लोकतान्त्रिक वाम गठबन्धनको चुनावी प्रतिवद्धता सार्वजनिक

भौतिक विकाससँगै पर्यटन पवर्द्धन, कृषि, स्वास्थ, रोजगारी र सामाजिक विकासमा काम गर्ने

कार्तिक २१, २०७९

अमृता अनमोल

बुटवल — स्वतन्त्र वाम उम्मेदवार घनश्याम भूसालसहित रुपन्देही-१ को लोकतान्त्रिक वाम गठबन्धनले १६ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

रुपन्देही–१ मा  प्रतिनिधिसभातर्फ स्वतन्त्र वाम उम्मेदवार भूसाल तथा  प्रदेश  १(१) मा  कांग्रेसका विश्वनाथ यादव  र १(२) मा अब्दुल रज्जाक उम्मेदवार छन् । उनीहरुले आर्थिक पूर्वाधार भौतिक विकास शिक्षा स्वास्थ्य रोजगारी भूमि व्यवस्था विद्युत् र  औद्योगिक विकासमा काम गर्ने मुख्य लक्ष्यसहित आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

जसमा शिक्षातर्फ देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय सञ्चालन गर्ने र क्षेत्रगत प्राविधिक शिक्षा सुरु गर्ने र स्कुल तथा क्याम्पसको स्तरोन्नति गर्ने भनिएको छ । स्वस्थ्यतर्फ पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थचौकी बनाउने भनिएको छ । पर्यटनतर्फ  देवदहको उत्खन्नन गरी बुद्ध मावलीलाई अन्तर्राष्ट्रिय सम्पदा सूचीमा समावेश गर्ने उल्लेख छ । देवदहलाई लुम्बिनीसँग जोडेर विकास योजना अघि बढाउने पर्यटन  प्रवर्द्धन गर्ने कृषि  सडकको स्तरोन्नति गर्ने  कृषिको  व्यावसायीकरण गर्ने पनि उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोबासी र भूमिहीनहरुको समस्या सधैंका लागि अन्त्यत गर्ने भनिएको छ । सुरु भएका सडक निर्माण सक्ने स्तरोन्नति गर्ने र देवदहलै उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने हरेक वडामा बाल उधान र ज्येष्ठ  नागरिक मिलन केन्द्र बनाउने उल्लेख छ । युवाहरूलाई सिपमूलक तालिम दिने सीप सिकेका युवाहरूलाई रोजगारीमा जोडने भनिएको छ । निर्वाचन क्षेत्र भित्र औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने भनिएको छ ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार भूसालले प्रतिवद्धता पत्रमा भनिएका र सुरु गरेका विकास योजना  कार्यान्वयनमा प्रतिवद्ध हुने बताए ।

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully