काठमाडौँ — सन् १८५९ मा आजकै दिन (अप्रिल २५) मा इजिप्टमा स्वेज नहरको निर्माण सुरु गरिएको थियो । भूमध्य सागर र लाल सागर जोड्ने नहर मानव निर्मित हो । पोर्ट सेडबाट सुरु भएर स्वेज पोर्टसम्म फैलिएको नहर १९३.३० किलोमिटर लामो छ ।
नहरको निर्माण १८६९ को नोभेम्बर १७ मा सम्पन्न भएको थियो । पछि इजिप्टले सन् २०१५ मा स्वेज नहरको विस्तार गरेको थियो । विस्तारका कारण जलमार्गलाई थप गहिरो तथा जहाज आउजाउ गर्ने बाटो केही फराकिलो पारिएको थियो ।
फ्रान्स र ब्रिटेनको संयुक्त प्रयासमा दस वर्ष लगाएर निर्माण गरिएको नहर प्रयोगमा आउँदा निकै ठूलो प्रचार गरिएको थियो । नहरको निर्माणसँगै पानीजहाजहरू उत्तर एट्लान्टिक र हिन्द महासागरबीच सिधै आवतजावत गर्न बाटो खुलेको हो । एसिया र युरोप आवागमनका लागि अफ्रिका महादेश घुम्नुपर्ने बाध्यता अन्त्य गरेका कारण नहर युरोप र एसियाबीचको व्यापारको मुख्य मार्गसमेत बनेको हो ।
पहिलो विश्वयुद्धमा टर्कीले पूर्वबाट र दोस्रो विश्वयुद्धमा जर्मनीले पश्चिमबाट नहरमाथि आक्रमण गरेका थिए । तर सन् १९५६ मा इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेरले युद्धमार्फत नहरलाई राष्ट्रियकरण गरे । जसका कारण इजरायल, फ्रान्स र बेलायतसँग इजिप्टको विवाद उत्पन्न भएपछि १९५७ को मार्चसम्म नहर बन्द भएको थियो । हाल भने यो नहर पूर्णतः इजिप्टको सञ्चालन र नियन्त्रणमा छ ।
