कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१
अन्तर्वार्ता

‘परिवर्तनका नाममा दलको विकल्प सह्य हुन्न’

१८ सिटमा उम्मेदवारी दिनेले देशको नेतृत्व गर्छु, ४४ सिटमा उम्मेदवारी दिनेले देशको प्रधानमन्त्री हुन्छु भन्छन्, कम्युनिस्टको मुख्य प्रतिद्वन्द्वी कांग्रेसले जम्मा ८४ सिटमा उम्मेदवारी दिएर नेतृत्व गर्छु भन्छ । यो अनौठो छ ।
एमालेले प्रस्ट बहुमत ल्याउँछ । तपाईंहरूले पत्याउनु भएको छैन । हेर्दै जानुहोला ।
संसद्, सरकार र न्यायालयको अवस्था हेर्दा यो गठबन्धन कुशासन, विकृति र विसंगतिका लागि मात्रै रहेछ भन्ने प्रमाणित भएको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारहरूको चुनावी प्रचारप्रसार तीव्र भएको छ । निर्वाचन आयोगले बिहीबारदेखि दलहरूलाई ठूला चुनावीसभासमेत गर्न सक्ने गरी समय दिइसकेको छ । दलका उम्मेदवारहरू आ-आफ्ना चुनावी घोषणापत्रहरू बोकेर जनताको घरदैलोमा गइरहेका छन् ।

‘परिवर्तनका नाममा दलको विकल्प सह्य हुन्न’

मुख्यतः कांग्रेस नेतृत्वको सत्तागठबन्धन र एमाले नेतृत्वको अर्को गठबन्धन बनेको छ । यस्ता गठबन्धनलाई चुनौती दिनेगरी कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धाको मैदानमा छन् । यसै सन्दर्भमा काठमाडौं-५ मा प्रतिनिधिसभामा उम्मेदवार समेत रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानी:

तपाईंको चुनावी अभियान कसरी चलिरहेको छ ?

विशेष योजना बनाएर जनताका बीचमा गएका छौं । मतदाता र उम्मेदवारबीच संवाद गर्ने पहिलो चरणको काम पूरा गरेका छौं । मतदाताले सुझाव दिनुभयो, विगतमा भएका कामबारे टिकाटिप्पणी गर्नुभयो । कतिपय कुरा सहि पनि छन् । कतिपय गलत सूचना वा आग्रहका आधारमा आएका हुन्छन् ।

मतदाताले तपाईंप्रति गरेको अपेक्षा र उनीहरूका भावना कस्तो पाउनु भयो त ?

काठमाडौं-५ मा लामो समयदेखि बसोबास गरेको हुँ । यहिँको विकास निर्माण, सुख दु: ख, सामाजिक गतिविधिमा संलग्न छु । पार्टीको महत्वपूर्ण जिम्मेवारीमा भएपनि मेरो सम्बन्ध, सम्पर्क आम रुपमा यहाँका निर्वाचन क्षेत्रका जनतासँग छ । बसाईपनि यहिँ छ । वर्षौंदेखि यहि क्षेत्रमा बसोबास गरेको छु । यो मेरो लागि सवल पाटो हो । तर, पनि जनताका बीचमा जाँदा उहाँहरुले भेट भएन, बीचमा आउनु भएन भन्ने गुनासो पनि गर्नुहुन्छ । सुझाव पनि दिनुहुन्छ । त्यसलाई मैले सकारात्मक लिएको छु । यस बीचमा जननिर्वाचित प्रतिनिधि र जनताका बीचमा संवाद गराउने संयन्त्र (ब्रिजिङ) को अभाव भएको अनुभव पनि भयो । म नेकपा एमालेबाट निर्वाचित सांसद भए । मलाई यस क्षेत्रका जनताले कहाँ भेट्ने ? भेट्न कि मेरो घरमा आउनु पर्‍यो, मन्त्री भए मन्त्रालयमा जानुपर्‍यो । नत्र, कहाँ जाने त ? सबैलाई पार्टी कार्यालय, घर जान सहज हुन्न । जनता र जनप्रतिनिधिको नियमित संवादको संरचनागत व्यवस्था हुनपर्छ भभन्ने कुरा खड्किएको छ । स्थानीय तहमा निर्वाचितहरुको वडा कार्यालय हुन्छ । जुनसुकै पार्टीबाट निर्वाचित भएपनि वडा कार्यालयमा साझा हुन्छ । भेट्ने र आफ्ना कुरा राख्न त्यहाँ कुनै समस्या भएन । तर प्रदेश र प्रतिनिधिसभाका प्रतिनिधिहरुलाई समस्या भयो । यसले जनप्रतिनिधि संस्थाको पनि कार्यालयमा चाहिने रहेछ भन्ने आवश्यकताबोध भयो । अब, हाम्रो निर्वाचन क्षेत्रका जतिपनि जनप्रतिनिधिमुलुक इकाई छन्, उनीहरुलाई जनता र जनप्रतिनिधिको भेटघाट गर्ने साझा थलोको रुपमा विकास गर्ने योजना पनि बनाएका छौं ।

अन्यन्त्रको तुलनामा राजधानीका मतदाताको चरित्र फरक देखिन्छ । यसपटक परिवर्तनको हावा समेत चलेको छ । त्यसले तपाईंहरुलाई कतिको अप्ठयारो पारेको छ ?

आमरुपमा काठमाडौंमा मतदाताको बारेमा एउटा टिप्पणी छ । तर, यो निर्वाचन क्षेत्रका मतदाताले आफ्नो विवेक पुर्‍याउँछन् । सही कुराको जानकारी राख्छन् । सत्यको पक्षमा उभिन्छन् । छिटोछिटो भइरहेको परिवर्तनले प्रभावित पनि पार्छ, त्यो कहिले सकारात्मक कुराले हुन्छ त कहिले नकारात्मक कुराले । त्यसबेला राजनीतिक दल र जनप्रतिनिधिहरुले छिटो तत्काल ‘रेस्पोन्स’ गर्ने र जनतालाई यथार्थ जानकारी गराउनु पर्छ । हाम्रा एमालेका संगठनहरु क्रियाशील भएको बेला जनतालाई सुसूचित गराउने काम गर्दै आएका छौं । भोट ‘सुईङ’ हुने बारेमा सचेत गराउने गरेका छौं ।

काठमाडौमा परिवर्तनको हुन्डरी चल्दै आएको छ । तपाईंहरुको विकल्प खोज्न स्वतन्त्र उम्मेदवारहरुको अभियान नै छ । यसले कतिको चूनौति बढाएको छ ?

परिवर्तन भनेको के हो ? युवा पुस्ता भनेको एउटा पाटो हो, नयाँ भनेको विचार हो । शारीरिक उमेरले होइन, चिन्तन, सोचले नयाँ हुनुपर्‍यो । नयाँ भन्ने तर सोंच पुरानै भयो भने केको परिवर्तन ? काम गर्ने शैलीमा विचार र गतिविधिमा नवीनता भएन भने शारीरिक उमेरले मात्रै युवा र नयाँ भन्ने हुन्न ।

स्वतन्त्र उम्मेदवाहरुहरुले तपाईंहरुलाई चूनौति दिन सक्ने देख्नु हुन्न ?

स्वतन्त्रको नामबाट धेरै साथीहरु उठ्नु भएको छ । एउटा त संविधानले दिएको अधिकार प्रयोग गरेर कुनैपनि योग्यता पुगेको नागरिकले जनताको अभिमत लिन्छु भनेर उम्मेदवार हुनुलाई अन्यथा लिन मिल्दैन । दोस्रो, राजनीतिप्रति वितृष्णाको लहर चल्छ कि भन्ने चलिरहेका बेला राजनीतिमा रुची राखेर आउने कुरा राम्रो पनि हो । नयाँ ढंगले नयाँ कुराहरु आउँछन् भने त्यसलाई स्वागत गर्नुपर्छ । तर दलीय प्रणालीलाई कमजोर बनाएर कुनै अर्को सोचलाई प्रभावित बनाउने हिसाबले प्रयत्न गरिएको हो भने त्यो गलत हुन्छ । लोकतान्त्रिक प्रणालीमा एउटा दलले कमजोरी गर्‍यो भने अर्को दल आउँछ । कम्युनिस्टले ठिक ढंगले काम गरेन भने कांग्रेस आउँछ । कांग्रेसले ठिक ढंगले काम गरेन भने कम्युनिस्ट आउँछ । वा यी दुई दलको विकल्पमा अर्को दल आउला । एउटा नेता भ्रष्ट भयो भने अर्को नेता आउला । योग्यता र क्षमता प्रदर्शन गरेर श्रेष्ठता हासिल गर्ने मान्यता हो भने हामीहरु किन आत्तिनुपर्छ र ? आत्तिनुपर्ने अवस्था छैन् । दलीय प्रणालीलाई कमजोरी बनाउने र अर्को सोचका साथ गतिविधि गर्न खोजिएको हो भने त्यसलाई सहन सकिन्न ।

स्वतन्त्र उम्मेदवारको बहार आएको हो कि भन्ने जस्तो लाग्छ ? तपाईंहरु मैदानमा हुनुहुन्छ । तपाईंहरुलाई चुनौती बढेको अनुभव भइरहेको छ कि छैन् ?

साथीहरु उठ्नु भएको छ । त्यस्तो देखिएको छैन । प्रचार मै पनि बाहिर निस्कनु भएको छ । हामी आचारसंहितालाई पूर्ण पालना गरेका छौं । शुक्रबारदेखि मात्रै हामीहरु बाहिर निस्केका छौं ।

तपाईंले आफूलाई यस क्षेत्रमा सबैभन्दा बलियो उम्मेदवारको रुपमा प्रस्तुत गर्नुभएको छ । कांग्रेसले नयाँ, ‘टेष्ट’ नभएका युवा उम्मेदवार प्रदीप पौडेललाई अघि सारेको छ । कांग्रेसमा नयाँ अनुहार त्यसमा पनि युवालाई अघि सार्दा तपाईंका लागि चुनौतीको भारी कतिको पर्ने देख्नुहुन्छ ?

प्रतिस्पर्धाको कुरा हो, प्रतिस्पर्धामा सामेल हुनेहरुले म प्रतिस्पर्धामा छु भन्ने कुरा बुझ्नुपर्छ । त्यसलाई मैले बुझेको छु । उम्मेदवारको हिसाबले यस क्षेत्रमा म नयाँ होइन । म कुनै अरु ठाउँको मतदाता डुल्दाडुल्दै उम्मेदवार बन्न आएको पनि होइन । यहि ठाउँको मतदाता हुँ । यहाँका जनतासँग मेरो लामो समयदेखि परिचय छ । मेरा अब्बल कुराहरु देख्नु भएको छ, कमजोरी छन् भने पनि त्यो पनि खुलस्त टिकाटिप्पणी गर्नुहुन्छ । मैले गरेका विकास निर्माणका कामहरु र मेरो भूमिकाका बारेमा सबैलाई जानकारी छ । म नेकपा एमाले र एमालेका विचारको प्रतिनिधित्व गर्छु । राष्ट्रिय राजनीतिमा एमालेले जुन राजनीतिक ‘पोल’ को नेतृत्व गर्छ, त्यो पोलको म जिम्मेवार नेता पनि हुँ । सांगठनिक अवस्थाले तुलानात्मक रुपमा क्षेत्र नम्बर ५ मा सबल ठाउँ पनि हो । स्थानीय तहको निर्वाचनकै परिणामले पनि आधार र प्रमाण दिएको छ । यी कारणले एमालेको यस क्षेत्रमा वर्चस्व छ, रहन्छ भन्नेमा म विश्वस्त छु ।

कांग्रेसका उम्मेदवार प्रदीप पौडेललाई तपाईंले कतिको चुनौतिका रुपमा हेर्नु भएको छ त ?

मेरो प्रतिस्पर्धामा आउने जोसुकै साथीहरुको बारेमा अन्यथा टिप्पणी गर्दिन । जोसुकै पनि सबल र दुर्लभसहित आएको हुन्छ । एमाले काठमाडौं–५ मा विचार, परिचय, गतिविधि, कार्यक्रम, योगदान र यहाँका जनताको सहभागिता र संलग्नताको हिसाबले एमाले नै अघि रहेको छ । अरुको खण्डन भन्दापनि आफ्ना प्रस्तावहरु के हुन् त्यो अघि राख्नु उचित हुन्छ । मैले त्यसै गरेको छु । यो निर्वाचन पछि म के काम गर्छु । हिजो निर्वाचित भएर के गरे, भोलि के गर्छु भन्ने कुरा राख्दै आएको छु ।

तपाईंले के गर्छु भनेर चुनावमा होमिनु भएको छ त ?

म विगतमा चुनाव लड्दा महासचिव थिए । अहिले बरिष्ठ उपाध्यक्ष छु । एउटा केन्द्रीय तहको नेता भएकाले पार्टीको हिसाबले केन्द्रीय तहका काम गर्नुपर्ने हुन्छ । सरकारमा छँदापनि प्रधानमन्त्रीपछिको दोस्रो वरियातमा रहेर उपप्रधानमन्त्री थिए । मैले गर्नुपर्ने नीति तथा कार्यक्रम, बजेट, कानून र योजनाका विषयमा ध्यान दिनुपर्दथ्यो । देशभरका गतिविधिमा संलग्न हुनुपर्दथ्यो । अर्को पाटो स्थानीय तहमा यहाँका जनप्रतिनिधि भएकाले यो क्षेत्रको विकास निर्माणको काम, यहाँका जनताको सुखदुःखमा पनि आफूलाई संलग्न गराउनुपर्दथ्यो । यी दुवै भूमिका मैले निर्वाह गर्दै आएको छु ।

तपाईंको प्रतिस्पर्धामा कांग्रेसका उम्मेदवार मात्रै छैनन् । त्यसका पछि सत्ता गठबन्धनका सबै दल छन् । संसदीय निर्वाचनको प्रकृति फरक हुने भएकाले स्थानीय तहमा पाएको मत यसपटक आउला भन्ने ग्यारेन्टी कसैको देखिन्न । भित्रभित्रै तपाईंलाई सत्ता गठबन्धनको मनोवैज्ञानिक त्रास त बढेको होला नि ?

स्थानीय तहमा पनि त गठबन्धन थियो । त्यतिमात्रै होइन, हाम्रै पार्टीमा लामो समय भूमिका खेलका साथीहरु गठबन्धनको सारथी भएर निस्किए । त्यति हुँदाहुँदै पनि १५ वटा वडामध्ये ११ वडामा अध्यक्षसहित हामीले विजय प्राप्त गरेका छौं । तीनवटा वडामा बहुमत सदस्य जितेका छौं । एउटा वडामा मात्रै पुरै ‘प्यानल’ हारेका छौं । स्थानीय तहमा पनि गठबन्धनको मनोवैज्ञानिक त्रास थियो । त्यतिबेला हामीलाई थर्काउने गरी धूलोमा मिलाईदिन्छौं भनिएको थियो । तर हामी यो अवस्थामा आयौं । संगठनको तागतमा आएको मत थियो ।

यो क्षेत्रमा ५ देखि ७ हजार मत सुकुम्बासी बस्तीको छ । सुकुम्बासीहरुका लागि तपाईहरुले केही गर्नु भएन भन्ने गुनासो पनि रहेछ नि ?

सुकुम्बासी समस्या समाधान गर्नकै लागि केपी ओली नेतृत्वको सरकार छँदा भूमि आयोग बनाउने हामी नै हौं । भूमि आयोगले देशभर कहिँ–केही नभएका सुकुम्बासीको गाँस,बासको व्यवस्था .कसरी गर्ने भन्ने र अर्को असुक्षित र अव्यवस्थित बसोबास गर्नेहरुलाई व्यवस्थित कसरी गर्ने भन्नेबारेमा आयोगले काम गर्‍यो । आयोगलाई कानून सम्मत काम गर्न कानून बनाउन काममा लाग्यौं । आधारभूतरुपमा काम गर्न लागेका थियौं, सरकार ढल्यो । एमालेले पहिलोपल्ट सुकुम्बासी समस्या समाधान गर्न खोजेको कुरा आम मतदातालाई थाहा छ । यो कामलाई निरन्तरता दिएर निष्कर्षमा पुर्‍याउने हाम्रो अठोट अझै छ । हामी पुरा गर्छौं । मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलामा पनि भएको थियो । अब हामी बाँकी काम पुरा गर्छौं ।

पार्टीले त अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारिसकेको छ । तर, अहिले धेरै पार्टीहरुमा आफूलाई प्रधानमन्त्रीका लागि अघि सार्ने प्रचलन बढेको छ । तपाईंले पनि ओलीको विकल्पमा आफूलाई अघि सार्ने योजना बनाउँदै हुनुहुन्छ कि ?

देश बनाउन दर्‍हो पार्टी र दर्‍हो नेता चाहिन्छ । कमजोर पार्टी र कुनै सपना नदेख्ने कुनै नेताको काम छैन । स्वप्नदर्शी नेता चाहिन्छ । दर्‍हो पार्टीको दर्‍हो नेता नभई देश अघि बढ्दैन । आज त १८ सिटमा उम्मेदवारी दिनेले देशको नेतृत्व गर्छु, ४४ सिटमा उम्मेदवारी दिनेले देशको प्रधानमन्त्री हुन्छु भन्छन्, कम्युनिस्टसँग मुख्य प्रतिद्वन्द्वी रहेको कांग्रेस, उसले जम्मा ८४ सिटमा उम्मेदवारी दिएको छ, त्यसको नेतृत्व गर्छु भन्छ । यो अनौठो छ । आजको अवस्थामा दर्‍हो पार्टी एमाले हो र नेतृत्व गर्ने केपी ओली दर्‍हो नेता हो । त्यसकारणले केपी ओली त्यस्तो नेता हो, जो देश बनाउने सपनाको भारी बोकेर कुद्न चाहनुहुन्छ । ओली सुतेर सपना देख्ने नेता होइन । सपना देखेर सुत्न नसक्ने नेताको आवश्यकता छ । त्यो भनेको केपी ओली नै हो । पार्टीले सुविचारित ढंगले केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा घोषणा गरेको हो । राजनीतिमा कुन बेला कसको संभावना के हुन्छ त्यसको हिसाबकिताब अहिल्यै किन गर्नु ? कर्म गर्दै जाँदा जुन ठाउँमा पुगिन्छ–पुगिन्छ ।

दुई तिहाईको सरकार चलाउन नसकेको, प्रतिधिनिसभा दुई–दुई पटक विघटन गरेको एमालेलाई फेरि किन बहुमत दिने भन्ने प्रश्न जनताबाट कतिका आएका छन् ?

हिजो माओवादी केन्द्र र एमाले मिल्दा मात्रै बहुमत आएको हो । एमाले एक्लैको बहुमत होइन । जब दुई पार्टीबीचको एकता टुट्यो, जुन जगमा टेकेर बहुमत प्राप्त भएको थियो, त्यो बहुमत भत्किसकेपछि बहुमत भन्ने चिज रहेन । त्यतिबेला ताजा जनादेशमा जानु राजनीतिक रुपमा अपरिहार्य थियो । यो ‘मोर’ प्रजातान्त्रिक कुरा थियो । प्रतिगमन थिएन । प्रतिगमन त गठबन्धन बनाएर भयो । संसद्, सरकार र न्यायालयको अवस्था हेर्दा आज के भएको छ ? यो गठबन्धन कुशासन, विकृति र विसंगतिका लागि मात्रै रहेछ भन्ने प्रमाणित भएको छ ।

निर्वाचनपछिको अवस्था पनि गठबन्धनकै सरकार त हो ?

एमालेले प्रस्ट बहुमत ल्याउँछ । तपाईंहरुले पत्याउनु भएको छैन । हेर्दै जानु होला ।

प्रकाशित : कार्तिक १८, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?