जहाँ उम्मेदवार पुग्छन् न विकास

उम्मेदवार नै नचिनी ७ घण्टा हिँडे र मतदान गर्नुपर्ने बाध्यता

कार्तिक १८, २०७९

टीकाप्रसाद भट्ट

रामेछाप — आगामी मंसिर ४ मा तोकिएको आमनिर्वाचनले गाउँबस्तीसम्मै चहलपहल बढाएको छ । उम्मेदवारहरू घरदैलो र मतदाता भेटघाटमा व्यस्त छन् । तर, रामेछापको उत्तरी बस्ती लावाछेवरमा भने निर्वाचनको कहिल्यै चर्चा हुँदैन । नुम्बुर हिमाल काखको यो बस्तीमा न भोट माग्न उम्मेदवार पुग्छन्, न विकास नै ।

प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार वडाको केन्द्र गुम्देल पुगेर फर्किसकेका छन् । एमाले उम्मेदवारको पनि लावाछेवर पुग्ने कार्यक्रम छैन । आसन्न निर्वाचनमा मुख्य प्रतिस्पर्धी यी दुई पक्ष मात्र हुन् । ‘हाम्रो बस्तीमा अहिलेसम्म कुनै पनि चुनावमा नेताहरू भोट माग्न आएको रेकर्ड छैन,’ स्थानीय आङभाई शेर्पाले भने, ‘अहिलेसम्म उम्मेदवार नै नचिनी भोट हाल्ने गरेका छौं ।’

उमाकुण्ड गाउँपालिका–१ लावाछेवर बस्तीबाट गुम्देलस्थित मतदान केन्द्र पुग्न ७ घण्टा हिँड्नु पर्छ । लिखु जलविद्युत् आयोजनाका कारण अहिले बाटो बने पनि सार्वजनिक यातायातका साधन चल्दैनन् । यो बस्तीबाट हिँडेरै मतदान गर्न आउनुपर्छ । 

पञ्चायतकालमा एकपटक नवराज सुवेदी र बहुदलीय व्यवस्था आएपछि देवशंकर पौडेलबाहेकका नेता लाहाछेवरमा भोट माग्न नपुगेको स्थानीय सुनाउँछन् । एमाले नेता रामबहादुर थापा माओवादीमा छँदा ६ महिनाभन्दा बढी समय लाहाछेवरमै आश्रय लिएर बसेका थिए । ‘तर, पटक–पटक सरकारमा पुगे पनि न उनी लावाछेवर पुगेका छन्, न उनको दलका नेता र उम्मेदवार नै,’ आङभाइले भने ।

लावाछेवरमा न्यूनतम आधारभूत सेवा–सुविधा पनि उपलब्ध छैन । गाउँमा स्वास्थ्य चौकी छैन । सिटामोल लिन पनि गुम्देल नै पुग्नुपर्छ । चौरीखर्क जाने घोडेटोमा पुल छैनन् । स्थानीय दाबा शेर्पा भन्छन्, ‘यो अलग्गै मुलुकजस्तो भएको छ । न कोही आउँछन्, न कुनै सहयोग नै आउँछ । त्यही पनि हरेक चुनावमा हामी भोट हालिरहन्छौं ।’ उक्त बस्तीमा कोही बिरामी परे दुईटा विकल्प छन् । एक धामीझाँक्री लगाउने र अर्को हेलिकप्टर चार्टर गर्ने ।

गतवर्ष चौंरीगोठ लिएर गइमडाँडाको जंगलमा बसेका बेला लाहाछेवरकी कामीशर्की शेर्पा सिकिस्त भइन् । १ लाख २० हजार रुपैयाँ खर्चमा हेलिकप्टर मगाएर उनको ज्यान जोगियो । ‘अहिले त हेलीको भाडा पनि बढेको छ । ठ्याक्कै १ लाख ६० हजार लिन्छ,’ आङभाइले भने । उनका अनुसार पैसा र पहुँच हुनेले हेलिकप्टर मगाए पनि नहुनेहरू झारफुक र धामीझाँक्रीको भर पर्दा अकालमै ज्यान गुमाउँछन् ।

लावाछेवरमा शेर्पा समुदायका ३२ परिवारको बसोबास छ । गाउँबाट झन्डै ५ घण्टाको पैदल दुरीमा रहेको क्यामामा गाउँपालिकाले गाउँघर क्लिनिक राखेको छ । तर, त्यहाँसम्म पुगेपछि धेरैजसो स्थानीय उपचारका लागि काठमाडौं नै पुग्ने गर्छन् । ‘क्यामा पुगेपछि अरु २ घण्टा हिँडेपछि गाडी भेटिन्छ, राम्रो उपचारको आशमा त्यतैबाट काठमाडौं पो जान्छौं,’ उनले भने । यहाँ सरकारी सूचनासमेत पुग्दैन । धेरैले गाउँपालिकाका प्रतिनिधिसमेत चिन्दैनन् । पालिका केन्द्रबाट चुनाव हुँदै छ भन्ने जानकारी पाएपाछि उनीहरूले गएको आमनिर्वाचनमा भोट हालेका थिए । तर, भोट दिएका नेताहरूलाई भने उनीहरू चिन्दैनन् । 

यहाँको प्रमुख उत्पादन पहिले चौरीको चिज र छुर्पी थियो । शेर्पाहरू चिज र छुर्पी बोकेर बिक्रीका लागि सोलु जान्थे । अहिले चौंरीगोठ घटेका छन् । १८ वर्ष चौरीपालन गरेका आङभाइ अहिले उक्त काम गर्दैनन् । चौरी गोठ घटेर ५/६ वटा मात्र रहेको उनले सुनाए । यहाँ टिम्बुर, सेतो सिमी, मकै र आलु उतपादन हुन्छ । हरेक साता २ दिनको पैदल बाटो काटेर सल्लेरी पुग्ने स्थानीयले झोप्के (लेकाली गोरु) मा ५० किलो भारी बोकाएर दैनिक उपभोग्य सामान किनेर ल्याउँछन् ।

कल्जङ शेर्पाका अनुसार पहिले स्थानीयहरू जडिबुटी संकलनमा रमाउँथे । गौरीशंकर संरक्षण क्षेत्र बनेपछि त्यस कार्यमा रोक लाग्यो । पाँचऔले, कुट्की, विकमह, चिराईतो, जटामसिजस्ता जडिबुटी संकलन एकातिर थियो भने लोक्ता र अर्गेलीको संकलनले मनग्यै पैसा आउँथ्यो । अहिले ती सबै रोकिएका छन् । आफ्नो जग्गाको उत्पादनले ३ महिना खान नपुग्ने यो गाउँका प्रायः सोलुतिर व्यापारमा छन् । गाउँका २० जना युवा वैदेशिक रोजगारीमा छन् ।

टीकाप्रसाद

Link copied successfully