दक्षिण एसियामा ‘धोनीमेनिया’

चेन्नाई पाँचौंपल्ट आईपीएल च्याम्पियन भएसँगै समाचार आएको थियो, सम्भवतः धोनीको अन्तिम खेल भनेर । तर केही क्षणमा अर्को समाचार आयो, धोनीले संन्यास लिने छैनन् । अनि उनले भनेका छन्, ‘समर्थकको अपार समर्थन र मायादेखेपछि फेरि आईपीएलको एक अर्को संस्करण खेल्ने निर्णय गरें ।’ 
हिमेश

काठमाडौँ — क्रिकेटलाई लिएर अधिकांशले जे सोच्छन्, महेन्द्रसिंह धोनीको विचार त्यसभन्दा फरक हुन्छ । ठ्याक्कै विपरीत, भन्दा पनि हुन्छ । चेन्नाइ सुपर किंग्सले सोमबार मध्यरात गुजरात टाइटन्सलाई पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) जितेपछि धेरैलाई लागेको थियो, धोनीले अब सबै प्रकारको क्रिकेटबाट संन्यास लिनेछन् ।

दक्षिण एसियामा ‘धोनीमेनिया’

कथाले मागेको पनि यस्तै थियो । चेन्नाईलाई एक अर्को उपाधि दिलाएर उनले संन्यास घोषणा गरेको भए, कथाको सिलसिला कति धेरै मिल्थ्यो ।

धोनी चाँडै ४२ वर्षका हुनेछन् । घुँडाको चोटले उनलाई लगातार दुःख दिइरहेकै छ । अनि फाइनल अगाडि उनले भनेका पनि थिए, ‘अहिले तत्काल संन्यासबारे त सोच्दिनँ, तर केही महिनाको आरामपछि केही निर्णय गर्नेछु ।’ आईपीएलको अर्को संस्करण सुरु हुन अगाडि एउटा सानो छोटो खेलाडी लिलामी हुँदै छ । त्यसलाई कुरेर धोनीले केही न केही घोषणा गर्ने निर्णय गरेका थिए । चेन्नाई कीर्तिमान पाँचौंपल्ट च्याम्पियन भएपछि समाचार पनि यस्तै आएको थियो, सम्भवतः धोनीको अन्तिम खेल भनेर ।

तर केही क्षणमा अर्को समाचार आयो, धोनीले संन्यास लिने छैनन्, बरू अबको एक सिजन थप खेल्नेछन् । भनेपछि अबको एक संस्करण पनि धोनीले खेल्नेछन् । अनि यस पछाडि धोनीले दिएको कारण पनि फरक छ । उनले भनेका छन्, ‘आफ्नो समर्थकको अपार समर्थन र माया देखेपछि मैले फेरि एक अर्को संस्करणको आईपीएल खेल्ने निर्णय गरें ।’ त्यसको अर्थ कम्तीमा एक वर्षका लागि धोनीको संन्यासको सम्भावना टरेको छ र फेरि अर्को वर्ष उनी चेन्नाईको पहेँलो जर्सीमा देखा पर्नेछन् ।

चेन्नाई सहरका केही खास खास विशेषता छन् । त्यसमध्ये तमिलनाडुको यो सबैभन्दा ठूलो र मुख्य सहर खास खासमा ठूला राजनीतिज्ञ र सिनेकर्मीको हो । चेन्नाईवालाहरू यिनै राजनीतिज्ञ र सिनेमाका नायक नायिकालाई भगवान्जस्तै मान्ने गर्छन् । साँच्चै मूर्ति स्थापना गरेर पूजासम्म पनि गर्छन् । अहिले यस्तै ख्याति एक खेलाडीले पनि पाएका छन् र ती हुन्, यिनै धोनी । धोनीको प्रतिष्ठा पनि चेन्नाईमा तिनै राजनीतिज्ञ र सिनेकर्मीजस्तै भएको छ ।

तमिल भाषामा एउटा शब्द छ, ‘थला’ । त्यसको अर्थ हुन्छ, नेता । अथवा मुखिया । अझ भनौं, सबैका प्रिय मुख्य मान्छे । नायक रजनीकान्तलाई चेन्नाइवालाहरू मायाले ‘थला’ भन्ने गर्छन् । यस्तै अर्को नायक अजित कुमारलाई पनि सम्मानले ‘थला’ नै भन्ने गरिन्छ । अब यस्तै गरे धोनीलाई पनि तमिलनाडुमै ‘थला’ भन्न थालिएको छ । संयोग कस्तो भने न त रजनीकान्त, न त अजित, न धोनी नै चेन्नाईमा जन्मेका हुन्, तर उनीहरू तीनै सबै प्रिय छन् ।

एक प्रकारले यो ‘थला’ शब्दले नयाँ अवतार नै पाएको भन्दा हुन्छ । कम्तीमा तमिल मिडियाले त यस्तै लेखिरहेको छ । चेन्नाईमा कोही खेलाडीको यति धेरैको प्रिय भएको पहिलो पल्ट हो । धोनी आफैं पनि आफूलाई ‘थला’ भन्न थालिएकोमा गर्व गर्छन् । सायद यसपल्ट उनी आफैं केही भावनामा बगे र यही क्रममा अर्को वर्ष पनि खेल्ने निर्णयमा पुगे । अथवा हुन सक्छ, उनलाई समर्थकबाट संन्यास लिनु हुन्न भने माग थियो । जे होस्, मुख्य कुरा धोनीले अर्को वर्ष पनि खेल्नेछन् ।

यसपल्टको आईपीएल २०२३ को सार भन्नु नै एक प्रकारले धोनीको नयाँ अवतार र चेन्नाईले पाँचौं पल्ट उपाधि जित्नु नै रह्यो । अझ भन्नेहरूले केसम्म पनि भन्न थालेका छन् भने विश्व क्रिकेटका सबैभन्दा धनी प्रतियोगिताको अनुहार भन्नु नै धोनी हो । सन् २००८ देखि विश्वकै सबैभन्दा धनी प्रतियोगिताका रूपमा आईपीएल सुरु भएको थियो । त्यसको पहिलो संस्करणदेखि धोनीले लगातार खेलिरहेका छन् । पहिलो सिजन धोनी सबैभन्दा महँगा खेलाडी पनि थिए ।

त्यसको १५ वर्षपछि पनि धोनी उत्तिकै महँगा मात्र छैनन्, त्योभन्दा पनि बढी मूल्य भएका खेलाडी भएका छन् । यसपल्ट धोनीले जहाँ जहाँ गएर खेले, त्यहाँ त्यहाँ सबैको मुखमा खाली धोनी मात्र झुन्डिरह्यो । चेन्नाई टिमको समर्थक नरहेकाले पनि धोनीको सम्मानमा पहेँलो जर्सी लगाएर विभिन्न सहरको क्रिकेट मैदानमा देखा परे । विशेषतः चेन्नाईको रंगशालामा जति बेला उनी ब्याटिङका लागि मैदानमा प्रवेश गर्थे, पूरा रंगशाला गुन्जयमान हुन्थ्यो ।

अनि धोनी सस्तोमा आउट मात्र हुनुपर्थ्यो, लाख–लाख मान्छेले भरिएको रंगशाला पनि चुपचाप हुन्थ्यो । त्यही बेला त हो, ‘पिन ड्रप साइलेन्स’ कस्तो हुन्छ भनेर थाहा हुने । चार वर्ष अगाडि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । त्यो भनेको भारतका लागि खेल्न छाडेका थिए । भारतकै लागि खेल्दा पनि उनी सबैभन्दा सफल कप्तान थिए । उनलाई ‘क्याप्टेन कुल’ भनिन्थ्यो र उनको नेतृत्वमा भारतले वान डे र ट्वान्टी ट्वान्टी दुवैको विश्वकप जित्यो ।

विश्व क्रिकेटले देखेका सबैभन्दा भन्दा अब्बल कप्तानमा उनको पनि नाम आउँछ । उनी गज्जबको रणनीतिकार हुन् । उनको निर्णय प्रायः आम सोचभन्दा फरक नै हुने गर्छ । उनको पूरा खेल जीवनलाई हेर्ने हो भने यस्तै अपत्यारिला निर्णयले भरिएका छन् । यता आईपीएलमै पनि उनी गज्जबको मौलिक कप्तान रहे, जसले नयाँ तथा युवा खेलाडीलाई अगाडि बढ्न मदत गरे । अहिलेको भारतीय टिमका जति पनि खेलाडी छन्, तिनलाई कुनै न कुनै मोडमा धोनीले सहयोग गरेकै इतिहास छ ।

अहिलेका अधिकांश खेलाडी उनलाई ‘धोनी भाइ’ भनेर सम्मान गर्ने गर्छन् । फेरि ब्याटबाट धोनीको यसपल्टको प्रदर्शन पनि फरक रह्यो । उनी आठौं क्रममा ब्याटिङका लागि ओर्ले र केही बलको मात्र सामना गरे । यसबीच उनले छक्का प्रहार गर्न भने बिर्सेनन् । यसको कारण थियो, घुँडाको चोट । उनी यसअघिजस्ता दौडेर रन लिन सक्ने खेलाडी रहेनन् । अब यो पनि भनिरहनु पर्दैन्, धोनीले यसपल्टको आईपीएलका लागि भनेर बनाएको चेन्नाई टिम गज्जबको छ ।

त्यसैले त चेन्नाइले फेरि एकपल्ट उपाधि जित्यो । तय छ, धोनीले खेल्न जारी राख्ने समाचारले चेन्नाईका समर्थकमा अपार खुसियाली छाएको छ । तय के पनि छ भने अहिले लहर छ, ‘धोनीमेनिया’ को । फाइनलमा पराजित भएपछि गुजरातका कप्तान हार्दिक पान्ड्याले पनि ठिकै भने । उनको भनाइ थियो, ‘यदि मलाई हार्नु नै छ भने धोनीविरुद्ध हार्दा कुनै गुनासो रहने छैन् ।’ यत्तिको सम्मान कोही कसैले प्रतिद्वन्द्वी कप्तानबाट कहाँ पाउला र ?

प्रकाशित : जेष्ठ १७, २०८० ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्