काठमाडौँ — नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चाहनाअनुसार चुनावी घोषणापत्रमा वृद्धभत्ता पाउनेहरूको उमेर घटाइएको बताएका छन् । कांग्रेसको घोषणापत्र मस्यौदा समितिले आयोजना गरेको कार्यक्रममा वाग्लेले वृद्धभत्ताको विषयलाई एकाङ्गी रुपमा मात्रै हेर्न नहुने बताए ।
'यो स्वर्णिम वाग्लेको संकल्पपत्र होइन‚ नेपाली कांग्रेसको हो । यसको सभापति शेरबहादुर देउवा हुनुहुन्छ । केन्द्रीय कमिटीमा झन्डै ८० प्रतिशत सदस्यको समर्थन उहाँलाई छ‚' वाग्लेले भने, 'उहाँको प्रगाढ इच्छा थियो कि ७० वर्षबाट ६८ वर्ष पनि उहाँले पुर्याउनु भएको हो । अबको ५ वर्षभित्र वृद्धभत्ता पाउने उमेर घटाउनुपर्ने उहाँको इच्छा प्रतिविम्बित भएको हो । यसमा मेरो व्यक्तिगत धारणाको कुरा रहेन ।'
सञ्चारकर्मीहरूले यही कुरालाई मध्यनजर गर्दै सरकारले कसरी धान्न सक्छ भन्दै विगतमा वाग्ले उठाउँदै आएको विषयमा जिज्ञासा राखेका थिए । अहिले वृद्धभत्ता भनेर वार्षिक १ खर्ब १५ अर्ब रुपैयाँ वितरण हुँदै आएको उनले बताए । २०५१ सालबाट मासिक १ सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता अहिले मासिक ४ हजार रुपैयाँसम्म पुगेको छ ।
सो कार्यक्रममा वाग्लेले कांग्रेसले कोखदेखि शोकसम्म भन्ने अवधारणामा काम गरेको बताए । 'जीवनचक्रमा जोखिमको विभिन्न स्थानमा सामाजिक सुरक्षा आवश्यकता पर्छ । त्यसलाई ध्यान दिएर घोषणापत्र बनाएका छौं‚' वाग्लेले भने, 'सामाजिक सुरक्षालाई वृद्धभत्ता मात्रै भनेर एकाङ्गी तरिकाले बुझ्नु हुँदैन ।'
