काभ्रे — प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र आइसकेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । काभ्रेमा २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्र रहेका छन् ।
उनका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा १ (१) मा ८५ हजार र प्रदेशसभा १ (२) मा ८४ हजार मतपत्र पठाइनेछ । त्यस्तै समानुपातिकतर्फ प्रदेशसभा १ (१) मा ८६ हजार र प्रदेश सभा १ (२) मा ८५ हजार मतपत्र पठाइनेछ ।
प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रत्यक्षतर्फ १ लाख ७४ हजार मतपत्र र समानुपातिकतर्फ १ लाख ७४ हजार मतपत्र पठाइनेछ भने प्रतिनिधिसभा क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए । उनका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा २ (१) मा ८५ हजार र प्रदेशसभा २ (२) मा ८९ हजार मतपत्र पठाइनेछ । त्यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा २ (१) मा ८६ हजार र प्रदेशसभा २ (२) मा ९० हजार मतपत्र पठाइने क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत भट्टराईले बताए ।
निर्वाचन मिति नजिकिएसँगै काभ्रेमा निर्वाचन तयारीलाई तीव्रता दिइएको छ । काभ्रेमा अहिले मतदानका क्रममा आवश्यक सामग्री प्याकेजिङ, मतदानस्थलमा शान्ति सुरक्षाको व्यवस्थापन, मतदानस्थल अनुगमन, मतदान शिक्षालगायत कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले जानकारी दिए ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेमा ३ हजार १ सय १२ कर्मचारी खटाइने निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार निर्वाचनमा १ हजार ५ सय ५६ स्वयंसेवक परिचालन गरिनेछ । १ मतदान केन्द्रमा ८ कर्मचारी र ४ स्वयंसेवक परिचालन हुने बताइएको छ । यसपटक कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले समेत समानुपातिकतर्फ प्रदेशअन्तर्गत र प्रतिनिधिसभातर्फ मतदातामा सूचीकृत भएकाले मतदान गर्न पाउने भएपछि जिल्लामा चार अस्थायी मतदान केन्द्र व्यवस्थापन गरिने जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार जिल्लाका १ लाख ५७ हजार ९ सय ४७ पुरुष, १ लाख ५२ हजार १ सय १४ महिला र अन्य दुई मतदाता गरी कूल ३ लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् । १ सय ९० वटा मतदानस्थलका ३ सय ८९ मतदान केन्द्र तोकिएको छ । कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कूल मतदाता १ लाख ५२ हजार ६ सय ९९ रहेका छन् । यहाँ १ सय ९५ वटा मतदान केन्द्रबाट मतदान हुनेछ । सोही क्षेत्रको प्रदेशसभा (१) मा ४० हजार १ सय १ पुरुष तथा ३६ हजार ४ सय ५२ महिला गरी ७६ हजार ५ सय ५३ मतदाता रहेका छन्‚ जसमा ९४ वटा मतदान केन्द्र रहेका छन् । प्रदेशसभा (२) मा भने ३८ हजार ७ सय १५ पुरुष र ३७ हजार ४ सय ३० महिला गरी ७६ हजार १ सय ४६ मतदाता छन् । यहाँ ९५ वटा मतदान केन्द्र छन् ।
यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा ७९ हजार १ सय ७४ पुरुष र ७८ हजार २ सय ६७ महिला गरी एक लाख ५७ हजार ४ सय ४१ मतदाता रहेका छन् । उक्त क्षेत्रमा दुई सय मतदान केन्द्र रहेका छन् । सोही क्षेत्रको प्रदेशसभा (१) मा ३९ हजार २ सय ५८ पुरुष, ३७ हजार ८ सय ५० महिला तथा अन्य एक गरी ७७ हजार १ सय ९ मतदाता रहेका छन् । यहाँ १ सय मतदान केन्द्र रहेका छन् । प्रदेशसभा (२) मा भने ३९ हजार ९ सय १६ पुरुष तथा ४० हजार ४ सय १७ महिला गरी ८० हजार ३ सय ३३ मतदाता रहेका छन् । यहाँ १ सय मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
