काठमाडौं- ५ : जोगाउने र भत्काउने प्रतिस्पर्धा

कांग्रेसका नेता-कार्यकर्ताहरूले ईश्वर पोखरेललाई विवादित नेताको आरोप लगाउँदै आएका छन् भने प्रदीप पौडेललाई एमाले नेता-कार्यकर्ता टुरिस्ट उम्मेदवार भन्दै आलोचना गर्दैछन् ।

कार्तिक २०, २०७९

कुलचन्द्र न्यौपाने

काठमाडौँ — एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलबीच काठमाडौं–५को चुनावी प्रतिस्पर्धा आक्रमक बन्दै गएको छ । दुवै दलका नेता तथा कार्यकर्ताले राजनीतिक एजेण्डा र मुद्दालाई भन्दा ‘नयाँ कि पुरानो ?’ , ‘स्थानीय’ कि ‘टुरिस्ट ?’, ‘परिवर्तनकारी कि यथास्थितीवादी ?’, ‘युवा कि वृद्ध ?’ जस्ता प्रश्नहरूको सामना गर्नु परेको छ ।

गृहजिल्ला तनहुँ–२ बाट सिफारिस भएका कांग्रेसका पौडेललाई पार्टीले काठमाडौं–५ मा उम्मेदवार बनाएपछि उनको विरोधमा प्रतिस्पर्धीले ‘टुरिस्ट’ उम्मेदवारको ‘ट्याग’ भिराइदिएका छन् । त्यसको प्रतिवाद गर्दै प्रदीपले आफ्नो ३२ वर्षको राजनीतिक जीवन नै राजधानीमा बिताएको बताउने गरेका छन् । विद्यार्थी जीवनदेखि राजधानीलाई केन्द्र बनाएर संघर्षमा होमिएको बताउने पौडेलले आफूलाई ‘टेष्टेड नभएको, युवा र केही गरौं भन्ने हुटहुटी बोक्ने परिवर्तनकामी र युवा जोश भएको उम्मेदवार’को रुपमा आफूलाई अघि सारेका छन् ।

निर्वाचन क्षेत्रमा आफूले गरेका विकास निर्माण, राष्ट्रिय राजनीति, स्थानीय तहमा निर्वाह गरेको भूमिका र पार्टीको संगठनलाई पोखरेलले आफ्नो बलियो पक्ष ठानेका छन् । सतहमा जे भने पनि भित्रैबाट दुवै उम्मेदवार ‘ढुक्क’ बन्न सकेका छैनन् । काठमाडौं महानगरपालिकामा बालेन शाहको उदयले निम्ताएको तरंग यसपटकको निर्वाचनमा समेत देखिएको छ । राजनीतिक दलका विकल्पमा खडा गरिएको स्वतन्त्रहरूको अभियानले मतदातामा कस्ता तरंग ल्याउन सक्ला भन्ने अनुमान अहिल्यै गर्न कठिनाइ छ । यतिबेला मैदानमा मुख्य प्रतिस्पर्धी पोखरेल र प्रदीप देखिन्छन् तर जित निकाल्न स्वतन्त्रहरू उम्मेदवारको प्रभाव मतदातामा कस्तो पर्छ भन्ने विषयले निर्धारण गर्ने देखिन्छ । 

‘परिवर्तनका नाममा दलको विकल्प सह्य हुन्न’- पोखरेल

यस क्षेत्रमा कांग्रेस, एमाले, जसपा, मनजदुर किसान पार्टी, लोसपा, राप्रपा, स्वतन्त्र पार्टीसहति ३० जनाको उम्मेदवार छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका प्रणयशम्सेर राणा विगतमा कांग्रेस पृष्ठभूमिमा थिए भने अर्का स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठ एमालेमा थिए । स्वतन्त्र पार्टीको कार्यक्रममा भाषण गरेको भनेर राणालाई कांग्रेसले कारबाही गरेको थियो । अहिले रवि लामिछाने नेतृत्ववको पार्टीबाट चुनाव लड्दा उनले कांग्रेसको मत काट्छन् कि भन्ने चिन्ता कांग्रेसलाई छ भने श्रेष्ठले एमालेको मत काट्ने चिन्ता छ । यसै क्षेत्रमा विवेकशील पार्टी त्यागेर रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । यसै क्षेत्रमा जन्मेको, हुर्केको र अध्ययन गरेको भन्दै उनले मत मागिरहेकी छन् । २०७४ मा विवेकशीलबाट काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्दा करिब २४ हजार मत ल्याएकी थिइन् ।

यस्तै अर्का युवा नेता श्री गुरुङले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । पर्यटन व्यवसायीसमेत रहेका गुरुङ पर्यटनलाई प्रमुख मुद्दा बनाएर निर्वाचनमा होमिएका हुन् ।

०७९ को स्थानीय तहको मतलाई आधार मान्ने हो भने काठमाडौं–५ को निर्वाचन क्षेत्रमा एमाले बलियो देखिन्छ । वडा अध्यक्षहरूले प्राप्त गरेको मत जोड्दा प्रतिस्पर्धी कांग्रेसभन्दा एमाले ५ हजार मतले अगाडि छ । प्रदीपका लागि सबैभन्दा ठूलो बल नरहरि आचार्यको विरासत मानिन्छ । त्यसो त, उम्मेदवार मनोनयनलगत्तै उनले निवासमै पुगेर नरहरिको 'आर्शिवाद' मात्रै लिएनन्, उनको पछ्याएको राजनीतिक आदर्श र विचारमा हिँड्ने बाचा पनि गरेका छन् । आचार्य यस क्षेत्रबाट ०६४ र ०७० का दुवै संविधानसभा निर्वाचनमा विजयी भएका थिए । ती दुवै प्रतिस्पर्धामा एमाले नेता ईश्वर पोखरेल नै निकटतम प्रतिद्वन्द्वी थिए । त्यतिबेला आचार्य पार्टीको केन्द्रीय सदस्य थिए भने पोखरेल महासचिव । हाल पौडेल केन्द्रीय सदस्य हुन् भने पोखरेल बरिष्ठ उपाध्यक्ष ।

पार्टीका शीर्ष व्यक्तित्वसँगको प्रतिस्पर्धा पौडेलका लागि भारी हुने तर्क चलिरहेका बेला पौडेलका चुनावी प्रचार प्रसारसमितिका संयोजक रामचन्द्र घिमिरे नरहरिकै उदाहरण दिन्छन् । ‘मैदानमा आएपछि उम्मेदवार पार्टीको कुन पदमा र कुन तहको हो भन्ने कुराले अर्थ राख्दैन । त्यसो हुन्थ्यो भने नरहरि दाईले चुनावै जित्नु हुन्थेन,’ उनी भन्छन,‘काठमाडौंका मतदातामा उम्मेदवार कस्तो हो भन्ने कुराले धेरै अर्थ राख्छ ।’ उनको विचारमा पोखरेल ‘टेष्टेड’ र छवि धुमिल्याएका नेता हुन् भने प्रदीप ‘टेष्ट’ नभइसकेका कांग्रेसमा सम्भावना बोकेका नेता हुन् ।

एमालेको चुनाव परिचालन समितिको कमाण्ड सम्हालेकी नेतृ शान्ति अधिकारी भने यस तर्कलाई मान्न तयार छैनन् । कांग्रेसको महामन्त्रीमा प्रतिस्पर्धा गरिरहेको र जन्मथलो तनहुँमा चुनाव लडिसकेकाले प्रदीपलाई ‘टेष्ट’ नभएको नेताका रुपमा चित्रण गर्नु स्वभाविक नभएको बताउँछिन् ।

‘मुद्दाका हिसाबले मेरो अनुहारमा पनि स्वतन्त्रको प्रतिबिम्ब देखिन्छ’- पौडेल

०७४ मा प्रदीप तनहुँको निर्वाचन क्षेत्र २ को प्रदेश निर्वाचन क्षेत्र १ बाट चुनावी प्रतिस्पर्धा गर्दा जम्मा ५ मतले पराजित भएका थिए । यसपटक पनि उनी आफ्नै गृहजिल्लामा चुनाव लड्न चाहन्थे, तर उम्मेदवार व्यवस्थापनमा कठिनाइ परेपछि उनलाई काठमाडौंमा उम्मेदवार बनाइएको हो । यसलाई एमालेले ‘टुरिस्ट’ उम्मेदवार भनेर चुनावी लाभ लिन खोजिरहेको छ ।

स्वास्थ्यका कारण नरहरिले ०७४ देखि नै चुनावी प्रतिस्पर्धा गरेनन् । अहिले त उनी राजनीतिबाटै विश्राम लिएका छन् । नरहरिको विश्रामले पोखरेलको राजनीति उचाइलाई बल पुर्‍याएको एमालेकै कतिपय नेताहरू बताउँछन् । ०७४ मा कांग्रेसले हालका पार्टी प्रवक्ता प्रकाशशरण महतलाई टिकट दिएको थियो । तर पोखरेलसँग उनी झन्डै १० हजार अन्तरमा पराजित भएका थिए । 

यसपटक भने ईश्वर र प्रदीप दुवै एकअर्काका मुख्य प्रतिस्पर्धी हुन् । दुवैले मतदाता आफूतिर तान्न आक्रमक ढंगको प्रचार पनि गरिरहेका छन् । एमाले कार्यकर्ताहरू प्रदीपलाई ‘टुरिस्ट’ उम्मेदवारका रुपमा प्रचार गरिरहेका छन् भने कांग्रेस कार्यकर्ताहरू ईश्वरप्रति आर्थिक अनियमिता र राजनीतिक बेथितिको विषयलाई चुनावी मुद्दा बनाइरहेका छन् । ‘ईश्वर पोखरेलले जित्ने कुरा भ्रष्टाचार र बेथितिलाई जनअनुमोदित गर्ने कुरा हो,’ हरेक कार्यक्रममा प्रदीप भन्ने गर्छन् ।

तर पोखरेलविरुद्ध भ्रष्टाचारको आरोप लगाइनु गलत भएको तर्क गर्छिन् एमाले नेतृ अधिकारी । अप्रमाणित विषयलाई चुनावी मसला बनाइने अनैतिक हर्कत कांग्रेसले गरिरहेको उनले दाबी गरिन् ।

‘बिना प्रमाण भ्रष्टाचारको आरोप लगाउनुको कुनै अर्थ छैन । भ्रष्टाचार गरेको भए कि त अख्तियारले मुद्दा चलाउनु पर्‍यो । कि जेल गएको हुनुपर्‍यो । नभए यस्ता अप्रमाणित विषय उठाउनुको कुनै अर्थ छैन,’ उनी भन्छिन्,‘बरु स्थानीय मतदाताले जन्मथलो छाडेर किन काठमाडौंमा निर्वाचन लड्न आउनु भएको भनेर प्रश्न गरिरहेका छन् ।’ 

कांग्रेस निकट प्राध्यापक हरिदर्शन श्रेष्ठ भने एमालेको उक्त चुनावी प्रचारले कांग्रेसमा कुनै असर नपारेको दाबी गर्छन् । ‘काठमाडौं–५ का कांग्रेस मतदातालाई जो आए पनि बाहिरकै उम्मेदवार आउँछन् भन्ने मनोविज्ञान परिसकेको थियो । विद्यार्थी राजनीतिदेखि नै काठमाडौंलाई केन्द्रमा राखेर राजनीति गरेकाले प्रदीपलाई ठूलो समस्या परेन,’ उनले भने,‘नरहरिजीले यस क्षेत्रका अधिकांश मान्छेलाई चिन्नुहुन्थ्यो । प्रदीपलाई सुरुमा केही समस्या भयो । तर अहिले समस्या छैन ।’

स्थानीयसमेत रहेका  श्रेष्ठका अनुसार क्षेत्रमा करिब १० हजार मत ‘न्यूट्रल’ छन् । तिनै मतदाताले अन्तिम घडीमा लिने भूमिकाले जित-हारको निर्धारण गर्छ । ती मतदाता कस्ता होलान् त ? यस क्षेत्रमा अति सम्पन्न र शिक्षित मतदातादेखि सुकुम्बासी र अति विपन्न वर्गका मतदातासमेत छन् । करिब ६ हजार मत सुकुम्बासीका छन् । काठमाडौं महानगरपालिका–३, ४ र बूढानीलकण्ठ नगरपालिका–७ मा सुकुम्बासी बस्ती पर्छ । यी बस्तीमा चलखेल हुनसक्ने भय दुवै तर्फका उम्मेदवारलाई छ ।

अर्कोतर्फ बालुवाटारको काठमाडौं–४ मा सबैभन्दा बढी मतदाता छन् र यसै वडाका मतदाता सबैभन्दा बढी सचेत र शिक्षित पनि मानिन्छन् । उनीहरूको भूमिकाले सिंगो ५ नं क्षेत्रकै नतिजा प्रभावित बनाउन सक्ने आकलन उम्मेदवारहरूको छ । ‘हामीले यसै वडालाई बढी केन्द्रित गरेर जुटेका छौं,’ कांग्रेसका प्रचार समितिका संयोजक आचार्यले भने,‘त्यसपछि काठमाडौं–३ र टोखा नगरपालिकाको २ र ३  मा हाम्रो फोकस छ । 

एमाले नेतृ अधिकारीेले भने आफूहरूले सबै क्षेत्रका मतदातालाई समान प्राथमिकता दिएको बताउँछिन् । राजधानीमा खाल्टाखुल्टी पुर्नुदेखि सडकको पिच, खानेपानीको बन्दोबस्त, फोहर व्यवस्थापनजस्ता मुद्दा छन् । वर्षामा टुकुचा खोलाले दिने सास्ती, सुकुम्बासीको व्यवस्थापन समेत यस क्षेत्रका चुनावी मुद्दा हुन् । यस क्षेत्रमा करिब साढे ७१ हजार मतदाता छन् । स्थानीय तहको निर्वाचनपछि करिब ३५ सय नयाँ मतदाता थपिएका छन् ।

आमनिर्वाचन २०७९

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully