३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

समस्यासँग जुध्न युवा सञ्जाल

लुम्बिनी प्रदेशस्तरीय युवा सञ्जाल स्वावलम्बन, सामाजिक कुरीति अन्त्य तथा स्वस्थ समाज निर्माणका लागि क्रियाशील छ । १३ हजार किशोरकिशोरी आबद्ध सञ्जालले सरकारी निकायको ध्यानाकर्षण गराउने र विभिन्न निर्णय कार्यान्वयनका लागि दबाब दिँदै आएको छ । 
सन्जु पौडेल

लुम्बिनी — सामाजिक परम्परा भत्काएर अगुवा बन्न सहज छैन । वर्षौंदेखि चलिआएका संस्कार तोडेर समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन चुनौती छ । त्यसमाथि एक्लै केही गर्न सक्ने अवस्था अझै छैन ।

समस्यासँग जुध्न युवा सञ्जाल

पश्चिम नवलपरासीको रामग्राम–१६ की साइदा निशा पठानले समाज परिवर्तनको अठोट लिएकी छन् । त्यो पनि मुस्लिम समुदायबाट अगुवा बनेर । स्नातकसम्म अध्ययन गरेकी २८ वर्षीया उनी अहिले सामाजिक कार्यकर्ताका रूपमा परिचित छन् । ‘अहिले मलाई एकछिन पनि फुर्सद हुँदैन,’ उनले भनिन्, ‘बिहान उठेदेखि साँझसम्म व्यस्त हुन्छु ।’ उनलाई खुलेर सामाजिक गतिविधिमा संलग्न हुन सहज थिएन । त्यसका लागि सामाजिक ‘विद्रोह’ नै गर्नु परेको उनी सुनाउँछिन् । ‘सुरुवातमा गाउँमा गठन भएको संवाद समूहमा सदस्य बनें,’ उनले भनिन्, ‘त्यसपछि वडास्तरमा किशोर किशोरीको सञ्जाल बनायौं ।’ सञ्जालमा गाउँका किशोरकिशोरी र युवा आबद्ध भए । त्यसले आफ्ना गतिविधि सञ्चालन गर्न सघाएको उनले बताइन् । ‘समूह बनेपछि समाजका समस्याबारे छलफल गर्न थाल्यौं,’ उनले भनिन्, ‘छलफलबाटै समाधानका उपाय पहिल्यायौं ।’

अहिले गाउँका समस्या र चुनौती हल गर्न भूमिका खेलिरहेको साइदाले सुनाइन् । ‘कतिपय हाम्रा परम्परा नै बदल्नुपर्ने छन्,’ उनले भनिन्, ‘त्यस्ता अप्ठ्यारा बुझाएर समाधानका लागि सम्झाउने गरेका छौं ।’ स्थानीयको चित्त बुझाएर परिवर्तनका लागि राजी तुल्याउने गरेको उनले बताइन् । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्न सजिलो थिएन । उनको समुदायमा घरको दैलो काटेर हिँड्न, समाजमा सबैसँग निर्धक्क बोल्न सजिलो थिएन । ‘आफू आबद्ध संस्थाबारे चिनाउन र किशोरकिशोरी जम्मा पार्नै समस्या भयो,’ उनले भनिन्, ‘गाउँमा बिजुली बाल्न विद्युत् कार्यालयमा धर्ना, ज्ञापनपत्र बुझाउने र प्रशासनिक व्यक्ति, जनप्रतिनिधिलाई दबाब दिने काम मैले गरें ।’

सुरुमा गाउँबाट बिजुलीका तार तानेर छिमेकी गाउँमा बत्ती बालिएको थियो । त्यो देखेर आफूलाई अन्याय महसुस भएको उनले बताइन् । ‘त्यसपछि धर्ना दिएरै भए पनि गाउँमा बिजुली बालियो,’ उनले भनिन्, ‘त्यसपछि मात्र गाउँलेले सामाजिक परिवर्तनका लागि युवा चाहिन्छ भन्ने बुझे ।’ त्यसपछि सामाजिक रूपमा समर्थन मिलेको उनले बताइन् । उनले गठन गरेको सन्जालले बालविवाह रोक्न धेरै पटक प्रहरी प्रशासन, गाउँका अग्रजसँग बहस गरेको छ । ‘लडेरै भए पनि बालविवाह रोकेका छौं,’ उनले भनिन्, ‘त्यो कार्य देखेर मलाई गाउँलेले अगुवा मानेका छन् ।’

रूपन्देहीको कञ्चन–२ की १८ वर्षीया गंगा सुनारलाई गाउँलेले अहिले ‘उदाहरणीय छोरी’ को उपमा दिएका छन् । डेढ वर्षदेखि उनी गाउँमा गठन भएको ‘गजेडी साथी’ सञ्जाल सदस्यका रूपमा काम गरिरहेकी छन् । ‘सुरुमा संवाद समूहका दिदिहरूले हाम्रा समस्या पहिचान गर्न सिकाउनुभयो,’ उनले भनिन्, ‘त्यसबाट सिकेर अहिले म किशोरीले भोग्नुपरेका समस्या पत्ता लगाएर उनीहरूको अधिकारका लागि लडिरहेकी छु ।’ सञ्जालमा आबद्ध भएपछि नेतृत्व विकासको अवसर मिलेको उनले बताइन् । ‘अहिले त ठूला पदमा बसेका व्यक्तिसित पनि महिलाका समस्याबारे बहस गर्न सक्ने भएँ,’ उनले भनिन्, ‘जसरी हुन्छ समस्या समाधान गरिछाड्छौं ।’

अहिले गाउँमा बिदाका दिन बैठक डाक्ने, समस्याका विषयमा छलफल गर्ने, बालबालिकालाई नैतिक शिक्षा दिने काम आएको गरेको उनले बताइन् । सुरुमा सामाजिक काम गर्न सहज थिएन । घरबाट राति अन्त जानु पर्दैन भन्थे । ‘सञ्जाल र त्यसको कामबारे परिवारलाई बुझाउन नसक्दा परिवारका समस्या भोग्नुपर्‍यो,’ उनले भनिन्, ‘समस्या खेप्नुपरे पनि अगाडि बढ्न छाडेन ।’ अहिले आफ्ना हकअधिकारका विषयमा आवाज उठाउन सक्ने र आत्मनिर्भर बनेपछि परिवारको अवरोध हटेको उनले बताइन् । गाउँपालिकाभित्रका हरेक वडामा सञ्जाल विस्तार गरेर सामाजिक रूपान्तरण तथा किशोरकिशोरीको हकहितका निम्ति आफू खटिरहेको उनले बताइन् ।

लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा किशोरकिशोरी सञ्जाल गठन अभियानकै रूपमा अघि बढाइएको छ । यसले उनीहरू आफ्नो अधिकारप्रति सचेत बनेका छन् । लागूऔषध, बालविवाहविरुद्ध अभियान सञ्चालन गरिरहेका छन् । गाउँमा सरकारी स्तरबाट हुने सेवाको ढिलासुस्ती र विभेदविरुद्ध क्रियाशील छन् । कपिलवस्तुको शिवराज–१ का २१ वर्षीय सागर थारू यस्तै अभियानमा संलग्न युवा हुन् । पढ्दै सामाजिक काम गर्दै अगाडि बढिरहेको उनले बताए । अहिले उनी पालिकास्तरीय आशा सञ्जालका सचिव छन् । साथीभाइले ‘नेता’ को संज्ञा दिएका छन् । त्यसले असहज लाग्ने गरेको उनले बताए । ‘समस्याबारे छलफल गर्ने काम तिम्रो होइन भन्ने साथीहरू पनि छन्,’ उनले भने, ‘केटाहरू त डुल्ने, बाहिरी काममा चासो दिने पो हो भन्छन् ।’

त्यस्ता साथीहरूलाई नेतृत्व विकास र क्षमता अभिवृद्धिबारे सम्झाउने गरेको उनले बताए । समाजमा फरक काम गरिरहेकाले यसैलाई चिनारी बनाउन खोजेको उनले बताए । ‘दुर्व्यसन न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘गाउँगाउँमा दुर्व्यसन मुख्य समस्या बनिरहेको छ ।’ शिवराज नगरभित्र सञ्जालमा आबद्ध १ हजार ५ सय किशोरकिशोरी रहेको उनले बताए । उनीहरूको नेतृत्व गर्न पाउँदा खुसी लागेको उनले बताए । उनका अनुसार यसरी संगठित किशोरकिशोरीले हस्तकला, खानेकुराका विभिन्न परिकार आदि बनाई बिक्रीसमेत गर्ने र आफूहरूका लागि चिया खाजा खर्च जोहो गर्ने गरेका छन् ।

सागरकै छिमेकी गुन्जा थारूको उद्घोषण कला प्रशंसनीय छ । अहिले लुम्बिनी प्रदेश स्तरीय किशोरकिशोरी तथा युवा सञ्जालकी उपाध्यक्ष छन् । चार वर्षदेखि सञ्जालमा आबद्ध भएर कार्यक्रम उद्घोषकको जिम्मा सम्हालिरहेकी छन् । आफ्नो गतिशीलता रोक्न/छेक्न खोज्नेलाई बोलेरै तह लगाउने गरेको उनले बताइन् । ‘घरबाट निस्कन मिले पनि मानिसले कुरा काटेर अगाडि बढ्नबाट रोक्छन्,’ उनले भनिन्, ‘किशोरीको शरीरमाथि उसकै अधिकार हुन्छ भन्ने मान्यता स्थापित गर्न लागिपरेकी छु ।’ सुरुसुरुमा परिवारका सदस्यलाई नै घरदेखि

हिँड्दा, अन्य जिल्ला जाँदा वा छलफलबाट राति घर फर्कंदा सम्झाउन गाह्रो परेको उनले सुनाइन् । ‘अहिले आफूले गरेका काम परिवारका सदस्यलाई बताउँदा राम्रो साथ पाइरहेकी छु,’ उनले भनिन् । अध्ययनसँगै अभियानलाई अगाडि बढाइरहेको उनले बताइन् । परिवारका बाँकी सदस्यले नेपाली नागरिकता प्राप्त गरिसके । तर, पश्चिम नवलपरासीको सुस्ता–४ का २० वर्षीय आशिषकुमार गुप्ता नागरिकताविहीन छन् । नागरिकता टोली गाउँमा आउँदा पालिकाले गर्ने सिफारिसमा त्रुटि भएपछि उनी अधिकारविहीन बनेका हुन् ।

‘मेरो कान्छो भाइले नागरिकता पायो,’ आशिषले भने, ‘बुबाआमाको नागरिकता छ, मेरो मात्रै छैन ।’ नागरिकता नहुँदा सरकारी कामकाज र सेवा सुविधाबाट वञ्चित भइरहेको उनले दुखेसो पोखे । ‘मैले मात्र होइन, गाउँका धेरै युवाले नागरिकता पाएका छैनन्,’ उनले भने, ‘अहिले समूह बनाएर नागरिकताका लागि आवाज उठाइरहेको छु ।’ कक्षा ५ मा पढ्दै गर्दा उनी संवाद सञ्जालमा आबद्ध भएका थिए । अहिले उनी सुस्तास्थित किशोरकिशोरी सञ्जालको अध्यक्ष छन् । १२ कक्षा पूरा गरेका छन् । ‘निरन्तर नागरिकताको अधिकार तथा बालविवाह अन्त्यका लागि आवाज उठाइरहेको छु,’ उनले भने, ‘सञ्जाल दर्ता गराउन, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउनसमेत नागरिकता चाहिने भएकाले आफ्नो सबै अधिकार खोसिएको महसुस गरेको छु ।’ नागरिकताका लागि प्रशासनमा धर्ना, पालिकामा छलफल सबै गरेर थाकिसकेको उनले बताए । ‘पुनः टोली आउने दिन कुर्नुबाहेक उपाय छैन,’ उनले भने, ‘त्यतिन्जेल युवा के गरेर बस्ने ?’ अभियानकै रूपमा लागूऔषध सहजै ल्याउन सकिने खुला सिमाना रहेको सुस्तालाई यसबाट जोगाउनसमेत पहल गरिरहेको उनले बताए ।

यी उदाहरणीय पात्रबाहेक अन्य धेरै किशोरकिशोरीले लुम्बिनी प्रदेशभरि नै स्वावलम्बन, सामाजिक कुरीति अन्त्य तथा स्वस्थ समाज निर्माणमा आफ्नो भूमिका खेलिरहेका छन् । उनीहरू विभिन्न समयमा एकै ठाउँ जम्मा भएर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, झक्झकाउने तथा कार्यान्वयनका लागि दबाब दिने गरेका छन् । लुम्बिनीको रूपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, रोल्पा र प्यूठानमा गरी सञ्जालमा १३ हजार ४ सय किशोरकिशोरी आबद्ध छन् ।

प्रकाशित : जेष्ठ १८, २०८० ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?