आमनिर्वाचन २०७९

कांग्रेसबाट प्रत्यक्ष जित्ने महिला गुरुङ मात्रै

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमकी सीता गुरुङ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जित्ने कांग्रेसकी एक्ली महिला भएकी छन् । ४५ वर्षीया गुरुङ एमालेका विजय सुब्बालाई १ हजार ७९ मतले पछाडि पार्दै विजयी भएकी हुन् । पराजित सुब्बा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष हुन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवारी दिएकी गुरुङले १९ हजार ७ सय २ भोट पाएकी छन् । एमालेका सुब्बाको पक्षमा १८ हजार ६ सय २३ मत मात्र खसेको छ । सुब्बा ०४८ र ०५६ मा प्रत्यक्ष निर्वाचित र ०७४ का समानुपातिक सांसद हुन् । गुरुङ भने ०६४ र ०७० को संविधानसभामा समानुपातिक सदस्य थिइन् । उनी भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भइसकेकी छन् । गुरुङ ०७४ को आम निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् ।

कांग्रेस केन्द्रीय सदस्य रहेकी गुरुङ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् । मतदानअघिसम्म शेखर कोइराला पक्षका नेता–कार्यकर्ताले उनलाई असहयोग गरेको चर्चा थियो । सुब्बा भने ०६९ मा एमाले परित्याग गरी संघीय समाजवादी फोरममा लागेका थिए । उक्त पार्टीमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका उनी ०७१ असारमा पुन: एमाले फर्केका थिए । बीचमा पार्टी छाडेका कारण उनीसँग जिल्लाका एमाले नेता–कार्यकर्ता रुष्ट थिए । उनी अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।

आठराई क्षेत्रको इवामा जन्मिएकी गुरुङ ०४६ मा कांग्रेसको राजनीतिमा जोडिएकी हुन् । उनी ०६० मा नेपाल महिला संघको केन्द्रीय सचिव र ०६७ मा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । ०७२ र ०७८ मा सम्पन्न कांग्रेसको केन्द्रीय महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भइन् । उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् । तेह्रथुममा २०१५ देखि नै लिम्बू समुदायका उम्मेदवारले मात्रै केन्द्रको संसदीय चुनाव जित्दै आएका थिए । उक्त परम्परालाई पनि गुरुङले तोडेकी छन् ।

चुनाव जितेपछि मतदाता–कार्यकर्तालाई शनिबार सदरमुकाममा म्याङलुङमा सम्बोधन गर्दै नेतृ गुरुङले आफूले जिल्लामा सडक निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य, एक स्थानीय तह एक उत्पादनमूलक उद्योग, गुराँसभूमि तीनजुरे मिल्के जलजले क्षेत्रको पर्यटन प्रवद्र्धनमा काम गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण छिटो अघि बढाउने पनि बताएकी छन् ।

कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि ०१५ सालका सांसद तेजमान तुम्बाहाङफेसँग दायाँ । तस्बिर : चन्द्र कार्की/कान्तिपुर

प्रकाशित : मंसिर १०, २०७९ २३:५२
प्रतिक्रिया
पठाउनुहोस्

इलाम-२ मा एमालेका सुवास नेम्वाङ निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् ।उनले ३० हजार २० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बुले ७२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१०, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणि माङ्मु लिम्बुले ६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको ।यसअघि स्थगित भएको मतगणना शनिबार राति ९ बजेदेखि फेरि सुरु भएको थियो ।

विजयी नेम्वाङ संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख हुन् ।

प्रकाशित : मंसिर १०, २०७९ २३:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×