बाँके — बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्मा सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ परेकी छन् । उम्मेदवारी दर्ता गराएको केही बेरमै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी शर्माको चुनाव चिह्न भने 'घर' तय भएको हो । शर्मालाई छोरीको जन्मदर्ताका कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
यससँगै बाँके कारागारमा महिला राख्ने स्थान अभाव भएको भन्दै शर्मालाई बर्दिया कारागार चलान गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत नुमानन्द अधिकारीले भने दोषी ठहर नहुँदासम्म ४३ वर्षीया शर्माको उम्मेदवारी कायम रहने र कारागारभित्र बसेर पनि निर्वाचन लड्न पाउने व्यवस्था रहेको जानकारी दिएका छन् ।
शर्माको घर नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ मा पर्छ भने वडा नम्बर १६ मा उनका बाबुआमाको घर छ । शर्माले छोरीको जन्मदर्तामा आफैंले सच्याएर उमेर घटाएको पाएपछि उजुरी परेको प्रहरीले जनाएको छ । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आदेश बरद माग गर्दै तुलसिपुर उच्च अदालत नेपालगन्ज इजसालमा रिट दायर गरेकी छन् । थुनछेकको आदेश बदर गरी पाउँ भन्दै परेको मुद्दा सुनुवाइ हुन भने बाँकी छ ।
