रूपन्देही — मनोनयन दर्तापछि अधिकांश समय निर्वाचन क्षेत्रमा बिताएका गृहमन्त्री बालकृष्ण खाँण राप्रपाका दीपक बोहरासँग २ हजार ६ सय ८१ मतले पराजित भएका छन् ।
खाँणमाथि आफ्नै पार्टी सम्हाल्न नसकेको आरोप लाग्दै आएको छ । सरकारी गुप्तचरले गृहमन्त्रीले चुनाव जित्ने रिपोर्ट पेस गरेका थिए । स्वयं खाँणले पनि जिल्लामा आयोजित कार्यक्रममा गठबन्धनले १ सय ३० सिट जित्ने दाबी गरेका थिए । खाँणले ३४ हजार ३६ मत पाएका छन् भने बोहराले ३६ हजार ७ सय १७ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा कांग्रेसको समर्थनमा उम्मेदवार बनेका बोहरालाई यस पटक एमालेले सहयोग गरेको थियो । पाँच वर्षअघि कांग्रेसका सबल र दुर्बल पक्ष बुझेका बोहराले यस पटक ‘नबोलेरै’ चुनावमा जित प्राप्त गरे । ९ पटक मन्त्री भइसकेका उनी कोभिडपछिको समस्याका कारण बोल्न सक्दैनन् ।
गृहमन्त्री हुनुपूर्व खाँण जिल्लामा लोकप्रिय मानिन्थे । गत मंसिरमा भएको पार्टीको जिल्ला अधिवेशनमा परिवारका सदस्यलाई काखी च्यापेको आरोप उनीमाथि छ । आफ्नै भाइ रामकृष्णलाई जिल्ला सभापति बनाए । २०७४ मा अवसर पाएर पराजित उनै रामकृष्णलाई गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुख बनाए । आफ्नै श्रीमती मञ्जु खाँणलाई समानुपातिक सूचीमा राखे । त्यस कारण पनि रूपन्देहीमा कांग्रेस निर्माण गर्न लागेका धेरै महिला परिचालन भएनन् ।
आफ्नै भाइ प्रमुख रहेको तिलोत्तमा नगरपालिकामा असार मसान्तमा बजेट पारित गर्ने विषयमा एमाले र कांग्रेसबीच विवाद भयो । विवाद बढेपछि प्रहरी परिचालन गरेर नगरसभा गर्ने प्रयास गर्दा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई नजिकैको स्विमिङ पुलमा धकेलिदिएका थिए । केसीले आफू गृहमन्त्रीको ‘खास’ मान्छे भन्दै स्थानीयलाई धम्की दिने गरेको विषयले पनि निर्वाचनमा चर्चा पायो । गृहमन्त्रीका रूपमा जिल्लामा आउँदा हुने प्रहरीको बाक्लो उपस्थिति र निकट कार्यकर्ताको रजगजले उनलाई आफ्नै कार्यकर्ताभित्र आलोचित बनाइरहेको थियो ।
गत मंसिरमा कांग्रेसको जिल्ला अधिवेशनमा रूपन्देही ३ (१) को निर्वाचन भएर मतगणना भइरहेकै बेला विवाद बढेपछि कार्यकर्ताबीच झडप भएको थियो । झडपमा उम्मेदवारसहित ५ जना घाइते भए । कार्यकर्ता शैलेश पन्तको नाकको हड्डी नै भाँचिएको थियो तर त्यसमा गृहमन्त्रीले आक्रमणकारीलाई संरक्षण गरेको आरोप कार्यकर्ताबाटै लाग्दै आएको छ । सोही विषय स्थानीय तह निर्वाचनमा पनि जोडतोडका साथ उठेपछि पार्टीभित्रै दुई गुट बनेको थियो । त्यही विवादमा रूपन्देही–३ का पूर्वक्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिए । स्थानीय तह निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर क्षेत्र २ का सभापति हरि लम्सालले पनि राजीनामा दिए । त्यो विवाद अहिलेको निर्वाचनमा विपक्षीलाई मसलाका रूपमा प्रयोग भयो ।
कांग्रेसको लुम्बिनी प्रदेशमा देउवा समूहका भरत शाह पराजित भएपछि उनी खाँणसँग असन्तुष्ट बने । त्यसले क्षेत्र ५ बाट चुनाव लडेका शाह र खाँणका कार्यकर्ताले अहिलेको चुनावमा एकअर्कालाई हराउन अभियान नै चलाएका थिए । प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा (२) बाट निर्वाचन लडेका पार्टीका पूर्वजिल्ला सभापति अब्दुल रजाक गद्दीसँग पनि खाँणको सम्बन्ध राम्रो हुन सकेन । पार्टीको तल्लो तहदेखि माथिल्लो स्तरसम्मका कार्यकर्तासँगकै सम्बन्ध सुधार गर्न नसक्नु नै खाँण पराजितको प्रमुख कारण रहेको कांग्रेसका पूर्वक्षेत्रीय सभापति हरि लम्सालले बताए । राजनीति परिवारमा केन्द्रित गर्नु, पुराना कार्यकर्तालाई सँगै लिएर हिँड्न नसक्नु, नवप्रवेशी र सेल्फी खिच्नेको भीडमा अल्मलिनु पनि पराजयका कारण रहेको उनले बताए ।
खाँणले विष्णु पौडेलको रूपन्देही क्षेत्र २ का दुई जनाको उम्मेदवारी खारेजपछि गठबन्धनबाट जातीय पार्टी जनमुक्तिलाई समर्थन गर्ने निर्णय केन्द्रबाटै गराएका थिए । त्यसको उद्देश्य तिलोत्तमा नगरपालिकामा रहेको जनमुक्तिको झन्डै ६ हजार भोट आफूलाई आउने विश्वास थियो तर कांग्रेस कार्यकर्ताले त्यसलाई स्वीकार नगर्दा तिलोत्तमामा पनि जनमुक्तिको मत उनलाई जान सकेन । नदी दोहन गर्नेहरूलाई संरक्षण गरेको भन्दै तिनाउ किनारका बासिन्दाको मत पनि पाउन नसकेको उनका कार्यकर्ता बताउँछन् ।
