पोखरा — पोखरा हेम्जा हुँदै पुगिन्छ, सुन्दर पर्यटकीय क्षेत्र धम्पुस । अन्नपूर्ण पदयात्राको प्रवेशद्वार मानिने यो क्षेत्र हिजोआज सुनसान छ । होटल व्यवसायी असिम गुरुङ निराश छन् । नयाँ वर्षमा होटल भरिभराउ हुने आशा यस वर्ष पनि पूरा भएन ।
पर्यटकको आगमन कम हुन थालेपछि व्यवसाय धराशायी हुने चिन्तामा छन् उनी । बैंकको ब्याज र ऋणको परको कुरा हो, धम्पुसको भविष्य के हुने हो भनेर उनी चिन्तित छन् । १२ वर्षदेखि धम्पुसमा होटल सञ्चाल गर्दै आएका गुरुङ धम्पुसमा पर्यटन आगमन धेरै न्यून हुने कल्पना गरेका थिएनन् । ‘सिजनमा हाम्रोमा होटल अकुपेन्सी ८० प्रतिशतसम्म हुन्थ्यो,’ उनले भने, ‘अचेल त्यो छैन ।’
माछापुच्छ्रे गाउँपालिका ७ मा अवस्थित धम्पुस पोखराको नजिकैको पर्यटकीय स्थल हो । कोरोना महामारीपछि धम्पुसको पर्यटन व्यवसाय तंग्रिने आशामा रहेका व्यवसायी विमान दुर्घटनाले अर्को समस्या थपिदिएको धम्पुस पर्यटन व्यवसायी संघका सचिव राजु भण्डारी बताउँछन् । उनी भन्छन्, ‘कोरोनापछि व्यवसाय राम्रो चल्छ भन्ने आस थियो । जहाज दुर्घटनापछि त झन् पर्यटक आउनै छाडे ।’ पर्यापर्यटनका लागि आउने विदेशी पर्यटक आम्दानीको प्रमुख स्रोत रहेको उनले बताए । स्वेदशी पर्यटकहरू पनि सडक सञ्जालका कारण आउनै छाडेको उनले बताए ।
मुग्लिङ–पोखरा सडक स्तरोन्नति हुँदा स्वदेशी पर्यटकको आगमन कम भएको उनले बताए । पोखरा–बागलुङ सडकखण्ड हुँदै घट्टेखोलादेखि माथि कच्ची सडक हुँदै धम्पुस पुगिन्छ । देशका विभिन्न जिल्लाबाट धुम्पस बस्नैका लागि टुर प्याकेज गरेर विद्यार्थीहरू आउने गर्थे । स्वदेशी पर्यटक पहिलो दिन पोखरा नबसी धम्पुसमै बस्न रुचाउनेहरू पनि छन् । ‘हाम्रोमा सडक पनि राम्रोसँग बनेको छैन । पदमार्ग रुचाउने पर्यटकहरू अन्यत्र जान थालेका छन्,’ भण्डारीले भने ।
धम्पुस क्षेत्रमा ठूलासाना गरेर ३६ वटा होटल सञ्चालनमा छन् । तिनमा ५ सय जना पर्यटक बस्न मिल्ने गुरुङले बताए । पहाड र पखेरामा जथाभावी खुलेका होटलले व्यवसाय जोखिम बनाउनुका साथै अस्वस्थ प्रतिस्पर्धा बढाएको उनले बताए । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार मानिने धम्पुसको व्यवसाय अन्य क्षेत्रमा खुलेका ट्रेलका कारण खस्किएको गुरुङको गुनासो छ ।
धम्पुसबाट माछापुच्छ्रे हिमाल प्रस्ट रूपमा देखिन्छ । यहाँबाट देखिने हिमाली दृश्य हेर्न भनेर पदयात्रीहरू एक दिन यहाँ बास बस्थे । जथाभावी रूपमा खुलेका होटल र ससाना ट्रेलले अस्वस्थ प्रतिस्पर्धा बढाएको धम्पुसका पुराना पर्यटन व्यवसायी दलबहादुर गुरुङ बताउँछन् । उनी भन्छन्, ‘यहाँ पहिलापहिला सूर्यादय र हिमशृंखला हेर्नकै लागि भनेर पर्यटकहरू बस्थे । अचेल मर्दी ट्रेल जानका लागि जथाभावी पदमार्ग खोल्ने क्रम बढेको छ । हाम्रो व्यसाय चौपट हुने अवस्थामा छ ।’
चन्द्राकुमारी गुरुङको पनि समस्या अरूको जस्तै छ । उनले पनि लाखौं लगानी गरेर व्यवसाय सञ्चालन गरेकी छन् । तर पर्यटक आगमन ठप्प भएपछि व्यवसाय चौपट छ । पर्यटकलाई आकर्षित गर्नका लागि संरचना पनि निर्माण गरिएको छ । धम्पुस पोखरीको संरक्षण पनि गरिएको छ । अझ टावरसमेत निर्माण गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा स्थानीय स्तरमा पानी पोखरीसहित लाखौं लगानी गरेर धम्पुस टावर निर्माण गरिएको थियो । पर्यटनक आगमन नभएपछि सुनसान जस्तो छ । होटल व्यवसायहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा धेरै व्यवसायी डुब्ने खतरामा रहेको चन्द्राकुमारीले बताइन् ।
संरक्षण क्षेत्रभित्र जथाभावी होटलहरू निर्माण गरिएको भन्दै ल्वाङघलेलका ओमप्रसाद गुरुङले माछापुच्छ्रे गाउँपालिका, एक्याप कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए । उनले जथाभावी रूख काटेर जमिन अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाउन माग गरेका थिए । उच्च अदालत पोखराले अवैध संरचना हटाउन आदेश दिए पनि नहटाइएको ओमप्रसादको भनाइ छ ।
अन्नपूर्ण पदमार्ग क्षेत्रमा जग्गा अतिक्रमण गरेर स्थानीय तहका जनप्रतिनिधिको आडमा होटलहरू धमाधाम खुलेको उनको दाबी छ । ‘हामीले हेर्दा मात्रै करिब ६०/७० वटा होटल सार्वजनिक जग्गा अक्रिमण गरेर बनाइएका छन् । अदालतले हटाउन आदेश दिए पनि पालना भएको छैन,’ व्यवसायी असिम गुरुङले भने ।
