बागलुङ — शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सत्ता गठबन्धनको उमेदवार बनिरहँदा उनको प्रतिस्पर्धी जिल्लाकै एक मात्र महिला उम्मेदवार छिन् । गत स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको प्रमुख पदमा कांग्रेसको बागी उठेकी मञ्जु शर्मा चालिसे यो पटक एमालेकी उम्मेदवार हुन् ।
कांग्रेसको महाधिवेशन प्रतिनिधि जितेकी मञ्जु चालिसे जिल्ला कार्यसमिति बागलुङको समेत निर्वाचित सदस्य हुन् । गत साउनमा एमालेको सदस्यता लिएपछि उनले सिधै प्रतिनिधिसभा सदस्यको टिकट पाइन् । उनी जिल्लाभरिमै आसन्न निर्वाचनको प्रत्यक्षतर्फ एक्ली महिला उमेदवार हुन् ।
गत स्थानीय निर्वाचनमा गठबन्धनको पकड बनाएको क्षेत्र उनले रोजेकी छिन् । यहाँका पालिकामध्ये ढोरपाटन नगरपालिकाको प्रमुखबाहेक सबै पदमा गठबन्धनका उमेदवार विजयी भएका थिए । कुल ९५ हजार ६ सय मतदाताले मतदान गर्ने यो क्षेत्रमा अहिलेसम्म कांग्रेस पहिलो शक्तिको रुपमा गनिएको थियो । स्थानीय तह निर्वाचनले गठबन्धन नै बलियो देखाएको छ । गत स्थानीय तह निर्वाचनमा कांग्रेस उमेदवारविरुद्ध बागी उठेकी चालिसेले गठबन्धनका उमेदवारलाई हम्मेहम्मे पारेपछि उनको उचाइ एकाएक चुलियो । त्यसपछि उनलाई एमालेले आफ्नो पक्षमा ल्याएको हो ।
कांग्रेसका उमेदवार भरत शर्मा गैरे नगरप्रमुखमा विजयी भए पनि चालिसेले एमालेका उमेदवारसरह मत पाइन् । मुढा चिह्न लिएर उठेकी चालिसेलाई माओवादीबाट विद्रोह गरेका नेता तिलक उप्रेतीले साथ दिएका थिए । उप्रेती उपप्रमुख पदमा उम्मेदवार थिए । दुवै जना पराजित भए । मुढा चिह्न लिएर उठेकी चालिसेले हरेक वडामा वडा अध्यक्षलाई पनि चुनौती दिएकी थिइन् । यहाँका तीन वटा वडामा चालिसेले बहुमत ल्याइन् ।
कांग्रेसमा कोइराला पक्षधरकी चालिसे यसअघिको स्थानीय निर्वाचनमा पनि नगरप्रमुख पदकै दाबेदार थिइन् । गत निर्वाचनमा उनको नाम कोइराला गुटमा प्रमुख दाबेदारकै रुपमा निकै चलेको थियो । गैरेले दोहोरिएर उमेदवारी पाएपछि हेलिकोप्टर चढेर उनले मनोनयन गरेकी थिइन् । अघिल्लो स्थानीय तह निर्वाचनमा उनले उपप्रमुखको टिकट पाएकी थिइन् । उनले उक्त पद नमानेपछि यहाँ अर्कै उमेदवार खडा भए । गलकोटमा कांग्रेसको पकड छ । तर उनको उमेदवारले अर्थ बोकेको टिप्प्णी हुन थालेको छ ।
पश्चिम बागलुङमा गठबन्धनबाट उठेका मन्त्री पौडेलको घर क्षेत्र नं. १ हो । गत निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारको रुपमा मन्त्री पौडेल विजयी भएका थिए । अहिले पनि उनी कांग्रेससहितको गठबन्धनका साझा उमेदवार हुन् । तर कतिपयले पाहुना उमेदवारको रुपमा टिप्पणी गर्न थालेका छन् । पौडेलविरुद्ध माओवादीकै तुलसी अर्याल बागी छन् । उनले समेत केही मत काट्ने आकलन स्थानीयले गरेका छन् ।
चालिसेले एमालेबाहेक गलकोटसहित पश्चिम क्षेत्रमा गठबन्धनका दलको असन्तुष्ट मत र क्षेत्रीय नाराले निर्वाचनको जितसम्म पुर्याउने एमालेको दाबी छ । उनले तीन वटा एजेन्डा बोकेर उमेदवारी दिएको बताइन् । पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउने, स्वास्थ्य र शिक्षाको गुणस्तर बढाउने तथा उत्तरगंगा जलविद्युत् आयोजना निर्माणमा पहल गर्ने, मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्नेलगायतका नारा अघि सारेकी छिन् ।
संविधानसभाबाट संविधान जारी गर्दा बागलुङको हालको क्षेत्र नं २ लाई प्रदेश नं ५ मा राखिएको थियो । जिल्लाभर आन्दोलन भएपछि उक्त निर्णय फिर्ता भएको थियो । चालिसेले महिलाका विषयलाई आफूले प्राथमिकताका साथ अगाडि बढाउने बताइन् । ‘म महिला उमेदवार पनि हो, त्यसैले महिलाका विषयमा पनि काम गर्न सक्छु,’ उनले भनिन्, ‘पश्चिमका जनताको माग छुट्टै जिल्ला हो, त्यो विषय मैले उठाएकी छु ।’ आफू स्वास्थ्यकर्मी भएकोले महिला स्वास्थ्यको क्षेत्रमा काम गर्न सक्ने उनको दाबी छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भने अंक णितसहित राष्ट्रिय राजनीतिको एजेन्डा आफ्नो पक्षमा भएको बताए । उनले ठूला पूर्वाधार निर्माण, शिक्षा क्षेत्रमा लगानी र गुणस्तर सुधार्न गरेको कामले मत पाउने दाबी गरे । पौडेलले बागलुङका दर्जनौं विद्यालय पुनर्निर्माण र मर्मतमा मन्त्रालयबाट करोडौं रकम भित्र्याएका छन् । ‘मन्त्री भएको, फेरि पनि उत्तिकै सम्भावना रहेको र राजनीतिक रूपमा पनि पदाधिकारी भइसकेकोले विकासमा पौडेलको पहुँच बढी हुन्छ,’ कांग्रेस नेता तिलक पुनले भने, ‘गठबन्धनको इमान्दारिता र धर्म पनि पौडेललाई जिताउने नै हो ।’ अंकगणित र माहोलले गठबन्धन अगाडि भएको उनले दाबी गरे ।
एमालेले भने क्षेत्र नं २ का लागि प्रदेश १ मा पनि आयातित उमेदवार नै अगाडि सारेको छ । चालिसे जस्तै माओवादी छाडेका प्रकाश घर्ती एमालेको समर्थनमा उमेदवार छन् । ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष घर्तीले स्थानीय निर्वाचनमा बागी उमेदवारी दिएका थिए । चुनाव हारेपछि तटस्थ बसेका घर्तीलाई एमालेले समर्थन गरेर उम्मेदवार बनाएको हो । उनीविरुद्ध कांग्रेसका सभापति जितबहादुर शेरचन छन् । प्रदेश २ मा भने एमालेका उपाध्यक्ष लक्ष्मण पुन र कांग्रेसका पूर्व क्षेत्रीय सभापति द्रोण कुँवरबीच प्रतिस्पर्धा छ ।
