भूराजनीतिक उतारचढावमा मौन

नयाँ बन्ने सरकारले निर्णय गर्ने भनिएको भारतको विवादास्पद अग्निपथ सैन्य भर्नाका बारेमा समेत दलहरूका घोषणापत्रले केही उल्लेख गरेका छैनन्

कार्तिक २१, २०७९

जगदीश्वर पाण्डे

काठमाडौँ — पटक–पटक सत्ताको नेतृत्व कांग्रेस, एमाले र माओवादीले आ–आफ्नो चुनावी घोषणापत्रमा छिमेक सम्बन्ध, सीमा विवाद र राष्ट्रिय सुरक्षालाई समेटे पनि विश्वमा देखिएको भूराजनीतिक उतारचढाव र भविष्यमा नेपाललाई पर्न सक्ने सुरक्षा चुनौतीबारे उल्लेख गरेका छैनन् ।

भूराजनीतिक उतारचढावबारे दलहरू मौन रहनुलाई कतिपय विश्लेषकले स्वाभाविक नै मानेका छन् भने केही विश्लेषकले चुनावी घोषणापत्रमा यो विषय समेटिनुपर्ने तर्क गरेका छन् ।

नेपालका दुई छिमेकी भारत र चीन विश्वमञ्चमा तीव्र गतिमा अघि बढिरहेका छन् । चीन विश्वको पहिलो शक्ति बन्ने होडमा छ । अर्कातिर अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा आफ्नो प्रभावलाई बढाइरहेको छ ।

भूराजनीतिक जानकार रूपक सापकोटा नेपालका लागि अहिलेको भूराजनीतिक चुनौती सामान्य नभएको तर्क गर्छन् । ‘अमेरिका, चीन, भारतलगायतमा पनि नयाँको भूराजनीतिक चुनौती छन् । तर नेपालका दलहरूका घोषणापत्रमा नेपालमा भूराजनीतिक चुनौती आउन सक्छ भन्ने प्रतिबिम्बसमेत छैन,’ उनले भने, ‘भविष्यमा नेपालले ती चुनौती कसरी सामना गर्ने र त्यसका लागि कस्तो कूटनीति र विदेश नीति सञ्चालन गर्ने विषयमा दलहरूको घोषणापत्रमा उल्लेख भएको देखिँदैन ।’

गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसले घोषणापत्रमा ‘राष्ट्रिय सुरक्षा र स्वाधीनताको रक्षाकेन्द्रित परराष्ट्र नीति’ शीर्षकमा विदेश नीतिबारे लेखेको छ । कांग्रेसले अमेरिका–रुसबीचको शीतयुद्धदेखि, महाशक्ति अमेरिकाको एकल वर्चस्व, अमेरिका र चीनको प्रतिस्पर्धाको कारण नेपालमा पनि मडारिन थालेको शीतयुद्धबारे पनि उल्लेख छ । विश्व र क्षेत्रीय शक्ति सम्बन्धमा आएको बदलावअनुरूप द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय कूटनीति पहल गर्दै क्षेत्र संगठन र बहुपक्षीय मञ्चहरूमा राष्ट्रको उपस्थिति र संलग्नता थप मजबुत पार्दै लगिने कांग्रेसले प्रतिबद्धता गरेको छ । तर बदलावलाई कसरी सामना गर्ने घोषणापत्रमा केही लेखिएको छैन ।

एमालेले घोषणापत्रको ‘स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध’ शीर्षकमा छिमेकी सम्बन्धलाई प्राथमिकतामा राखी अन्तर्राष्ट्रिय सम्बन्धको विकास गरिने भनेको छ । नेपालको हित संरक्षण र प्रवद्र्धन हुने गरी सन्धि सम्झौता पुनरावलोकन र संशोधन गरिने तथा आवश्यकताअनुसार नयाँ सन्धि सम्झौता गरिने घोषणापत्रमा उल्लेख छ । तर अहिलेको भूराजनीतिक अवस्थालाई मूल्यांकन गर्दै नेपालले भविष्यमा लिनैपर्ने बाटो र त्यसका आधारबारे घोषणापत्र मौन छ ।

सत्ताघटक माओवादीले घोषणापत्रमा भूराजनीतिक अवस्थालाई ध्यानमा राखी दुई छिमेकी मुलुकसँग मैत्रीपूर्ण तथा घनिष्ठ सम्बन्ध स्थापित गरिने उल्लेख गरेको छ । उसले नेपाली भूमिलाई कुनै पनि छिमेकी मुलुकविरुद्ध दुरुपयोग गर्न दिइने छैन पनि भनेको छ । तर नेपालमाथि मडारिरहेको अर्को शीतयुद्धको चपेटा र त्यसलाई नेपालले सामना गर्ने सम्बन्धमा घोषणापत्रले बोलेको छैन । भारतमा छिमेक पहिलो नीति लिएर आएका नरेन्द्र मोदीले अघि सारेको अग्निपथ सैन्य भर्ना प्रक्रियामा नेपाल सरकारले निर्णय गरिसकेको छैन । नयाँ बन्ने सरकारले त्यसबारेमा निर्णय गर्ने भनिएको छ तर दलहरूका घोषणापत्रमा विवादास्पद अग्निपथ भर्नाका विषयमा केही पनि बोलिएको छैन ।

भूराजनीतिक जानकार सापकोटा अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चरित्र आक्रामक कूटनीति रहेको उल्लेख गर्दै त्यसलाई नेपालले आफ्नो हितका लागि कसरी उपयोग गर्नेमा ध्यान दिन जरुरी रहेको बताउँछन् । ‘भारत, चीन र अमेरिकाले आक्रामक विदेश नीति अवलम्बन गरिरहेका छन्,’ उनले भने, ‘बदलिँदो भूराजनीतिमा परिस्थिति आफूअनुकूल बनाउन मुलुकहरूले विदेश नीतिमा धेरै मिहिनेत गरिरहेका छन् । तर हामीचाहिँ कहाँ हराइराखेका छौं ? त्यस प्रकारको बहस र छलफल कहाँ छ ? राजनीतिक दलका घोषणापत्रमा त्यस किसिमको कुरा आउन सकेको छैन ।’

भूराजनीतिक जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यात अहिले भारत, चीन, अमेरिका, युरोपलगायत मुलुकहरूको भूराजनीतिक अवस्थालाई हेर्दा नेपालका सबै दल मिलेर एउटै विदेश नीति ल्याउन जरुरी रहेको बताउँछन् । ‘हामीले नेपालको विदेश नीति यसरी लान्छौं भन्ने अवसर दलहरूलाई अहिले थियो । त्यसले मुलुकका लागि राम्रो हुन्थ्यो । विदेशीहरू पनि नेपाल कसरी अघि बढ्न लागेको छ भन्नेमा स्पष्ट हुन्थे,’ उनले भने, ‘हामीलाई पनि विदेश मामिलामा काम गर्न सहज हुन्थ्यो ।’

बस्न्यातले सी चिनफिङ आएपछिको चीनमा परिवर्तन भएको र अब थप ५ वर्षमा चीन झन् बलियो बनेर जाने उल्लेख गर्दै अमेरिकाले भर्खरै राष्ट्रिय सुरक्षा नीति–२०२२ जारी गर्दै आफ्नो आगामी बाटो प्रस्ट पारेको बताए । ‘भारत पनि त्यही रूपमा अघि बढ्न लागेको देखिन्छ,’ उनले भने, ‘हाम्रो अर्को ५ वर्ष भनेको चाहिँ कि ब्रेक कि मेक नेपाल हो । परराष्ट्र नीतिका सम्बन्धमा सबै राजनीतिक दलको एउटै दस्तावेज हुनुपथ्र्यो ।’ बस्न्यातले विश्वमा देखिएका दुई धार (प्रजातान्त्रिक र कम्युनिस्ट) भने नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा देखिन नहुने बताए ।

भूराजनीतिक जानकार चन्द्रदेव भट्ट भने दलहरूले भूराजनीति वा परराष्ट्र सम्बन्धमा छुट्टाछुट्टै धारणा राख्नेभन्दा पनि संविधानमै उल्लेख गरेअनुसारको विदेश नीतिमा चल्नुपर्ने तर्क गर्छन् । ‘नेपालले कस्तो विदेश नीति अपनाउने भन्ने विषयमा संविधानमै उल्लेख छ । दलहरूले आ–आफ्नो हिसाबमा विदेश मामिलाका बारेमा बोल्नु हुन्न,’ उनले भने, ‘दलहरूपिच्छे नै विदेश नीतिबारे बोल्दा मुलुकको संविधान नै कमजोर हुन्छ ।’

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully