शशांकले दिलाउलान् कांग्रेसलाई दोहोरो ‘ह्याट्रिक’ ?

किल्ला भत्काउन खोज्दै एमाले

कार्तिक २०, २०७९

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा दोहोरो ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका कांग्रेस नेता डा. शशांक कोइराला र एमालेका केन्द्रीय नेता कृष्ण पौडेलबीच यसपल्ट कसिलो प्रतिस्पर्धा देखिएको छ । २०४८ पछिका सबै संसदीय निर्वाचनमा लगातार कांग्रेसको बर्चश्व रहेको पूर्वी नवलपरासीमा यसपल्ट फेरि कांग्रेस विजयी भयो भने कांग्रेसको दोहोरो ह्याट्रिक हुने छ ।

लगातार चौंथो पटकका लागि कांग्रेस नेता कोइराला उम्मेदवार छन् । ०४८ पछिका सबै संसदीय निर्वाचनमा कांग्रेस यस क्षेत्रमा विजयी हुँदै आएको छ ।

एमालेले गैंडाकोट नगरपालिका निवासी कृष्ण पौडेललाई उम्मेदवार बनाएको छ । उनी संविधानसभा सदस्य हुन् । यसपल्ट कांग्रेसको किल्ला भत्काउन एमालेले सबै शक्ति खर्चेको छ । यसअघिको चुनावमा गण्डकी प्रदेशका ११ जिल्लामा कांग्रेसबाट प्रतिनिधिसभामा विजयी हुने कोइराला एक्ला थिए । उनीबाहेक कांग्रेसका कुनै उम्मेदवारले ०७४ को निर्वाचनमा प्रतिनिधिसभामा जितेनन् । ०४८ देखियताका सबै संसदीय निर्वाचन र गत स्थानीय तहको निर्वाचनमा दुई दलले प्राप्त गरेको मतका आधारमा यसपल्ट पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने देखिएको छ । ०४८ यताका सबै संसदीय निर्वाचनमा एकछत्र विजयी हुँदै आएको कांग्रेसलाई योपल्ट स्वतन्त्र उम्मेदवार टाउको दुखाइको विषय बनेका छन् । कांग्रेस छाडेर गएकी ती उम्मेदवारले कांग्रेसको मत काट्ने आकलन गरिएको छ । राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम, अर्का स्वतन्त्र उम्मेदवार तुलसी भुसालले कांग्रेसका मत काट्दा एमालेलाई सजिलो हुने छ ।

लगातार तीनपल्ट निर्वाचन जितिसक्दा पनि कोइरालाले यथेष्ट काम गर्न नसकेको एमालेले आरोप लगाउँदै आएको छ । यता कांग्रेसले एमालेकै कारण देशमा अस्थिरता भएको र झण्डै २ तिहाइको वाम सरकार हुँदा पनि सत्ता सञ्चालन गर्न नसेको उदाहरण दिँदै आफैलाई विजयी बनाउन अपिल गरेको छ । यसअघिका लगातार तीनवटा निर्वाचनमा विजयी भइसकेका कोइराला योपल्ट सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवार हुन् । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट माओवादी केन्द्रका भविश्वर पराजुली उम्मेदवार थिए । त्यतिबेला कोइराला ४ हजार २४ मतान्तरले विजयी भएका थिए । यसपल्ट स्थिति केही फेरिएको छ । करिब ४५ वर्षसम्म कांग्रेसको सक्रिय राजनीतिमा रहेर राप्रपा प्रवेश गर्दै प्रतिनिधिसभामा उम्मेदवार बनेका प्राध्यापक डा मोहनीलाल भुसालले कांग्रेसकै मत काटने आकलन सहित एमाले हौसिएको छ । यसै क्षेत्रमा कांग्रसकै नेविसंघको राजनीतिक पृष्ठभूमिबाट आएका चित्रध्वज जीसी प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले पुराना नेताबाट केही उपलब्धि नभएको र राजनीतिमा पुस्ता हस्तान्तरणकालागि आफनो उम्मेदवारी रहेको बताउँदै आएका छन् ।

प्राध्यापक झविन्द्रेश्वर भुसाल कांग्रेसको मजबुत संगठनको आधारका कारण यसपल्ट पनि डा कोइराला विजयी हुने दावी गर्छन् । शशांक कांग्रेस भित्र सबैका स्विकार्य नेता भएका कारण कसैबाट पनि घात अन्तरघात नहुने कारण विजय निश्चित रहेको दाबी उनको छ । राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने र पार्टी नेतृृत्वमा फेरि स्थापित हुन सक्ने भएकै कारण शशांकको जनाधार बलियो रहेको भुसालको तर्क छ । त्यसमाथि ०७४ को निर्वाचनमा माओवादी र जनमोर्चाले समानुपातिकतर्फ पाएको ६ हजार २ सय २० मत योपल्ट अझ बढ्ने अनुमान कांग्रेसको छ । त्यसमा पाँच दलीय गठबन्धन बलियो र भरपर्दो आधार भएको कांग्रेसको तर्क छ ।

गत स्थानीय तहमा क्षेत्र नं. १ मा रहेका ५२ वटा वडाबाट एमाले र कांग्रेसको मतान्तर ५ सय ९९ मत रहेको छ । कांग्रेसभन्दा एमालेले ५ सय ९९ मत बढी पाएको हो । यता माओवादी केन्द्रले स्थानीय तहमा पाएको १९ सय २१ मत र जनमोर्चा समेतले प्राप्त गरेको ६ सय ८७ मत गठबन्धनकै पक्षमा देखिन्छ । पाँच दलीय गठबन्धनले स्थानीय तहमा पाएको मत विश्लेषण गर्दा एमाले भन्दा कांग्रेसले २ हजार ९ मत बढी पाएको छ । यद्यपि माओवादी केन्द्रले धैरै वडामा उम्मेदवारी नदिएका कारण त्यो मत अझ बढ्न सक्छ । एमाले नेता खिमानन्द भुसाल यसपल्ट कोइरालासँग मतदाताको मोहभंग भएको दाबी गर्छन् । पार्टी भित्र महामन्त्री भइसकेका व्यक्ति लगातार तीनपल्ट विजयी भइसक्दा पनि कोइरालाले जनचाहना अनुसार काम गर्न नसकेको गुनासो छ । उनी भन्छन्, ‘गाउँका मतदातामा सांसद नीति निर्माणका लागि जाने हुन् भन्ने कुरा बुझाउन सकिएको छैन । विकाससँग जोडेर हेर्ने आममतदाताको अपेक्षा कोइरालावाट पूरा भएको छैन ।’

आक्रामक चुनाव प्रचारमा निस्केका कोइरालाले आफ्नो चुनावी अस्त्रका रुपमा गैंडाकोटमा अन्तर्राष्ट्रियस्तरको रंगशाला, देवचुली नगरपाकिलामा ट्रमा सेन्टर स्थापना, निर्माणाधिन कालीगण्डकी करिडोर, कावासोतीलाई सदरमुकाम बनाउन आवश्यक संरचना निर्माणजस्ता योजना आफैले सुरु गरिसकेको बताउने गरेका छन् । एमालेका उम्मेदवार पौडेल कांग्रेसका कोइरालाले तेस्रोपल्ट निर्वाचन जितिसक्दा पनि काम गर्न नसकेका कारण अब आफुले पालो पाउनुपर्ने बताउँछन् । कांग्रेसले गत तीनवटा निर्वाचनमा एउटै प्रभावशाली उम्मेदवार जिताउँदा पनि गरेका बाचा पूरा नगरेको आरोप छ । सधै कांग्रेसकै सत्ता थियो र त्यसका प्रभावशाली नेता कोइरालाले पटकपटक जित्दा पनि उल्लेख्य काम हुन नसकेका कारण अब स्थानीयले जित्न पर्ने पौडेलको दाबी छ ।

एमाले जसरी पनि कांग्रेको किल्ला भत्काउने दाउमा छ भने कांग्रेस कार्यकर्ता दोहोरो ‘ह्याट्रिक’ गर्ने भन्दै हौसिएको छ । स्थानीय उम्मेदवारको आवश्यकता भनेर एमालेले स्थानीय उम्मेदवारको मुद्दालाई प्राथमिकता दिएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सबै ६ वटा क्षेत्रमा (प्रदेश सभा समेत)मा एमाले एक्लै उम्मेदवारी दिएको छ भने क्षेत्र नम्बर १ को १ मा प्रदेशसभा सदस्य सहित दुबै संघीय निर्वाचनमा कांग्रेसले उम्मेदवारी पाएको छ । यहाँका २ वटा प्रदेशसभामा माओवादी केन्द्र र एउटामा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully