा १० देखि १५ हजारले पुग्छ । विदेशी पर्यटकका लागि रोल्वालिङ पदमार्गले च्छो–रोल्पा नजिकैबाट आरोहणका लागि विभिन्न हिमाल भएको ठाउँमा लैजान्छ । च्छो–रोल्पा हिमतालबाटै पदयात्रा गरेर दूधकुण्ड पुग्न सकिन्छ ।

अझ पछिल्लो समय त रोल्वालिङ पदमार्ग हुँदै सगरमाथा जाने विदेशी पदयात्रीको संख्या पनि बढेको छ । रोल्वालिङ पदमार्गमा हरेक वर्षको असोज, कात्तिक, मंसिर र चैत, वैशाख, जेठमा च्छो–रोल्पा हिमतालको जाने तथा ५ हजार ६३० मिटरको यलुङ री, ५ हजार ९२५ मिटरको रम्दुङ, ६ हजार मिटरमाथिको फर्छेम लगायतका हिमाल आरोहणका लागि विदेशी पर्यटक पुग्ने गरेका छन् । यस्तै, टासिलाप्चा पास छिचोलेर सगरमाथा पुग्ने विदेशी पर्यटक पनि बढेका छन् । पछिल्लो समय सरकारले विदेशी पर्यटकको साथमा गाइड अनिवार्य हुनुपर्ने भएपछि स्थानीयको आर्यआर्जन पनि बढ्न थालेको छ । जसका कारण बेदिङका अधिकांश युवाले विदशी पर्यटकका लागि गाइडको काम पनि पाएका छन् ।

गौरीशंकर संरक्षण क्षेत्रको तथ्यांकअनुसार सिजनको सुरुमै रोल्वालिङ पदयात्रामा ३ सय २७ जना विदेशी पदयात्री पुगिसकेका छन् । तीमध्ये सार्क मुलुकका २८ जना छन् । राजधानीबाट सिधै आएका पदयात्रीको तथ्यांक नभएकाले रोल्वालिङ क्षेत्र पुग्ने विदेशी पदयात्रीको संख्या बढी हुने संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताए । अब भने आन्तरिक पर्यटकको पनि तथ्यांक राख्न थालेको उनले बताए । गत वर्ष यो सिजनमा ५६ देशका १ हजार १४४ विदशी पर्यटकले गौरीशंकर संरक्षण क्षेत्र घुमेका थिए ।

प्रकाशित : जेष्ठ १८, २०८० ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?