ललितपुर-१ मा पुरानै प्रतिस्पर्धी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — आगामी मंसिर ४ मा तोकिएको आमनिर्वाचनमा प्रतिनिधिसभातर्फ ललितपुर–१ बाट ११ दलका ११ जना र १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उदयशमशेर राणा र एमालेका नवराज सिलवाल प्रमुख प्रतिस्पर्धी हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![ललितपुर-१ मा पुरानै प्रतिस्पर्धी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/rana-and-silwal-04112022030237-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
२०७४ को निर्वाचनमा पनि यीनै प्रतिस्पर्धी थिए तर, राणालाई ६ हजार २ सय १७ मतले पछाडि पार्दै सिलवाल सांसद बनेका थिए । त्यतिबेला एमालेको साथमा माओवादी थियो । अहिले माओवादी सत्ता गठबन्धनमा छ ।
५९ वर्षीय सिलवाल र ५२ वर्षीय राणा दुवै ललितपुरमा जन्मे हुर्केका हुन् । राजनीतिक दलमा आबद्धताको हिसाबले भने यी दुई प्रतिस्पर्धीको स्कुलिङ फरक छ । सिलवाल नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक हुन्, जो महानिरीक्षक हुन नपाएपछि राजीनामा दिएर राजनीतिमा लागेका थिए । २०७४ असोज १९ मा एमाले प्रवेश गरेर उनी ललितपुर–१ मा उठेका थिए । उक्त निर्वाचनमा सिलवालले २६ हजार ९ सय ४६ मत पाउँदा राणाले २० हजार ७ सिय २९ मत ल्याएका थिए ।
राणा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । उनी संविधानसभाको दोस्रो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुँदै अर्थ राज्यमन्त्रीसमेत बनेका थिए ।
ललितपुर–१ मा गोदावरी नगरपालिकाको वडा–१२ र १४ बाहेकको क्षेत्र तथा कोन्ज्योसोम, वाग्मती र महांकाल गाउँपालिका पर्छन् । यो क्षेत्रमा कुल ३० वटा वडा छन् । गत स्थानीय निर्वाचनमा कांग्रेसले २२ वटा वडामा जित हात पारेको थियो । बाँकी ५ वडा माओवादीले र ३ वडा मात्र एमालेले जितेको थियो । जसका आधारमा आसन्न निर्वाचनमा सत्ता गठबन्धन बलियो देखिन्छ । गठबन्धन उम्मेदवार कांग्रेसका राणाले गएको ५ वर्षमा केही काम नभएकाले स्थानीय निर्वाचनबाटै जनताले निराशा पोखिसकेको दाबी गरे । निर्वाचन जितेमा आगामी ५ वर्ष आफू पूर्वाधार निर्माणमा केन्द्रित हुने उनले सुनाए ।
‘उपत्यकामै पर्ने भए पनि दुई महिना नटिक्ने बाटो बने । अब राम्रो बाटो चाहियो । इन्जिनियरिङ एंगलबाट अध्ययन गरेर पहाडमा बाटो बनाउनुपर्नेछ । यो डोजर लगाएर झ्याम कि झ्याम खनेर बनाएको बाटोले दीर्घकालीन विकासमा सहयोग गर्दैन,’ उनले भने, ‘यसबाहेक खानेपानी, स्वास्थ्य, शिक्षाका कुरा हुने नै भयो । बेरोजगारी समस्या समाधानमा पनि प्रतिबद्ध रहनेछु ।’ आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पालिकाहरूको साथ र सुझावअनुसार अघि बढ्ने उनको भनाइ छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्न पनि योजनाबद्ध ढंगले काम गर्ने उनले सुनाए ।
एमाले उम्मेदवार सिलवाल भने गत ५ वर्षमा सांसदको रुपमा जनतासँग भिजेर सामाजिक सरोकार र विकास निर्माणका धेरै काम गरेको दाबी गर्छन् । ‘अहिलेसम्म विकासको फाउन्डेसन निर्माण गरेका छौं,’ उनले भने, ‘उक्त फाउन्डेसनमा थप काम गरेर समृद्धिको तस्बिर निर्माण गरी स्थापित गर्न पनि मैले जित्नुपर्छ भन्ने यहाँका मतदाताको भनाइ छ ।’
उनले राष्ट्रियता, विकास निर्माण, वैदेशिक सम्बन्ध स्थापित गर्ने, स्वरोजगारी बढाउने, पूर्वाधार विकास, उद्योग, कृषिलाई आधुनिकीकरण गर्ने, सेवा क्षेत्रलाई अगाडि बढाउनेलगायत यावत काम गरेको उल्लेख गरे । मुलुकमा महँगी, भ्रष्टाचार बढेको उल्लेख गर्दै उनले जनताले हालको सत्ता गठबन्धनबाट मुक्ति खोजीरहेको बताए ।
राणा र सिलवालबाहेक यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्य, जनता समाजवादी पार्टीका गोपालराज राई, नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल, राष्ट्रिय जनमुक्ति पार्टीका बालकृष्ण घिमिरे पनि उम्मेदवार छन् । यसैगरी , राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे, लोकतान्त्रिक समाजवादी पार्टीका मनीषबहादुर श्रेष्ठ, आमूल परिवर्तन मसिहा पार्टीका विष्णु लामा, मंगोल नेसनल अर्गनाइजेसनका सूर्य तामाङ बल र नेसनलिस्ट पिपल्स पार्टीका शुभद्रा महर्जन पनि चुनावी मैदानमा छन् ।
यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारको लहर नै चलेको छ । प्रतिनिधिसभातर्फ मात्रै १० जना स्वतन्त्र उम्मेदवार छन् । जसमा शैलेन्द्र बिष्ट, कृष्णकाजी महर्जन, फूलमाया लो, विशाल तामाङ, गोविन्द घिमिरे केसी, सुमन भुम्जन, राजकुमार तिमिल्सिना, भूपेन्द्र सिलवाल, नवराज घिमिरे र गोकुल तिमल्सिना छन् ।
प्रदेश सभातर्फ ललितपुर–१ (१) मा एमालेका मधुसूदन पौडेल, माओवादी केन्द्रका हरि दाहाल, राप्रपाका हुमा पाण्डेय, नेमकिपाका बुद्ध लामा, मंगोल नेसनल अर्गजनाइजेसनका सुरेश मार्पा उम्मेदवार छन् । त्यसैगरी, स्वतन्त्रबाट दीपेशकुमार खत्री, श्यामकुमार घिमिरे, चीनबहादुर तामाङ, ठक्कर घिमिरे, कुमार तिमिल्सेना, रामहरि घिमिरे र नारायण खड्काले पनि उम्मेदवारी दिएका छन् ।
यसैगरी, क्षेत्र–१ (२) मा एमालेका चेतनाथ सन्जेल, कांग्रेसका मीनकृष्ण महर्जन, राप्रपाका विश्वराज न्यौपाने, नेमकिपाका मन्दिप महर्जन, हाम्रो नेपाली पार्टीका अशोककुमार केसी र मंगोल नेसनल अर्गनाइजेसनका तिलकबहादुर जिम्बा चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्रबाट श्रीलाल भोम्जन, रमेशकुमार सन्जेल, तिलकबहादुर भोलन, राजेन्द्र महर्जन, पीताम्बर सन्जेल, देवेन्द्र श्रेष्ठ, नवराज कुँवर, सरोजकुमार बिष्ट र बद्रीबहादुर बस्नेतको उम्मेदवारी परेको छ ।
के भन्छन् मतदाता ?
वाग्मतीको गिम्दी र आश्राङबाट सातदोबाटो आइपुग्न ७५ किलोमिटर दूरी तय गर्नुपर्छ । यहाँका स्थानीयलाई उबडखाबड सडकमा सार्वजनिक बसमा कोचिएर ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । ‘सडक पुर्याए पनि स्तरोन्नति नगर्दा स्थानीयले कष्ट झेल्नु परेको अवस्था छ,’ वाग्मती उपाध्यक्ष भक्तबहादुर दर्लामी मगर भन्छन्, ‘केही ठाउँमा मोबाइल नेटवर्कको पनि समस्या छ । यातायातकै कारणले स्थानीय उत्पादनलाई बजार व्यवस्थापन गर्न कठिनाइ छ । बर्खामा पहिरो खस्ने समस्याले झनै गाह्रो छ ।’
वाग्मती–६ आश्राङका पत्रकार सुदर्शन घिमिरे यस क्षेत्रका कुनै पनि सांसदले मुलुकको नीति निर्माणमा हस्तक्षेप गर्न नसकेको दाबी गर्छन् । ‘सांसदले संसद्मा नीति, ऐनहरू पास गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘म आफैं ६–७ वर्ष संसदीय पत्रकारिता गरें । त्यस अवधिमा हाम्रो क्षेत्रको सांसदले आजसम्म यो चाहिँ गतिलो काम भयो, गरे भनेर थाहा पाएको छैन ।’
पञ्चायतकालमा निर्माण सुरु भएको यही भेग हुँदै जाने कान्ति राजपथ अहिलेसम्म पनि पूरा हुन नसकेको उनले सुनाए । पालिकाबाट पनि ‘डोजरे विकास’ मात्र भएको उनको ठम्याइ छ ।
‘नीतिगत रूपमा राम्रो संरचना, सडक बन्न इन्जिनियरिङ हुनुपर्छ, त्यसमा कसैबाट पनि पहल भएको छैन,’ समयक्रमसँगै हुने सामान्य विकास मात्र देख्न पाएको तर जीवनस्तर उकास्ने खालका काम हुन नसकेको उनको जिकिर छ । ललितपुरको गोदावरी क्षेत्र प्राकृतिक पर्यावरणका हिसाबले महत्वपूर्ण मान्निछ । सरकारले यस क्षेत्रलाई संरक्षित वन तोकेको छ । तर, अतिक्रमण र प्राकृतिक दोहन रोकिएको छैन ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)