बसाइँसराइ रोक्न एकीकृत बस्ती निर्माणको कामलाई अघि बढाउनुपर्छ : पाण्डेय

कार्तिक २१, २०७९

माधव अर्याल

पाल्पा — पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेयले बसाइँसराइ रोक्न एकीकृत बस्ती निर्माणको कामलाई अघि बढाउनुपर्ने बताएका छन् । स्थानीय तहसँगको समन्वयमा एकीकृत बस्ती निर्माण गर्न सकियो भने पहाडबाट तराईमा झरेको बसाइँसराइ रोक्न सकिने उनले बताए ।

वाम–लोकतान्त्रिक गठबन्धन अन्तर्गत पाल्पा क्षेत्र २ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पाण्डेयले पछिल्लो समय तराई क्षेत्रमा बसाइँसराइका कारण जनघनत्त्व घट्दै गइरहको बताए । उनले यसका लागि पहाडमै बस्ने वातावरणसहितको एकीकृत बस्ती विकास र पर्यटकीय नगरीको रुपमा विकास गरिने बताए । ‘विगतमा काम गर्ने वातावरण नै तयार भएन,’ उनले भने, ‘अब यस्तो अवस्था आउने छैन ।’

पाल्पाको तानसेन नगरक्षेत्र धरमपानी, सेतीपोखरी, ढुंगाखानी लगायतका क्षेत्रमा घरदैलोपछिको कार्यक्रममा उनले बसाइँसराइलाई रोक्न तानसेनको ढुंगाखानी, सेतीपोखरी क्षेत्रमा एकीकृत बस्ती विकास गर्ने बताए । तानसेनको बजार क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउँदै उनले बजारसँगै जोडिएको ढुंगाखानी, सेतीपोखरी, धरमपानी लगायतको क्षेत्रमा एकीकृत बस्ती विकासको गुरुयोजना बनाएर भौतिक तथा आर्थिक रुपमा विकास गर्ने उनले बताए । 

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका पाण्डेयले तानसेनको धरमपानी, सेतीपोखरी, ढुंगाखानी क्षेत्रको विकासका लागि पहल गर्ने बताए । उद्योगमन्त्री हुँदा सुरु गरेको एक जिल्ला एक औद्योगिक ग्रामको अवधारणालाई थप विस्तार गर्ने बताए । अर्चले, साफाखुम, बराङ्दी क्षेत्रमा सुन्तला खेती, कृषि, व्यवसायिक पशुपालनलाई जोड दिने बताए । 

लुम्बिनी प्रदेश उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वीरबहादुर रानाले बसाइँसराइ अहिलेको मुख्य चुनौती भएकाले यसका लागि पहाडमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले बजार नजिक भएर पनि अर्चले, साफाखुम, बराङ्दी क्षेत्रबाट बसाइँसराइ बढेको पाइएकाले गाउँमै कृषि र पशुपालनको पकेट कार्यक्रम सञ्चालन गरी युवा स्वरोजगार र विदेशबाट फर्किएका युवाहरुलाई लगानीको सुनिश्चितता र लगानीको ग्यारेन्टी गर्ने गरी कार्यक्रम ल्याउने मन्त्री रानाले बताए । 

सडकको स्तरोन्नति र खानेपानीको समस्या समाधान गरेर गाउँमै बस्ने वातावरयण मिलाइने बताए । 

गठबन्धनका जिल्ला संयोजक तथा नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता नेत्रप्रसाद पाण्डेय, एकीकृत समाजवादीका जिल्ला सचिव मोहनलाल गैरे, तानसेन नगरपालिकाका पूर्वमेयर तथा एकीकृत समाजवादीका समानुपातिक उम्मेद्वार अशोककुमार शाही लगायतले एकीकृत बस्ती निर्माण गरेर नगरपालिका भएपनि ग्रामीण भेग रहेका क्षेत्रलाई गाउँमै बस्ने वातावरण मिलाउनुपर्नेमा जोड दिएका थिए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully