धनकुटा अस्पताल : आईसीयू चल्दैन, भेन्टिलेटर बन्द

शिलालेखमा १०० शय्याको अस्पताल भनिएकामा १५ शय्यामात्रै सञ्चालन

कार्तिक १८, २०७९

रमेशचन्द्र अधिकारी, देवेन्द्र भट्टराई

धनकुटा — पुरानो क्षेत्रीय सदरमुकाम धनकुटाको चोकबजारमै एक शताब्दी लामो इतिहास बोकेको अस्पताल छ– तत्कालीन त्रिचन्द्र अस्पताल । १९७० सालमा स्थापित । यहाँको राजनीतिमा आधा शताब्दी रजगज गरेका सूर्यबहादुर थापा हुन् वा अहिले उदाएका नेता– सबैले सुधारको प्रमुख सेवासर्तमा यो अस्पताललाई राखिरहे ।

प्रदेश १ का मुख्यमन्त्री बनेका शेरधन राई, भीमप्रसाद आचार्य र राजेन्द्र राईसहितले यो जिल्ला अस्पताललाई केन्द्रमा राखेर अनेक आश्वासन दिइरहे, वाचा गरिरहे । तर, उपलब्धि शून्य छ ।

पछिल्लोपटक प्रदेश १ का तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले गत वर्ष कात्तिकमा यो जिल्ला अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गर्ने र मेडिकल कलेजकै रूपमा विस्तार गर्ने घोषणा गरे । अस्पताल परिसरमै यो विषय समेटिएको शिलालेख शिलान्यास गरे तर त्यो तामझाम, चर्को भाषण र वाहवाही केही सातामै सेलायो । बरु त्यही बेलादेखि अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटरको सेवा बन्द भयो । सेवा–सुविधा र अवसर प्रदेश १ को राजधानी विराटनगरतिर सोहोरिए, धनकुटा सीमान्तकृतझैं बन्दै गयो ।

अस्पतालका निमित्त प्रमुख डा. मनीष साहका अनुसार अस्पतालको क्षमता विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बन्न सकेको छैन, न आवश्यक जग्गाको व्यवस्थापन हुन सकेको छ । यतिखेर निर्वाचनको लहर छाएका बेला आफ्नो क्षेत्रबाट उठेका उम्मेदवारहरू कांग्रेस सुनील थापा र एमालेका राजेन्द्र राईलाई एकपटक अस्पताल भ्रमण गराएर यथार्थ बोध गराउने योजनामा छन्, अस्पतालकर्मी ।

अहिले धनकुटा जिल्ला अस्पतालका नाममा १६ रोपनी जग्गा छ । एक सय शय्याको अस्पताल सञ्चालन गर्न कम्तीमा ५० रोपनी आवश्यक पर्ने देखिएको छ तर डीपीआरका लागि १५ लाख र भवन निर्माणका लागि १ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भयो । हाल सरकारी स्रोतका भरमा १५ शय्या र निजीका भरमा थप १५ शय्या मात्रै अस्पतालमा मुस्किलले सञ्चालन भइरहेको छ । सरकारी मापदण्डमा १ सय शय्याको अस्पताल सञ्चालन गर्न बाल, स्त्री, मानसिक, छाती, हाड, नाक–कान–घाँटी रोगसहित आठ विधागत विशेषज्ञ चाहिने भए पनि कामचलाउ स्वास्थ्य परीक्षणबाहेक सेवा यहाँ छैन । सामान्य शल्यचिकित्सा वा प्रसूतिको सुविधासमेत सञ्चालन हुनबाट रोकिएको छ । विगतमा शल्यक्रियाबाट गरिने प्रसूति सेवासमेत दक्ष जनशक्ति अभावमा हाल बन्द छ ।

कतिसम्म भने कोरोना महामारी बढिरहेका बेला जिल्ला अस्पतालमा दुई वर्ष पहिले जडान गरिएको भेन्टिलेटर र आईसीयू अझै सञ्चालनमा आउन सकेको छैन । तीन वर्षअघि प्रदेश सरकारले केन्द्रको जनसुरक्षा कोषको सहयोगमा चार वटा भेन्टिलेटरसहित १० आईसीयू बेड उपलब्ध गराएको थियो ।

करिब १ करोड ६५ लाख रुपैयाँ खर्चेर उपकरण जडान गरिएको थियो तर सञ्चालन गर्ने दक्ष जनशक्तिको अभावमा यो सुविधा बन्द गरिएको छ । भेन्टिलेटर सञ्चालनका लागि एनेस्थेसियोलोजिस्ट र फिजिसियनको आवश्यकता हुने भएपछि यो पदपूर्ति अभावमा यी सेवा बन्द भएको हो । यस्तै, अस्पतालमा अक्सिजन प्लान्ट त राखिएको छ तर सिलिन्डर रिफिलमा समस्या आएको धेरै भइसक्यो । भएको जेनेरेटर पनि बिग्रिएको छ ।

‘अस्पतालमा एनेस्थेसियोलजिस्ट र फिजिसियनको दरबन्दी कायम गरिएकै छैन,’ अस्पतालका मेडिकल अधिकृत डा. प्रदीप खतिवडा बताउँछन् । जिल्ला अस्पताललाई विशेषज्ञ सेवातर्फको विज्ञापन र पदपूर्ति गर्ने अधिकार नभएका कारण हालसम्म पदपूर्ति हुन नसकेको उनले जानकारी दिए । ‘प्रदेश सरकारको सहयोगमा भेन्टिलेटर र आईसीयू जडान भए पनि सञ्चालनमा आउन सकेको छैन,’ खतिवडाले भने, ‘भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनको पहलसमेत भएको छैन ।’ जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक र जडान भएका उपकरण सञ्चालन नहुँदा सेवाग्राही धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विराटनगरका स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ ।

यसअघि धनकुटामा मेडिकल कलेजका लागि प्रदेश सरकारले पहल सुरु गर्दै कलेज सञ्चालनमा साढे १६ करोड रुपैयाँ विनियोजन गर्ने भनिएको थियो । पहिलो चरणमा साढे ४ करोड विनियोजन गरिए पनि अरू बजेट नआउँदा दिइएकै रकमसमेत फिर्ता हुन पुग्यो । ‘जिल्ला अस्पतालले बिजोगको स्थिति बेहोरिरहेको छ,’ धनकुटा नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारी भन्छन्, ‘विकास र योजना कागजमा विकेन्द्रित त गरियो तर स्रोत र दक्षतामा पहुँच दिइएन । यथास्थितिको स्रोत–साधनका भरमा सेवा विस्तार असम्भव देखिन्छ ।’

पूर्वका तेह्रथुम, संखुवासभा, भोजपुरसहितका जिल्लाबाट आउने ‘रिफरल’ बिरामीले उपचारका लागि धरान वा विराटनगर पुग्नुपर्ने स्थिति छ । धनकुटा जिल्लाभरमा ३५ सरकारी स्वास्थ्य संस्था छन् । यी सबैमा समेत आवश्यक दरबन्दी अभाव छ अथवा तोकिएबमोजिम स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्य कार्यालय प्रमुख गोकुल भण्डारीका अनुसार जिल्लामा रहेका ११ सहरी स्वास्थ्य केन्द्र र १० ग्रामीण स्वास्थ्य केन्द्रमा सामान्य तहको उपचार सेवा मात्रै सञ्चालनमा छ । 

‘यहाँका जनप्रतिनिधिसँग अस्पतालको स्तरोन्नति र बन्द रहेका सेवा सुचारु गर्न आग्रह गर्दै आएको छु,’ उनले भने, ‘संघ तथा प्रदेशका माननीयसँग समेत यही माग गरिए पनि आश्वासनबाहेक हात लागेन । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. साहले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग चिकित्सकीय सेवाबारे सम्झौता कार्यान्वयन हुन जरुरी रहेकाले यसका लागि ताकेता भइरहेको बताए । अस्पतालमा आर्थिक वर्ष ०७८/०७९ मा ४७ हजार बिरामीको उपचार गरिएको जनाइएको छ, जसमध्ये ९ हजारको आकस्मिक कक्षमा उपचार गरिएको साहले जानकारी दिए ।

धनकुटामा ‘थापा लेगेसी’ (सूर्यबहादुर थापा) जोगाउन गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता सुनीलबहादुर थापाले आफूले चुनाव हारे पनि वा जिते पनि धनकुटाका समस्याको सरोकार तथा प्राथमिकता सदैव रहेको प्रतिक्रिया दिए । ‘गत निर्वाचनमा धनकुटामा म पराजित भए पनि आफ्नै पहलमा जापान सरकारबाट सहयोग जुटाएर जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गराएको थिएँ,’ उनले भने, ‘पछि सूर्यबहादुर थापा प्रतिष्ठानबाट आवश्यक अक्सिजन सिलिन्डर उपलब्ध गराएको थिएँ । 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट यो अस्पतालमा आवश्यक जनशक्ति परामर्श समन्वयका लागि सम्झौता गराएको छु ।’ यति भनिरहँदा पनि उम्मेदवार थापाले अस्पतालमा अहिले देखिएको समस्या तथा आईसीयू, भेन्टिलेटरसमेत सञ्चालनमा आउन नसकिरहेको कठिनाइबारे केही बताउन चाहेनन् । ‘यो अस्पताललाई पूर्वी भेगकै विशिष्टतम रिफरल केन्द्र तथा शिक्षण अस्पतालको स्वरूपमा विस्तारित गर्ने योजना लिएर आएको छु,’ थापाले भने ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

देवेन्द्र भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

Link copied successfully