रसुवा — झुटा सूचना र भ्रमपूर्ण अभिव्यक्तिबाट मतदाताहरूलाई प्रलोभन र प्रभावित नपार्न जिल्ला निर्वाचन कार्यालय रसुवाले उम्मेदवारहरूलाई अनुरोध गरेको छ । जिल्ला निर्वाचन कार्यालय रसुवाले आइतबार पत्रकारहरूका लागि आयोजना गरेको निर्वाचनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उम्मेदवारहरूलाई अनुरोध गरेको हो ।
पछिल्लो समय सामाजिकसञ्जाल तथा विभिन्न सञ्चार माध्यबाट उम्मेदवारका झुटा सूचना र भ्रमपूर्ण अभिव्यक्ति आउने गरेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । झुटा सूचना र भ्रमपूर्ण अभिव्यक्ति नगर्न जिल्लाका दल तथा उम्मेदवारलाई पत्राचार गरिएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए ।
निर्वाचनको समयमा पत्रकारहरूले पालना गर्नुपर्ने आचारसंहिताबारे अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको थियो । त्यस्तै दलहरूबाट हुन सक्ने आचारसंहिताको उल्लंघनको विषयमा पनि छलफल भएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए । मतदाताहरूमा सकारात्मक सन्देश प्रवाह गर्दै स्वतन्त्र रुपमा मतदाताहरूले मतदान गर्न पाउने अवसर सृजना गर्न वातावरण बनाउन जिल्ला निर्वाचन कार्यालयले सबै पत्रकारहरूलाई अनुरोध गरेको छ ।
