टंकको बलिउड यात्रा

बलिउड निर्देशक सन्दीप रेड्डी भांगाको ‘एनिमल’ मा रणवीर कपुर, बबी देओल, अनिल कपुरलगायतका चर्चित कलाकारसँगै काम गर्न पाएका टंकले जाइघम इमामको ‘सुपर वुमन’ मा पनि अभिनय गरेका छन्

वैशाख १२, २०८०

नवीन पोखरेल

लन्डन — बलिउड निर्देशक सन्दीप रेड्डी भांगाले ग्याङसटर ड्रामा ‘एनिमल’ को छायांकनका लागि बेलायतमा कलाकार खोजी गरिरहेका थिए । भारतमा हुने छायांकन सकाएका ‘कविर सिंह’ निर्देशक बेलायती राजधानी लन्डनको भाग छायांकनको तयारीमा जुटिरहेका थिए ।

संयोग नै हुनुपर्छ– एक भारतीय एजेन्सीले टंक धमला (लियो) लाई भन्यो, ‘सन्दीपले लन्डनमा केही कलाकार खोजिरहेका छन् । बायोडाटा र केही तस्बिरहरू पठाइदेऊ, छानिने चान्स छ ।’ 

टंकले एजेन्सीमार्फत पठाएका केही तस्बिर र बायोडाटा हेरेपछि निर्देशक सन्दीपले उनलाई भेट्न बोलाइहाले । आफू बसिरहेको लन्डन प्याडिङटनस्थित एक होटलमा पुगे टंक । ‘मलाई हिन्दी र अंग्रेजीमा केही बोल्न लगाए । अनि, अभिनय गर्न भने,’ टंकले उक्त क्षण सम्झिए । आफूले भनेअनुसार गरेर मन जितेका टंकलाई सन्दीपले तत्कालै प्रशंसा गर्दै भने, ‘वेल डन । अंग्रेजी र हिन्दी दुवै भाषा राम्रो बोल्ने रहेछौ ।’ 

त्यसपछि सन्दीपले सहायक निर्देशक प्रतीकसँग टंकको चिनजान गराइदिए । प्रतीकले टंकको सम्पर्क नम्बर मागेर यसअघि खेलेका फिल्म वा म्युजिक भिडियो भए पठाइदिन भनेपछि टंकले पठाइदिए । त्यसको केही दिनमै उनलाई खबर आयो, ‘तिमी आउनु ।’ 

बलिउड अभिनेता रणवीर कपुर, बबी देओल, अनिल कपुर, तृप्ति डिम्री, रश्मिका मन्दना आदि कलाकार अभीनित ‘एनिमल’ मा छानिएपछि टंकको खुसीले सीमा नाघ्यो ।

लन्डनमा पेसाले चार्टर्ड अकाउन्टेन्ट टंकले यसअघि नेपाली तथा ब्रिटिस फिल्ममा काम गरिसकेका थिए । विभिन्न हिन्दी र नेपाली म्युजिक भिडियोमा पनि । तर, बलिउडको ठूलो ब्यानर अनि नाम चलेका कलाकारसँग जोडिएपछि भने उत्साहित नहुने कुरै भएन ।

‘एनिमल’ मा टंकको भाग गिल्फोर्ड एयरपोर्ट, हर्टफोर्डसायरस्थित ब्रोकेट हललगायत हेरिटेज साइटमा १३ दिन लगाएर छायांकन भयो । फिल्ममा बबी देओलका भाइको भूमिकामा देखिनेछन् टंक । यसअघि थुप्रै प्रोजेक्ट गरिसकेकाले क्यामेरा फेस गर्न कुनै संकोच नलागेको बताउँछन् उनी । ‘बलिउड टिमसँग काम गर्दा व्यावसायिक कुरा धेरै सिकें र आत्मविश्वास पनि बढ्यो,’ उनले कान्तिपुरसँग भने, ‘मलाई बलिउडको प्रोजेक्टले यस क्षेत्रमा थप प्रेरित गरेको छ । अवसर पाए नसकिने केही हुँदो रहेनछ भन्ने लाग्यो ।’

अप्रिल १ देखि १६ सम्म ‘इन्गेज’ भएर उनले नेपाली रुपैयाँ दस लाखजति पारिश्रमिक पनि पाए । रणवीर, बबी देओललगायत ‘क्रु’ सदस्यहरूसँग नजिकिन पाए । अनि उनीहरूसँगको उठबसले धेरै कुरा सिक्ने अवसर पनि । ‘एनिमल’ अगस्ट दोस्रो साता रिलिज गर्ने निर्माण टिमको योजना छ । ‘एनिमल’ मा खेलेलगत्तै टंकले लङ्फोर्ड एसोसिएट्स नामक एजेन्सीसँग सम्झौता गरेका छन्, जसले मिडिया र मनोरन्जनका क्षेत्रमा तीन दशक बढी समयदेखि काम गरिरहेको छ । ‘यो सम्झौताले मेरो करिअर अझ द्रुतगतिमा बढ्ने आशा छ,’ उनले भने । 

कैलालीको लम्कीका टंक सानैदेखि कलाकारितामा रुचि राख्थे । स्कुलतिर नाटक गर्थे, पढाइभन्दा रंगीन क्षेत्र नै रमाइलो लाग्थ्यो । बेलायत आउनुअघि रेडियो नेपालमा काम गर्थे उनी । १३ वर्षअघि बेलायत पढ्न आएका उनी करिब ८ वर्षअघिदेखि हो, कलाकारितामा होमिएको । 

लन्डनको किङ्डम स्कुल अफ आर्ट्समा एक वर्ष प्रशिक्षण र भारतको यात्री थिएटर ग्रुपसँग ६ महिना ड्रामा सिकेका टंकले अहिले नृत्यसमेत सिक्दै छन् । ‘अभिनय खासमा मानिसको अन्तरमनदेखि आउने विशेष कला हो जस्तो लाग्छ । सिकेर मात्रै पनि हुँदैन,’ आफ्नो सिकाइ र अनुभवबारे उनी भन्छन् । 

कलाकारितामा भने आफूलाई खासै संघर्ष गर्नु नपरेको उनको भनाइ छ । सेन्ट्रल लन्डनको प्रख्यात ‘सोफेर प्लस कम्पनी’ मा अकाउन्ट्स एन्ड ट्याक्स म्यानेजर हुन् उनी । उनले जागिरको व्यस्तताबीच अभिनयलाई समय छुटयाएका हुन् । ‘मेरो होलिडे नै फिल्म सुटिङमा सकिन्छ । जागिर, घरपरिवार अनि आफ्नो सोखको काम गर्दा सधैं दौडधुपमै बित्छ, बेलायती जिन्दगी,’ आफ्नो व्यस्तताबारे उनले सुनाए । 

ब्रिटिस एयरवेज, स्विस एयरवेज, २०१८ को विश्वकपका बेला कोकाकोलालगायत अंग्रेजी र नेपाली विज्ञापनमा पनि उनले काम गरिसकेका छन् । नेपाली फिचर फिल्म सरौतो, ब्रिटिस फिल्म ‘डेन्जरस गेम’ र नेपाली निर्देशकको अंग्रेजी सर्ट मुभी ‘कर्मा’ मा पनि उनको लिड रोल गरेका थिए । ‘एनिमल’ बाहेक टंकका बलिउड निर्देशक जाइघम इमामको ‘सुपर वुमन’ र दिवाकर भट्टराईको फिल्म ‘हनी बनी’ (मुख्य खलपात्र) पनि प्रदर्शन हुँदै छन् । 

टंकले गत वर्ष अडिसनमार्फत भारतीय लेखक, निर्देशक विनयराम तिवारीको ‘तेरे बादे’ म्युजिक भिडियोमा पनि खेल्ने अवसर पाए । त्यसबाहेक बेलायत बस्ने कुशल श्रेष्ठ र कपिल रिजालको निर्देशनमा बनेका म्युजिक भिडियोमा पनि उनको भूमिका छ । 

आफू पेसाले अकाउन्टेन्ट भए पनि अभिनयबाट टाढा हुन नसक्ने बताउँछन् उनी । नेपाली फिल्म क्षेत्रबाट पनि राम्रो अफर आउने प्रतीक्षामा छन् टंक । ‘नेपाली फिल्ममा काम गरेर अन्तर्राष्ट्रिय चिनारी हुने नदेखिए पनि आफ्नो मातृभूमि र नेपाली माटोको सुगन्धले बेग्लै आनन्द दिन्छ,’ टंकले भने । 

युवा ग्यालरीफिचर

नवीन

Link copied successfully