काठमाडौं–६ मा ठूला दललाई स्वतन्त्रको भय

सांसदको ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका पूर्वरक्षामन्त्री प्रधानका मुख्य प्रतिस्पर्धी पूर्वप्रहरी महानिरीक्षक खनाल मानिए पनि दुवै जना स्वतन्त्रले दिने चुनौतीलाई लिएर सशंकित छन्
सुदीप कैनी

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं–६ का उम्मेदवारहरूले घरदैलो र प्रचारप्रसारलाई तीव्रता दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका भीमसेनदास प्रधान र एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् ।

काठमाडौं–६ मा ठूला दललाई स्वतन्त्रको भय

तेस्रो पटक सांसद बन्ने दाउमा रहेका पूर्वारक्षामन्त्रीसमेत रहेका प्रधान र पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) खनालबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । प्रधान र खनालसहित यो क्षेत्रमा २४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ११ जना स्वतन्त्र हुन् । प्रधान र खनालबीचको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारहरूले दिने चुनौतीलाई निर्णायक मानिएको छ ।

२०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रका मतदाताबाट अनुमोदित प्रधानको पकड राम्रो रहेको मानिन्छ । तर, स्वतन्त्र उम्मेदवारहरूका कारण उनीमाथि चुनौती थपिएको कांग्रेसका स्थानीय नेता–कार्यकर्ता बताउँछन् । देशभर ‘नो नट अगेन’ अभियान चलेकाले त्यसको प्रभाव काठमाडौं–६ मा पनि पर्न सक्ने अड्कलबाजी उनीहरूको छ । निर्वाचनअघि मात्रै एमाले प्रवेश गरेर उम्मेदवार बने पनि खनाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष साथ सहयोग रहेकाले उनीलाई पनि बलियो उम्मेदवारको रूपमा हेरिएको छ । पार्टी संगठन साथसाथै प्रहरी संगठनमा काम गरेको छवि र नयाँ अनुहार भएकाले पनि खनालप्रति मतदाता आकर्षित हुने एमाले नेता–कार्यकर्ता दाबी गर्छन् । विगत र स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा पनि यो क्षेत्रका वडाहरूमा कांग्रेस, एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षाकर्मी शिशिर खनाल, जनता समाजवादीका मनोज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, नेपाल मजुदर किसान पार्टीका सनकमान महर्जन, मौलिक जिरोकिलो पार्टीबाट कमल न्यौपाने, हाम्रो नेपाली पार्टीका मुकुन्द सिलवाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर सिलवाल, विवेकशील साझाका अजित खड्का, एकीकृत शक्ति नेपालका काजी कार्की र नेपाल आमा पार्टीबाट राजेन्द्र खनाल पनि उम्मेदवार छन् । राजेश श्रेष्ठ मास्के, विष्णुप्रसाद ढकाल, दिपु

उप्रेती, जनकराज थपलिया, सञ्जयमान श्रेष्ठ, प्रेमसागर कर्माचार्य, निर्देश सिलवाल, सानुकान्छा महर्जन, बलबहादुर केसी, किरण इङनाम र खगेन्द्र ढकालले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

काठमाडौं महानगरपालिका–२६, २७ र २८, टोखा नगरपालिका–१, ८, ९, १० र ११, तारकेश्वर नगरपालिका–१, २, ६, ७, ८, ९, १० र ११ यो क्षेत्रमा पर्छन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा वडागत रूपमा कांग्रेसले यो क्षेत्रमा १७ हजार २ सय ७४ मत प्राप्त गरेको थियो भने एमालेले १४ हजार ३ सय ११ मत पाएको थियो । कांग्रेससँगचुनावी गठबन्धनमा रहेको माओवादीको २ हजार ४ सय ६२ मत र एकीकृत समाजवादीले १ हजार ८ सय ५१ मत ल्याएको थियो ।

गठबन्धनमा असन्तुष्टिको कारणले प्रतिनिधिसभामा माओवादीले उम्मेदवारी नदिए पनि प्रदेशसभातर्फ भने उम्मेदवारसहित प्रचारप्रसार जारी राखेको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी तालमेल हुँदासमेत प्रधान १३ सय मतान्तरले विजयी भएका थिए । उनले १६ हजार ७ सय ८५ मत प्राप्त गर्दा माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीले १५ हजार ४ सय ८ मत र विवेकशील साझाका रमेश चिलुवालले ४ हजार २ सय २५ मत ल्याएका थिए । तर, प्रदेशसभातर्फ भने एमाले उम्मेदवारले कांग्रेस उम्मेदवारलाई हराएका थिए । २०७० को संविधानसभा निर्वाचनमा एमालेका योगेश भट्टराईलाई हराएका प्रधान २०६४ मा भने माओवादी उम्मेदवार हितमान शाक्यसँग पराजित भएका थिए ।

पछिल्लो स्थानीय निर्वाचनको मत परिणामका आधारमा प्रधान अगाडि देखिए पनि नयाँ, युवा र स्वतन्त्र उम्मेदवारतर्फ सर्वसाधारणको आर्कषण रहेकाले उनलाई जित निकाल्न सहज भने देखिँदैन । केही स्थानीय युवाले यो क्षेत्रमा पनि २ पटकसम्म सांसद बनिसकेकाहरू दोहोरिन नहुने भन्दै ‘नोट नट अगेन’ अभियान पनि चलाइराखेका छन् । दुई पटकसम्म सांसद, मन्त्रीका रूपमा परीक्षण भइसकेका प्रधान र विवादित पृष्ठभूमि रहेका पूर्वआईजीपी खनालका कारण पनि मतदाताले नयाँ अनुहारको खोजी गरिराखेको स्वतन्त्र उम्मेदवारहरूको तर्क छ । तर, एमालेले प्रदेशदेखि प्रतिनिधिसभामा नयाँ अनुहार अघि सारेकाले पनि त्यसको फाइदा खनालसहितका उम्मेदवारलाई पनि मिल्न सक्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । ‘स्वतन्त्र पार्टीप्रतिको देशभरको आकर्षण, ठूला पार्टीका असन्तुष्ट मत, युवा र नयाँ अनुहार खोजिरहेका मतदाताका कारण म उत्साहित छु,’ उनले भने ।

कांग्रेस उम्मेदवार प्रधानले आफ्नो विरासतका कारण पुनः विजयी हुने विश्वास व्यक्त गरे । ‘पार्टीहरूप्रतिको वितृष्णाका रूपमा स्वतन्त्र उम्मेदवार आएका हुन् तर दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले केही गर्न सक्दैन भन्ने कुरा पनि मतदाताले बुझेका छन्,’ उनले भने । प्रधानले मानवमैत्री निर्वाचन क्षेत्र बनाउने, स्मार्ट सिटी, खानेपानीको व्यवस्था र स्वास्थ्य पूर्वाधार विकासको चुनावी एजेन्डा अघि सारेका छन् । ‘हरपल जनताको साथ विकासमा खास, जनताको जिम्मेवारी, जनअधिकार र जवाफदेहिता हाम्रो नारा हो,’ उनले थपे, ‘खानेपानीको व्यवस्था गर्न काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाको समन्वयमा योजनासमेत अघि बढिसकेको छ, त्यसलाई पूरा गर्नुछ ।’ बालबालिकादेखि वृद्धवृद्धाका लागि हेल्थ क्लब अस्पताल र योगस्थल बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।

एमाले उम्मेदवार खनालले चुनाव प्रचारका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएकाले आफू निर्वाचित हुने दाबी गरे । ‘मेरो उम्मेदवारीले मतदाताहरू खुसी रहेको पाएको छु,’ उनले भने । सडक करिडोर, ठाउँ–ठाउँमा पार्क निर्माण, नमुना समाज निर्माण गर्ने त्यसैभित्र स्वास्थ्य संस्था, विद्यालयलगायत पूर्वाधार निर्माण गरेर सुधार गर्ने उनले जनाए । प्रहरी संगठनमा रहँदा गरेको कामको कारण फरक पार्टीका मतदाताले पनि आफूलाई मत दिने उनले विश्वास व्यक्त गरे । यो क्षेत्रमा ६२ हजार १ सय २ मतदाता छन् ।

...

प्रदेशमा को–को उम्मेदवार ?

काठमाडौं–६ अन्तर्गत २ जना प्रदेशसभा सदस्यका लागि ८ स्वतन्त्रसहित २५ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश–६ (१) मा १० जना र (२) मा १५ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदै छ ।

चुनावी रोचक पक्ष त के छ भने २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार प्रधानले जिते पनि दुवै प्रदेशमा बाम गठबन्धनबाट एमालेका उम्मेदवार विजयी भएका थिए । जसमा केशव स्थापित र योगेन्द्रराज संग्रौला छन् । उनीहरूले ३ हजारभन्दा बढी मतान्तरले कांग्रेस उम्मेदवारलाई हराएका थिए ।

यसपालि क्षेत्र–६ (१) मा सत्ता गठबन्धनबाट काठमाडौं महानगरकी पूर्वउपप्रमुख हरिप्रभा खड्की श्रेष्ठ र एमालेबाट निरेशलाल सिंह महर्जनबीच प्रतिस्पर्धा हुँदै छ । माओवादीबाट रवीन्द्रप्रसाद श्रेष्ठ, राप्रपाका जगत सागर महर्जन, मजदुर किसान पार्टीका देवलक्ष्मी महर्जन, जनता समाजवादी पार्टीका गणेश शाक्य, मौलिक जरोकिलो पार्टीका कल्पना ओझा, राप्रपा नेपालबाट बुद्धकाजी महर्जन र स्वतन्त्र रूपमा योगेन्द्र खतिवडा र सरिता कामी पनि चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

क्षेत्र–६ (२) मा कांग्रेसले विष्णुभक्त तिमिल्सिना र एमालेले अमनकुमार मास्केलाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा तिमिल्सिना संग्रौलासँग पराजित भएका थिए । उनीहरूसहित माओवादीका प्रकाश फुयाँल, राप्रपाका चिराग मानसिंह कुँवर, नेमकिपाका श्यामकुमार महर्जन, जनता समाजवादीका धनरुजी बुढा, मौलिक जिरोकिलोका वासु उप्रेती, माओवादी समाजवादीका कृष्णबहादुर खड्का, राप्रपा नेपालबाट रिजन रम्तेल पनि दौडमा छन् । बबिन्द्र कुमार कार्की, भरत शर्मा, सपना सिम्खडा, प्रमेश श्रेष्ठ, अरुण महर्जन र श्याम नारायण पंगालीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यो क्षेत्रका मतदाताले खानेपानी, सडक, वैज्ञानिक रूपमा फोहोरमैला व्यवस्थापन गर्न सक्ने प्रतिनिधिको खाँचो रहेको औंल्याएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवार मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् ।

प्रकाशित : कार्तिक २१, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?