कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदातालाई पहरा दिएर बाजुरामा चुनाव

गाउँदेखि मतदान केन्द्रसम्मै सुरक्षा
मोहन शाही, अर्जुन शाह

डोटी,धनगढी — बाजुराको बुढीनन्दा गाउँपालिका–५ नन्देश्वरी मतदान केन्द्रमा मतदातालाई चौतर्फी पहरा दिएर पुनः मतदान भएको छ । कांग्रेस र एमाले कार्यकर्ताबीच झडपपछि मंसिर ४ को मतदान स्थगित भएको थियो ।

मतदातालाई पहरा दिएर बाजुरामा चुनाव

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले पुनः मतदान गराउन बिहीबारदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको बताए । मतदातालाई असुरक्षा महसुस हुन नदिन गाउँदेखि मतदान केन्द्रसम्मै प्रहरी, सशस्त्र र सेनालाई परिचालन गरिएको थियो । ‘सुरक्षाकर्मी र निर्वाचनमा खटिने कर्मचारीको पूरै नयाँ टिम मंसिर ८ बाटै खटाइएको थियो,’ उनले भने, ‘मतदाताले उत्साहपूर्वक मतदानमा भाग लिएका छन् ।’

सुरक्षाका दृष्टिबाट भयमुक्त भए पनि गाउँ नै घेरेर सुरक्षाकर्मीले पहरा दिएकामा भने स्थानीय लज्जित मनस्थितिमा थिए । राजनीतिले जनतालाई एकजुट बनाउनुपर्नेमा झगडा र विवाद हुनु लज्जाजनक भएको ६४ वर्षीय कालीबहादुर मल्लले बताए । ‘पञ्चायतदेखि गणतन्त्रसम्मका सबै निर्वाचनमा भोट हाल्दै आएको छु तर यतिधेरै सुरक्षाकर्मीको माझमा पहिलो पटक भोट दिएँ,’ मल्लले भने ।

‘सुरक्षाकर्मीको बाक्लो उपस्थितिले भयमुक्त भई पुनः मतदान गरियो तर देशभर जिल्लाको बदनाम भयो,’ उनले भने । ‘गाउँलाई सुरक्षाकर्मीले चारैतिबाट घेरेर पहरा दिएका छन्,’ स्थानीय सिर्जना मल्लले भनिन्, ‘मतदान केन्द्रमा पनि कडाइ गरिएकाले शान्तिपूर्ण रूपमै मतदान सम्पन्न भयो ।’

९ सय ९९ मतदाता रहेको उक्त केन्द्रमा बिहान ७ बजेर १५ मिनेटमै मतदान प्रक्रिया सुरु भएको थियो । ५ सय ९७ जनाले मतदान गरेका छन् । मतदान सकेर शनिबार साँझै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

गत आइतबार मतदानका दिन बाजुराका विभिन्न ठाउँमा कांग्रेस र एमाले पक्षबीच झडप भएको थियो । त्यसयता बाजुरा तनावपूर्ण छ । मतदानकै दिन त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरीमा प्रहरीले चलाएको गोली लागेर स्थानीय सञ्जीव अयडीको र कुटपिटबाट चेतन अयडीको मृत्यु भएको थियो । एमालेले चेतनको हत्यामा संलग्नलाई कारबाही तथा विभिन्न स्थानमा पुनः मतदानको माग राख्दै बाजुरामा चरणबद्ध आन्दोलन जारी राखेको छ । सवारीसाधन, बजार, शैक्षिक संस्था ठप्प राखेको एमालेले शुक्रबारबाट धर्ना दिएर आन्दोलन गरिरहेको छ । आन्दोलनकै क्रममा मार्तडीमा अनेरास्ववियुका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतलाई दुर्व्यवहार गरेपछि थप तनावपूर्ण स्थिति बनेको छ । दुर्व्यवहार गर्ने ११ जनालाई पक्राउ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले बताए ।

एमाले तथा कांग्रेसको पुनः मतदान गर्नुपर्ने लिखित उजुरी परेपछि निर्वाचन आयोगले सहसचिव तुलसी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली छानबिनका लागि बाजुरा पठाएको थियो । मुख्य निर्वाचन अधिकृत पौडेलले आयोगबाट खटिएको टोलीको प्रतिवेदन आएपछि मात्रै मतगणनाबारे प्रस्ट हुने बताए । जिल्लाका २४ मतदान केन्द्रमा निष्पक्ष तथा स्वतन्त्र मतदान नभएको कांग्रेस–एमालेको जिकिर छ । कांग्रेसले ८ र एमालेले १६ केन्द्रमा पुनः मतदानको माग गर्दै आयोगमा उजुरी गरेका छन् । प्रतिनिधिसभा सदस्यको एक क्षेत्र रहेको बाजुरामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा उम्मेदवार छन् । त्रिवेणी–७ का अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको शव ६ दिनसम्म पनि आफन्तले बुझेका छैनन् । चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै २२ जनाविरुद्ध जिल्ला प्रहरी बाजुरामा जाहेरी दर्ता गराएका छन् । २२ जनामध्ये दुई जनालाई प्रहरीले प्रक्राउ गरी अनुसन्धान सुरु गरेको छ । शव अहिले बाजुरा अस्पतालमा राखिएको छ ।

प्रकाशित : मंसिर ११, २०७९ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?