पर्वत — तिहार र छठ पर्व गरी पछिल्लो एक साता नै सार्वजनिक बिदा पर्यो । व्यवसाय, जागिर तथा अध्ययनको सिलसिलामा घरबाहिर रहेका सर्वसाधारण बिदाको सदुपयोग गर्दै गाउँ–सहर फर्किएका छन् । परिवार र आफन्तसँगको भेटघाटका अलावा उनीहरूमाझ बर्खे बाली धान, कोदो काट्ने र थन्क्याउने चटारो पनि छ । स्थानीयको यही व्यस्तता आसन्न आमनिर्वाचनका उम्मेदवारका लागि भने सुनौलो अवसर बनेको छ ।
कतिपयले खेती थन्क्याउन सहयोग गरेर मतदाता रिझाउने प्रयास गरिरहेका छन् । अन्य समयमा अत्यावश्यक कामले फोन सम्पर्क गर्दासमेत बेवास्ता गर्ने नेताहरू यतिबेला घरदैलो र खेतमै पुगेर नमस्कार गर्दा मतदाता पनि दंग छन् ।
‘अरू बेला हामीले जतिसुकै भेट्न खोज्दा पनि नसकिने,’ मोदी–२ की पूर्णकला क्षेत्रीले भनिन्, ‘अहिले भने खेतबारीमै भेट्न आउनुभएको छ । हाम्रो पनि आवश्यकता हुने रहेछ भन्ने बल्ल नेताले चेतेका छन् । उनीहरू आउँछन् भनेर घरमै कुरेर बसेर हाम्रो काम फत्ते हुने होइन ।’ क्षेत्रीजस्तै धाइरिङकी नवीना आचार्यलाई पनि नेताले ५ वर्षमा एकपटक भए पनि सम्झेर खेतबारीमै आइपुगेको देख्दा अचम्म छिन् । ‘हुन त नेताहरूले हाम्रो काममा सघाउने होइनन्, हाम्रा दुःख जो आए पनि उस्तै हो,’ उनले थपिन् ।
नेताहरू निर्वाचनका बेलामा मात्रै मतदातामाझ पुग्ने प्रवृत्तिदेखि सर्वसाधारण असन्तुष्ट छन् । तर, ५ वर्षमा आफ्नो प्रतिनिधि छान्ने अवसर आउँदा मतदातामा उत्साह भने छ । अहिले उनीहरू कसलाई मत दिने भन्ने सोच बनाइरहेको बताउँछन् ।
दसैं मनाउन विदेशबाट गाउँ फर्किएका कार्कीनेटाकै दीपेश परियार पनि निर्वाचनप्रति उत्साहित छन् । ‘अघिल्लो पटक भोट हाल्न पाइएन । यसपालि भोट हालेरै फर्किने हो,’ उनले भने, ‘जितेर गएकाहरूले कैयौं युवा रोजगारीकै लागि घरपरिवार छाडेर परदेश जानुपर्ने बाध्यताको अन्त्यका लागि काम गर्न सक्नुपर्छ ।’
मुलुकको खस्कँदो आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले संघीयता भनिए पनि अधिकार र सेवासुविधामा सीमित नेता तथा दलको मनोमानी रहेको भन्दै आक्रोश पोखे । ‘गाउँमा विकास चाहिएको छ । मजस्ता युवा परिवार पाल्नकै लागि बिदेसिनु परेको छ । अब नेतृत्वले यो विषयमा गम्भीर भएर सोच्नुपर्छ,’ उनले दोहोर्याए, ‘हामीले पनि विकासप्रेमी नेता छान्नुपर्नेछ ।’
१ लाख २२ हजार ६ सय ४९ मतदाता रहेको पर्वतमा प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्रै निर्वाचन क्षेत्र छ । प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट कांग्रेसका अर्जुनप्रसाद जोशी तथा एमालेका पदम गिरी चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रको समेत साथ पाएका गिरीले त्यसअघिका ३ निर्वाचन जितेका जोशीलाई झन्डै १३ हजार मतान्तरले पराजित गरेका थिए । यस पटक गिरीलाई आफ्नै पार्टी फुट र माओवादीसमेत सत्ता गठबन्धनमा रहेकाले चुनौती छ ।
प्रदेशसभा सदस्यतर्फ क्षेत्र–१ मा गठबन्धनबाट माओवादी केन्द्रका सुदीप कुँवर र एमालेबाट भक्त कुँवर उम्मेदवार छन् । त्यस्तै, क्षेत्र–२ मा गठबन्धनबाट कांग्रेसका ऋषिकेश तिवारी र एमालेका मित्रलाल बस्याल चुनावी मैदानमा छन् ।
