पूर्वऊर्जामन्त्री रायमाझी भन्छन् : कहाँबाट पुर्जी काट्नी ? जानकारी छैन 

वैशाख २०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा नभएको बताएका छन् । पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझीले बुधबार अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गैरभुटानीलाई अमेरिका लैजाने घटना आफूलाई थाहा नभएको र संलग्नसमेत नभएको बताए । 

बुधबार नै काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । उक्त पक्राउ पुर्जीबारे आफूलाई थाहा नभएको उल्लेख गर्दै रायमाझीले भने, 'भुटानी शरणार्थीका नाममा गैरभुटानीलाई अमेरिका लैजाने कुरामा मेरो संलग्नता छैन । भुटानी शरणार्थीको समस्या दीर्घकानील समाधान गर्ने कुरामा हिजो पनि थियौँ, आज पनि छौँ र भोलि पनि हुनेछौँ ।'

आफू सरकारमा हुँदा भुटानी शरणार्थीलाई यहीँ रोजगारी दिने, भुटान नै लैजान कूटनीतिक पहल गर्ने र त्यो पनि सम्भव नभए तेस्रो मुलुकमा पुन:स्थापना गर्नका लागि पहल गरिने कुरा भएको पनि उनले बताए । पक्राउ पुर्जीका बारेमा सोध्दा उनले भने, 'कहाँबाट पुर्जी काट्नी ? जानकारी छैन ।' 

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो। पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।

बुधबार रायमाझीले दुलाल र भण्डारीसँग पहिले नै चिनजान भए पनि अरु ३ जनालाई भने नचिनेको दोहोर्‍याएका छन् । त्यस्तै उनले छोरा सन्दीपका नाममा चेक काटिएको भनिए पनि उनले गिरोहका कसैलाई पनि नचिनेको दाबी गरे । त्यस्तै बुधबार नै आफू काठमाडौं फर्किने र यसबारेमा थप कुरा बताउने रायमाझीको भनाइ छ । 

सम्बन्धित समाचार

नक्कली शरणार्थी प्रकरण

कान्तिपुर

Link copied successfully