गोरखा — मतदाता भेटघाटमा गोरखा–२ छिरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । धादिङको सल्यानटार हुँदै शनिबार गोरखाको आरुघाट छिरेका दाहालले दुई दिन गोरखा-२ का ४० भन्दा धेरै टोल/बस्तीमा मतदाता भेटघाटमा बिताए ।
यो दौडधुपमा दाहालले ०३३ सालताका आफूले पढाएको विद्यालयनजिकै शनिबार बास बस्नेदेखि जनयुद्धको सुरुवात गर्ने निर्णय गर्न बैठक बसेको रातमाटेसम्म पुग्न भ्याए । मतदाता भेटघाटमा भने उनले आफू चितवन छाडेर गोरखा किन आउनुपरेको हो भन्ने प्रस्टीकरणदेखि कांग्रेससहितको चुनावी गठबन्धनको आवश्यकबारे बुझाउनमा खर्च गरे ।
दाहालको साथैमा थिए– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभाका उम्मेदवार सुरेन्द्रराज पाण्डे र माओवादीका समानुपातिक उम्मेदवार हितराज पाण्डे ।
मतदातासँग दोहोरो संवाद र छलफलभन्दा पनि दाहालले एकोहोरो रूपमा आफ्ना कुरा सुनाउने र हिँड्ने शैली अँगालेका थिए । सबैजसो भेटघाटमा दाहालसँगै रहेका कांग्रेस उम्मेदवार पाण्डे दाहाललाई भावी प्रधानमन्त्रीका रूपमा चिनाइरहेका थिए, जसमा दाहालको पनि सम्मति देखिन्थ्यो । सिरानचोक गाउँपालिका–४ चोरकाटेको भेटघाटमा त दाहाल आफैंले आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिँदै आएको बताउन भ्याएका थिए ।
दाहालले प्रत्येकजसो सम्बोधनमा दुईवटा कुरा भन्न छुटाएका थिएनन् । एउटा, आफू गोरखा आउनुका पछाडि नेसपा अध्यक्ष भट्टराईले खेलेको भूमिका र दोस्रो गोरखासँगको आफ्नो साइनो कति पुरानो हो भनेर पुष्टि गर्ने विगतका घटना । २२ वर्षको उमेरमा आरुघाटमा शिक्षक हुँदाको समयदेखि सशस्त्र द्वन्द्वको सुरुवातमा गोरखामा बिताएका समयसम्म सम्झिँदै दाहाल भावुक बनेका थिए । उनले पञ्चायतविरोधी आन्दोलनमा आफू गोरखामै भूमिगत भएर बसेको पनि बताउन भ्याए ।
सिरानचोक–८ धारापानीमा दाहालले शान्ति प्रक्रियापछि ठूलो राजनीतिक परिवर्तन भए पनि संविधान र जनताले पाएको अधिकारलाई केही तत्त्वले खोस्न खोजेको बताए । उनले त्यस्तो षड्यन्त्रलाई परास्त गर्नका निम्ति गठबन्धन आवश्यक भएको जिकिर गर्दै देशमा दुईवटा विचार, दुईवटा गठबन्धन र दुईवटा मोर्चा आमनेसामने रहेकाले आसन्न निर्वाचनलाई सामान्य खालको निर्वाचन नसम्झिन मतदातालाई आग्रह गरे । उनले आफूहरूको मोर्चा अग्रगामी र प्रगतिशील भएको दाबी गरे ।
शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटनको विकासद्वारा आर्थिक परिवर्तन गर्ने सपनासहित आफू गोरखा आइपुगेको उनले सुनाए । गाडीको लावालस्करसहित घुमाउरा र साँघुरा बाटा छिचोल्दै दाहालसहितको टोली आइपुग्दा स्थानीय कार्यकर्ता बाटाको छेउछाउमा फूलमाला र खादा लिएर बसेका देखिन्थे । खादा र मालाले छोपिएका दाहालले मतदातासमक्ष विगतका चुनावमा जस्तै आश्वासन पनि बाँडे । मतदाता भेटघाटमा भट्टराईले भने आफू बिदा माग्न र पुष्पकमल दाहाललाई भोट माग्न आएको बताएका थिए ।
सिरानचोक–५, चित्रेपोखरीको कार्यक्रममा भट्टराईले ०६४ पछि तीन पटक गोरखाका जनताले आफूलाई जिताएर पठाएका कुराको स्मरण गर्दै भने, ‘एउटै मान्छे सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । त्यसैले यस पटकदेखि मैले चुनावी राजनीतिबाट बिदा लिने र अरू ढंगले राजनीतिमा सक्रिय हुने निर्णय गरेको छु ।’ उनले दाहाललाई सुयोग्य व्यक्तिको संज्ञा दिँदै गठबन्धन सरकार पाँचै वर्ष चल्ने र त्यसको कुनै अवधि दाहाल प्रधानमन्त्री हुने बताए ।
सिरानचोक–२, नयाँबजारमा मतदातासँग भेटेपछि दाहालले आफू एउटा सपना बोकेर गोरखा आएको दाबी सुनाउँदै गोरखाबाट आर्थिक क्रान्ति ल्याउने बताएका थिए । ‘गोरखालाई विकासको मोडलका रूपमा विकास गर्न चाहन्छौं,’ उनले भने । उनले महिला, दलित, मजदुर, किसान, मधेसी, मुस्लिम र आदिवासीसहित सबैले प्राप्त गरेको अधिकार दुई वर्षअघि खोस्ने प्रयास भएको र संविधान नास गर्ने प्रयास भएकाले त्यसलाई हराउन गठबन्धन बनेको दलिल बारम्बार पेस गरेका थिए ।
सिरानचोक–४, चोरकाटेका मतदातासामु दाहालले बाबुराम र आफू २५ वर्ष एउटै समितिमा बसेर काम गरेको भन्दै समयको एउटा बिन्दुमा बाबुराम एकातिर र आफू अर्कोतिर भएको स्मरण गरे । आफूहरूले एक–एकवटा राजनीतिक प्रयोग गरे पनि भनेजस्तो नभएको बताउँदै उनले भने, ‘मैले केपी ओलीसँग एकता गरेर पार्टी ठूलो बनाउँछु भनेको पनि भनेजस्तो भएन । उहाँले नयाँ शक्ति बनाउँछु भन्दा पनि भन्या जस्तो भएन । दुवैलाई ठेस लाग्यो । बुद्धि पलायो र हामी फेरि गोरखाबाट एक भएर आर्थिक विकास गर्छौं भनेर आएका छौं ।’
दाहालले मतदाता रिझाउन बाँडेको आश्वासन पत्याइहाल्ने अवस्था नरहेको कानुन व्यवसायीसमेत रहेका नागरिक अगुवा स्थानेश्वर दवाडी बताउँछन् । ‘रबर उद्योग र पालुङटार हवाई मैदान सञ्चालनका विषय विगतमा पनि एजेन्डा बने, प्रगति भएन,’ उनले भने, ‘अहिले पनि यो विषयमा पब्लिकले विश्वास गरिसकेको अवस्था छैन ।’ दाहाल उम्मेदवार बनेपछि मतदातामा विकासको अपेक्षा भने रहेको उनले बताए । ‘गोरखामा देशभरबाट नजर परेको छ, त्यसैले अन्य क्षेत्रका मानिसलाई देखाउन पनि विकास गर्नुपर्ने बाध्यात्मक स्थिति छ,’ उनले भने ।
बितेका पाँच वर्षको अनुभव हेर्दा विकासका लागि उम्मेदवारले बाँडेको आश्वासन जनताले नपत्याएको गोरखा नगरपालिकाकी पूर्वउपप्रमुखसमेत रहेकी काग्रेस नेतृ बिनाकुमारी श्रेष्ठले बताइन् । गठबन्धन गरेर निर्वाचनमा होमिएकाले यस पटक केही आशा भने पलाएको उनको बुझाइ छ । ‘प्रचण्डजी आफैं उठिरहँदा गोरखाबाट निर्वाचन लडेको उम्मेदवार प्रधानमन्त्री बन्छन् भन्ने आशा छ, प्रदेशमा चुनाव लड्नुभएका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ,’ उनले भनिन्, ‘नेताहरूले चाहे भने आफ्नो क्षेत्रमा केही गर्नचाहिँ सक्छन् ।’
