काठमाडौँ — नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको जोडिएर पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि तीन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
काठमाडौं प्रहरी परिसरले उनलाई बुधबार दिउँसो पक्राउ गरेको थियो । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए । भक्तपुर आसपासको जंगलमा आफू रहेको प्रहरीले सुइँको पाएको थाहा भएपछि उनी त्यहाँबाट हिँडेका थिए । त्यही क्रममा पाण्डे जडिबुटीबाट पक्राउ परेका थिए । उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए ।
उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । उच्च स्रोतका अनुसार गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका छन् ।
हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलको बयानका आधारमा इन्द्रजितलाई पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । गिरोहका नाइकेहरू विरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ।
इन्द्रजित राईका छोरा नीरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी भने नेपालबाहिर गएको आशंका छ । गिरोहका नाइकेको बयानअनुसार राईका बाबुछोराले २०७६ असारदेखि चैतसम्म साढे ५ करोड लिएका थिए ।
