'राजा वीरेन्द्रले ल्याएको शान्तिक्षेत्रको प्रस्ताव ब्युँताउने'

'सत्ताकेन्द्रित राजनीति नगर्ने'

कार्तिक १४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ताकेन्द्रित राजनीति नगर्ने भनेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रतिबद्धतापत्र जारी गर्दै राप्रापाले विगतका अनुभवबाट शिक्षा लिँदै सत्ताकेन्द्रित राजनीति नगर्ने भन्ने उल्लेख गरेको छ । 

राप्रपाले सोमबार जारी गरेको प्रतिबद्धतापत्रमा भनेको छ, 'बिगतको सत्ता केन्द्रीत राजनीतिका कारण प्राप्त तितो अनुभववाट शिक्षा लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता केन्द्रित राजनीति नगर्ने ।' अब राप्रपाले सिद्धान्तमा विश्वास गर्ने र आफ्ना सिद्धान्त र मुद्दाहरू स्थापना गर्न केन्द्रित हुने भनिएको छ ।

राप्रपाले शान्तिक्षेत्रको प्रस्तावलाई पुनर्जीवित गर्ने कुरा पनि प्रतिबद्धतापत्रमा लेखेको छ । पार्टीको परराष्ट्र नीतिबारे भनिएको छ, 'नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गरिने, असंलग्न र पञ्चशीलमा आधारित सन्तुलित परराष्ट्र नीति अवलम्बन, नेपालको भूभाग कसैकोविरुद्ध प्रयोग हुन नदिइने, सबै असमान सन्धि सम्झौता तथा सीमा विवादलाई कूटनितिक पहलबाट टुंग्याइने ।'

तत्कालीन राजा वीरेन्द्र शाहले ल्याएको शान्तिक्षेत्रको प्रस्तावलाई नै राप्रपाले पुनर्जीवित गर्ने भनेको हो । सन् १९७३ को सेप्टेम्बरमा अल्जेरियामा सम्पन्न असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा राजा वीरेन्द्रले उक्त प्रस्ताव राखेका थिए । राजा वीरेन्द्रको प्रस्तावलाई चीन, अमेरिका, फ्रान्स, बेलायत, पाकिस्तानसहित ११६ देशले समर्थन गरेका थिए भने भारतले भने समर्थन गरेको थिएन । राप्रपाले उक्त विषयलाई फेरि ब्युँताउने भन्दै चुनावी एजेन्डा बनाएको हो । 

राप्रपाले नागरिकता वितरणमा देखिएका कानुनी व्यवस्था सुधार गर्ने, योजनाबद्ध धर्म परिवर्तनलाई नियन्त्रण र निरुत्साहित गर्ने पनि प्रतिबद्धतापत्रमा लेखेको । त्यस्तै, ब्रिटिस तथा भारतीय गोरखा सैनिकहरूका विद्यमान समस्या समाधानका लागि आवश्यक र विशेष पहल गरिने र दीर्घकालीन रूपमा समाधान गरिने पनि उल्लेख छ । 

राप्रपाले सबल र समुन्नत नेपाल आफ्नो दीर्घकालीन सोच, पूँजी निर्माण, दिगो विकास, निस्शुल्क शिक्षा र स्वास्थ्य, सामाजिक सुरक्षा, समान न्याय र समतामूलक सम्वृद्धिका साथै व्यापक रोजगारीको अभिवृद्धि दीर्घकालीन राष्ट्रिय लक्ष्य, वि. सं. २०८७ सम्म मध्यम आयस्तर भएको मुलुक बनाउने दीर्घकालीन मार्गचित्र रहेको उल्लेख गरेको छ । 

यस्तो छ राप्रपाको घोषणापत्र

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully