आलम परिवारको विरासतमा विराम
रौतहट — गौर–चन्द्रनिगाहपुर सडक खण्डको बमनहरबाट झन्डै सात किलोमिटर पश्चिम गएपछि राजपुर फरदहवा गाउँ आउँछ । यो तत्कालीन कांग्रेस नेता शेख इद्रिसको राजनीतिक उर्वर भूमि हो । इद्रिसपछि उनका भतिजा पूर्वमन्त्री मोहम्मद आफताब आलमले राजनीतिक विरासत सम्हालेका थिए । हरेक राजनीतिमा देखिने आलम परिवारको दबदबा अब टुटेको छ । आलम परिवारको लामो पारिवारिक राजनीतिक विरासत तोड्दै स्वतन्त्र उम्मेदवार किरणकुमार साह रौतहट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात २०६४ चैत २७ गते राति राजपुर–४ स्थित इद्रिसकै गोठमा बम विस्फोट हुँदा घाइतेलाई जिउँदै चिम्नी भट्टामा हालेको आरोपमा आफताब पुर्पक्षका लागि नख्खु कारागारमा छन् । प्रतिनिधिसभाको यो चुनावमा सत्य र न्यायको जित हुने भन्दै आएको आलम परिवारले जेठो छोरा फिरदोस आलमलाई चुनावी मैदानमा अघि सारेको थियो ।
बुवा जेल परेपछि नेपाल प्रहरीमा (इन्स्पेक्टर) चिकित्सकका रूपमा कार्यरत फिरदोसले राजीनामा दिई गाउँ आएर राजनीति थालेका थिए । फिरदोस त्यही क्षेत्रका अर्का नेता साहसँग ४ हजार ५ सय ९४ मतान्तरले पराजित भए । स्वतन्त्र उम्मेदवार साहले ३२ हजार ८ सय ४२ मत ल्याए भने फिरदोसले २८ हजार २ सय ४८ मत पाए । ०७४ मा किरण आफताबसँग पराजित भएका थिए ।
‘एकै परिवारमा राजनीति घुमिरहेको जनताले बर्दास गरेनन्,’ साहले भने, ‘यस पटक मुस्लिम समुदायले समेत मलाई माया गरे ।’ सामान्य परिवारका साहले तत्कालीन माओवादी नेता प्रभु साहनिकट रहेर काम गरे । ०७३ मा माओवादी छाडेका उनी ०७४ मा प्रतिनिधिसभा सदस्यमा आफताबसँग पराजित भए । त्यसपछि गाउँमै बसेर स्थानीय मुद्दा र मतदातासँगको सम्बन्ध विस्तारमा लागे । आफताबविरुद्धको मुद्दामा पनि उनले स्थानीयस्तरमा भूमिका खेले । गत स्थानीय तह निर्वाचन अगाडि प्रभु साहले किरणलाई आफूसँगै एमाले प्रवेश गराएर श्रीमती उषा कोइरालालाई राजपुर नगरपालिका प्रमुखमा उम्मेदवार बनाए । उषा आफताबका छोरा राजिकसँग पराजित भइन् ।
एमाले–जसपा गठबन्धनमा रौतहट–२ जसपाको भाग परेपछि प्रभु साहकै निर्देशनमा किरणले स्वतन्त्र उम्मेदवारी दिएका थिए । बैरियाका शेख अब्दुल काकादेखि सुरु गरेको राजनीति भतिजा हुँदै छोरासम्म आएकाले जनताले स्विकार्न नसक्ने बताउँछन् । ‘एउटै परिवारभित्रका मानिसले मात्र चुनावमा भाग लिँदै गए अरूको पालो कहिले आउने ?’ उनले भने ।
मुस्लिम बहुल यो क्षेत्रमा आफताब चुनाव लड्दा एकलौटी मत उनकै पक्षमा खस्थ्यो । शेख परिवारमा जन्मेका आलम राजपुरका रैथाने हुन् । राजपुरमा मात्र करिब १० हजार मुस्लिम मतदाता छन् । यस क्षेत्रमा २०१५ सालदेखि नै शेख परिवारको राजनीति हाबी हुँदै आएको छ ।
०१५ सालमा प्रजापरिषद्बाट चुनाव जितेका इद्रिस ०४८ को आमनिर्वाचनमा पनि निर्वाचित भएका थिए । काका इद्रिसपछि आफताब कांग्रेस नेताका रूपमा उदाए । उनले रौतहट–२ बाट ०५३ को उपनिर्वाचनमा पहिलो पटक सांसद बन्ने मौका पाए । ०५६ र ०६४ मा पनि जितेका उनी ०७० मा आफ्नै भान्जा मुस्ताक आलमसित पराजित भए । ०७४ मा आफताब पुनः निर्वाचित भए । उनी दुई पटक कांग्रेस जिल्ला सभापतिसमेत भए ।
मधेस आन्दोलनका बेला मधेसकेन्द्रित दलप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए । पार्टीका शीर्ष नेताहरूले उनको यो कदमलाई रुचाए । उनले चन्द्रनिगाहपुरमा सद्भाव कायम राख्न पैदल यात्रासमेत गरेका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा जेठो छोरालाई उम्मेदवार बनाएपछि केही मुस्लिम समुदाय चिढिएको विजयी साह बताउँछन् । ‘सबैको पालो आउँछ, चुनावमा हामी मात्रै उम्मेदवार भन्ने हुँदैन,’ उनले भने, ‘जनताको चाहना र न्यायका लागि उठेको हुँ ।’ आफताबका भाइ महताब पनि दुई पटक पार्टीको जिल्ला सभापतिमा पराजित भएका हुन् । उनी पनि राजपुर घटनामा पक्राउ परेपछि पुर्पक्षका लागि गौर कारागारमा छन् ।
आफताब ०५४ मा श्रम सहायकमन्त्री भए । ०५५ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वन सहायकमन्त्री भए । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री भएका उनी फेरि कोइराला नेतृत्वको सरकारमा भूमिसुधारमन्त्री बन्ने अवसर पाए । माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी श्रम तथा यातायातमन्त्री बनेका थिए ।
प्रकाशित : मंसिर ११, २०७९ ०७:११