पाल्पा — बदर मतको संख्या घटाउन पाल्पाको तानसेन नगरपालिकास्थित अर्गलीमा नमुना मतदान गरिएको छ । मतदाता शिक्षाको अभावमा ‘बदर’ हुन सक्ने मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले गरिएको नमुना मतदानबाट मतदातालाई मत कसरी खसाल्ने, सही ढंगले मत खसाल्ने तरिकाका विषयमा सिकाइएको थियो ।
नमुना मतदानमा सहभागी मतदाताले अपनाउनुपर्ने आचारसंहिता, मतदान स्थलमा प्रवेश गर्ने, बाहिर निस्कने, मतपत्रको संख्याका बारेमा जानकारी गराइएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए । नमुना मतदानमा जेष्ठ नागरिक, महिला अशक्त व्यक्तिको सहभागिता रहेको थियो ।
पाल्पको मतदाताको अवस्था हेरेर अन्य स्थानीय तहमा पनि नमुना मतदान कार्यक्रम राखिने निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पााच प्रतिशत बढी मत बदर भएको थियो ।
नमुना मतदान कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले विगतमा भएका कमिकमजोरीलाई नदोहोर्याउन र मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमुना मतदान सहयोगी बन्ने बताए ।
निर्वाचन आयोगले पाल्पाका ८१ वटै वडामा स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि खटाइसकेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
