काठमाडौँ — गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्यका लागि मनाङ ‘२’का उम्मेदवार रहेका दीपक मनाङे (राजिव गुरुङ) लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्ति र भिडियो सामग्री आयोगमा प्राप्त भएको भन्दै स्पष्टीकरण सोधेको जनाएको छ । केही दिनअघि सार्वजनिक भिडियोमा गुरुङले बोलेका छन्, ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ……३० लाखमा नेपालमा चुनाव जित्छ यार……मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ ।’
आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम मंसिर ४ हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारको लागि कायम गरिएको खर्चको सीमा मिति २०७९ असोज ३१ गतेको नेपाल राजपत्रमा प्रकाशन गरिसकेको छ ।
आयोगले तोकेको खर्च सीमाभन्दा बढी निर्वाचन खर्च हुने भनी दिएको अभिव्यक्ति प्रचलित निर्वाचन कानुन, निर्वाचन आचारसंहिता र आयोगको निर्देशन समेतको विरुद्ध भएको देखिएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम तपाईंलाई कारबाही किन हुनु नपर्ने हो ? भनी गुरुङलाई प्रश्न सोधेको छ ।
यस्तै, आयोगले गुरुङलाई सोधेको छ, 'तपाईंले गर्ने निर्वाचन खर्च मनाङ जिल्ला प्रदेशसभा ‘ख’ को लागि आयोगले तोकेको खर्चको सीमा रु २३ लाख भित्र हुनुपर्छ, पर्दैन ? यदि तपाईंको अभिव्यक्ति सत्य हो भने तपाईंले मनोनयनपत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको भनेको रु १५ लाखको सक्कल बिल भौचर, तपाईंले खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैंक तथा खाता नं. र उक्त रकम प्राप्तिको स्रोत समेत खुलाई जवाफ पेस गर्नू ।'
