बागलुङ — गत मंसिरमा भएको महाधिवेशनसम्म उनीहरू एउटै पार्टीमा थिए । कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उनीहरू दुवैले सँगै चुनाव जिते । आसन्न निर्वाचनमा भने फरकफरक दलबाट प्रदेशसभाका उम्मेदवार छन् ।
बागलुङ क्षेत्र नं. १ को २ मा कांग्रेस उम्मेदवार डिल्लीराम सुवेदी र कांग्रेस छाडेर गएका नवराज पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । ३९ वर्षका डिल्लिराम सुवेदी र ५८ वर्षीय नवराज पौडेलबीचको प्रतिस्पर्धा रोचक हुने कार्यकर्ता बताउँछन् । गत स्थानीय निर्वाचनपछि सुवेदी र पौडेलको बाटो फेरिएको हो ।
नेविसंघको केन्द्रीय उपाध्यक्षबाट मूलधारको राजनीतिमा सिधै टिकट पाउनेमा सुवेदी पर्छन् । गत १४औं महाधिवेशनसम्म कांग्रेसमै सक्रिय र कांग्रेसका निर्वतमान सचिव नवराज पौडेलकै विरुद्ध विद्यार्थी नेताबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने भएको हो । आफ्नै समूहको राजनीतिमा लागेका नवराज पौडेल एमालेमा प्रवेश गरेर उम्मेदवार बनेपछि सुवेदीलाई चुनौती थपिएको छ ।
‘आफ्नै दलको सचिव भएर काम गरिसकेका पाका नेताविरुद्ध मेरो उम्मेदवारी छ । मैले युवाको जनमत र केही फरक काम गर्ने सोचका साथ मत मागिरहेको छु‚’ सुवेदीले भने, ‘अधिकांशको आवाज युवा आउनुपर्छ भन्ने छ ।’ टिकट नपाएर कांग्रेसका अर्का नेता किरण पौडेल जिल्ला नआएपछि सुवेदीलाई चुनौती थपिएको छ ।
पौडेल गत साउनमा मात्रै एमालेमा प्रवेश गरेका थिए । कांग्रेसको भ्रातृ संगठन नेविसंघका पूर्वजिल्ला अध्यक्ष, पटकपटक महाधिवेशन प्रतिनिधि र पार्टीको सचिव भैसकेका पौडेल १४औं महाधिवेशनका प्रतिनिधिसमेत थिए । यो क्षेत्रमा कूल ४ जनामात्रै उम्मेदवार छन् । सबै उम्मेदवार नयाँ हुन् । राप्रपाका गोविन्द सापकोटा र मंगोल नेसनल अर्गनाइजेसनका सहवीर थापा उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा सुवेदी र पौडेलबीच हुनेछ ।
तुलनात्मक रुपमा यो क्षेत्र एमालेको कमजोर क्षेत्र हो । यहाँका तीन पालिका नै कांग्रेस‚ राष्ट्रिय जनमोर्चा (राजमो) र माओवादी केन्द्रको गठबन्धनले जितेको छ । जैमिनी नगरपालिकाको अधिकांश वडा कांग्रेसले जितेको छ । नगर प्रमुख राजमो र उपप्रमुख कांग्रेसका छन् । बरेङ गाउँपालिकामा अध्यक्ष राजमो, उपाध्यक्ष कांग्रेस छन् । सुवेदीको गाउँ रहेको बलेवाका तीनवटा वडा नै कांग्रेसले जितेको छ । यहाँ बरेङ गाउँपालिकाभन्दा धेरै मतदाता छन् ।
लामो समय कांग्रेसको राजनीतिमा लागेका पौडेलले सुवेदीलाई टक्कर दिनेछन् । ‘हामी पार्टीमा प्रतिबद्ध छौं तर पौडेलले केही मत कांग्रेसकै लैजान्छन्‚’ कांग्रेसका एक नेताले भने, ‘परिणाम निकाल्न कठिन होला तर कांग्रेसको जनाधार भत्काउने भए ।’ एमालेका पुराना नेता तथा कार्यकर्ता भने आयातितलाई उम्मेदवार बनाएकोमा रुष्ट छन् ।
सुवेदी महामन्त्री गगन थापाका प्रिय पात्र हुन् । शिक्षाका लागि राष्ट्रिय अभियानको केन्द्रीय अध्यक्ष सुवेदीले यो क्षेत्रका विद्यालय र शैक्षिक संस्थामा सहयोग गरेकाले उनीप्रति धेरै आशावादी छन् । महामन्त्रीकै प्रियपात्र भएकाले केन्द्रको सम्बन्ध राम्रो हुने भन्दै युवाहरू सुवेदीको पछि लागेका छन् । कांग्रेसको पौडेल समूह, सिटौला समूह हुँदै एमाले प्रवेश गरेका पौडेललाई वामपन्थी झैं बोल्न र व्यवहार गर्न नै सिकाउनु परेको एमालेका एक कार्यकर्ताले टिप्प्णी गरे । ४६ हजार ८६ मतदाताले सुवेदी र पौडेलको राजनीतिक भविष्यको निर्णय मंसिर ४ गते गर्नेछन् ।
