मौन अवधिमा बदमासी हुन सक्छ, आयोगले निगरानी गर्न आवश्यक छ : पूर्वमन्त्री आचार्य

कार्तिक २१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरु उम्मेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । 

आइतबार ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’को सम्बन्धमा गरिएको अन्तरक्रियामा बोल्दै पूर्वमन्त्री आचार्यले प्रमुख नेताहरु उम्मेदवार भएको ठाउँमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रमुख नेताहरु उम्मेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभावबिना मतदान गरेको अनुभुति गर्न सक्नुपर्ने उनको भनाइ थियो । प्रमुख नेताहरु उम्मेदवार भएको ठाउँलाई निर्वाचनको स्वच्छताको मापदण्डका रूपमा प्रस्तुत गराउन निर्वाचन आयोगले ध्यान दिनुपर्ने उनले बताए । 

‘हाम्रा प्रमुख नेताहरु जहाँजहाँ निर्वाचनमा उम्मेदवार उठ्नुभएको छ । उहाँहरुले म स्वच्छ किसिमले, निष्पक्ष किसिमले, धाँधलीरहित किसिमले स्वाधिन मतदानद्वारा, आफैँले आफैँलाई कर, बलबिना, अनुचित प्रभावबिना मतदाताले दिएको मतदानलाई मैले स्वाधिन मतदान भने, मतदानद्वारा निर्वाचित भएको हुँ भन्ने पाउनको निम्ति ती ठाउँमा विशेष ध्यान दिइयोस् भन्ने मेरो आग्रह छ । अरुहरुले पनि भन्न पाउन् कि दुई चारजना कराएर हुन्छ र ? यिनीहरुलाई त मतदाताले नै स्वाधिन मतदानद्वारा विश्वास गरेका हुन् । त्यसैले प्रमुख नेताहरु उम्मेदवार हुनुभएको ठाउँलाई स्वच्छताको एउटा मापदण्डको रुपमा प्रस्तुत गरियोस् । र त्यहाँ विशेष ध्यान दिईयोस् भन्ने एउटा मेरो आग्रह रहेको छ,’ उनले भने ।

पूर्वमन्त्री आचार्यले नेपालमा कुनैबेला रातारात मतपेटिका साटिएकोतर्फ ध्यानाकर्षण गराउँदै मतपेटिकाको सुरक्षाका लागि सतर्कता आवश्यक रहेको बताए । नागरिकहरुको सजगता र सतर्कताले आयोगलाई पनि सजग र सतर्क हुन मद्दत गर्ने उनले बताए । निर्वाचनको मौन अवधिमा बदमासी हुनसक्ने भन्दै निगरानी गर्नुपर्ने उनको भनाइ छ ।

पूर्वमन्त्री आचार्यले कार्यान्वयन हुन सक्नेगरी मात्रै निर्वाचनसम्बन्धी कानुन बनाउनुपर्ने बताए । आचारसंहितामा कतिपय कुराहरु अस्पष्ट रहेको भन्दै त्यसलाई पनि प्रस्ट पार्नुपर्ने उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully