एसपीपी : दूतावासको दाबी नेपाली सेनाद्वारा खण्डन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसपीपी : दूतावासको दाबी नेपाली सेनाद्वारा खण्डन

नेपालकै आग्रहमा सन् २०१९ मा नै एसपीपीको सदस्यता दिएको र यो प्रक्रिया पूरा भइसकेकाले थप सम्झौता गर्नुनपर्ने अमेरिकी दूतावासको भनाइ
एसपीपीसम्बन्धी कुनै पनि समझदारी नगरेको, त्यस्तो प्रक्रिया नभएको र भविष्यमा कोहीसँग पनि सैनिक साझेदारी नगर्ने नेपाली सेनाको प्रस्टोक्ति
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेपछि अन्योल झन् बढेको छ । दूतावासले बुधबार पत्रकार सम्मेलन गरेर नेपाली सेना र अमेरिकाको युटाहा नेसनल गार्डबीच साझेदारी कायम भइसकेको बताएलगत्तै नेपाली सेनाले त्यस्तो सम्झौता नभएको र भविष्यमा पनि नहुने स्पष्ट पारेको छ । त्यस्तै नेपाल सरकारले पनि त्यस्तो सम्झौता नगर्ने बताएको छ ।


नेपाली सेना र अमेरिकाको युटाह नेसनल गार्डसँग साझेदारी गर्न तयार पारिएको मस्यौदा सार्वजनिक भएपछि सञ्चारमाध्यम तथा संसद्मा नेपाल सरकारको स्पष्टीकरण मागिएको छ । असंलग्न परराष्ट्र नीतिविपरीत सैन्य गठबन्धनमा नेपाल सहभागी भए उम्कनै नसक्ने चंगुलमा फस्ने भन्दै दलका नेता, सांसद, भूराजनीतिक विषयका ज्ञाताहरूले सरकारको खबरदारी गरिरहेका बेला अमेरिकी राजदूतावासका अधिकारीहरूले भने त्यस्तो प्रक्रिया पूरा भइसकेको दाबी गरेका हुन् । उपनियोग प्रमुख मानुएल पी मिकलरले एसपीपीमा सामेल हुन नेपालले दुईपटक निवेदन दिएको दाबी गरे । उनले पत्रकारहरूसँग भने, ‘नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि हामीले सन् २०१९ मा स्वीकार गरेका हौं, नेपाली सेना र अमेरिकाको युटाहा नेसनल गार्डसँग साझेदारी कायम भएको छ ।’

उपप्रमुख मिकलरले एसपीपीमा सदस्यताका लागि नेपालले गरेको अनुरोध अमेरिकाले स्वीकार गरेकाले थप सम्झौताको प्रावधान नै नरहेको भनाइ राखे । ‘एसपीपी कुनै सैन्य गठबन्धन होइन, सदस्य बन्न अमेरिकाले कुनै दबाब दिएको छैन । सदस्य बन्न नेपालले अनुरोध गरेको हो, अमेरिकाले स्वीकार गरेको हो, यसमा थप सम्झौता गर्नुपर्ने केही छैन,’ मिकलरले भने ।

एसपीपीबारे अमेरिकाको प्रष्टोक्ति : 'नेपालले दुईपटक अनुरोध गर्‍यो, हामीले स्वीकार्यौं'

एसपीपीमा द्विपक्षीय फाइदाका कार्यक्रम रहेको टिप्पणी गर्दै उनले भने, ‘जनताबीचको सम्बन्ध, कूटनीतिक संलग्नता, सेनाबीचको सहकार्य, व्यापार र समान विचारलाई बलियो बनाउँछ । एसपीपीअन्तर्गत प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागीजस्ता समस्यामा तुरुन्त उद्धार गर्न दुई सेनाबीच सहकार्य हुन्छ ।’

दूतावासले एसपीपी प्रक्रिया पूरा भएको दाबी गरेपछि बुधबार साँझ नेपाली सेनाले विज्ञप्ति जारी गरी ‘एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सरकार वा सेनासँग नगरेको र त्यस्तो प्रक्रियासमेत नभएको’ स्पष्ट पारेको छ । सेनाले थप भनेको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति र सामरिक संवेदनशीलतालाई प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोहीसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रस्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चारजगत्लाई जानकारी गराइन्छ ।’

सरकारले पनि एसपीपीका सम्बन्धमा अमेरिकाबाट कुनै प्रस्ताव नै नआएको दाबी गरेको छ । संसद्मा बुधबार बोल्दै कानुनमन्त्री गोविन्द कोइरालाले भने, ‘नेपाल सरकारका तर्फबाट यस सदनलाई भन्न चाहन्छु, नेपालले स्टेट पार्टनरसिप प्रोग्रामका लागि इन्भाइट गरेको छैन । प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन । वनको बाघले होइन, मनको बाघले नखाओस् ।’

सैन्य साझेदारीको प्रस्ताव, चौतर्फी विरोध

पूर्वपराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने एसपीपीबारे अमेरिकाबाट प्रस्ताव आएको र आफूहरूले रोकेको जनाएका छन् । बुधबार संसद्मा बोल्दै उनले भने, ‘केपी शर्मा ओली नेतृत्व सरकारका पालामा पनि कुरा आएको हो तर उक्त सम्झौताका समग्र पक्षबारे अध्ययन गरेर मात्रै जवाफ दिने भनेर होल्डमा राखिएको थियो । त्यसले परराष्ट्र सम्बन्धमा पार्ने प्रभावलगायतका विषयलाई लिएर अध्ययन नगरेसम्म केही जवाफ नदिने भनेर स्थगित गरिएको थियो ।’ तर यसको पछिल्लो स्थितिका विषयमा सरकारले नै जवाफ दिनुपर्ने प्रमुख प्रतिपक्षीको माग छ ।

मस्यौदा सार्वजनिक भएपछि दबाबमा परेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र र गठबन्धनका सहयोगीहरूसँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा एसपीपीमा हस्ताक्षर हुन लागेको चर्चा भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूले बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीसँग सरोकार राखेका थिए । जवाफमा देउवाले मुलुकको असंलग्न चरित्रलाई आघात पुग्ने वा रणनीतिक साझेदारीका कुनै पनि गठबन्धनमा सहभागी हुने गरी हस्ताक्षर नगर्ने प्रस्ट पारेका छन् ।

प्रधानमन्त्रीसँग बुधबार भएको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । भेटपछि नेता नेपालले पार्टीको बैठकमा यसबारे जानकारी दिएका थिए ।

‘आज बालुवाटारमा प्रचण्ड, म र उपेन्द्र यादवबीचमा प्रधानमन्त्रीजीले स्पष्ट कुरा गर्नॅभएको छ । उहाँको क्लियर कुरा छ, देशको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्त्वको सम्झौतामा हस्ताक्षर हुने काम मबाट हुँदैन । अरू कसैले भनेर, दबाब दिएर हुनेवाला छैन । म यो विषयमा प्रस्ट छु भन्नुभएको छ,’ नेपाललाई उद्धृत गर्दै समाजवादीका एक नेताले भने ।

प्रकाशित : असार २, २०७९ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्

करणको द्रुत गति

विश्व क्रिकेट लिग २ यात्रामा ३२ विकेट लिएका करण केसी सर्वाधिक विकेट लिने नेपाली बलर
विनोद पाण्डे

ह्युस्टन, अमेरिका — करण केसीका लागि कुनै बहाना चाहिँदैन । किनभने नेपाली क्रिकेटमा एउटा भनाइ स्थापित छ, हरेक दिन करण केसीको दिन । केही अपवाद छाड्ने हो भने करण कुनै न कुनै दिन खेलमा छाएकै हुन्छन् । चाहे त्यो ब्याटबाट होस् या बलबाट ।

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

नेपालको अमेरिका भ्रमण पनि यस्तै रह्यो । विश्वकप लिग २ का तीनमध्ये २ खेलमा करणले यस्तै प्रभावशाली प्रदर्शन दिएका छन् । उनले ओमानसँगको २ खेलमा दुवैमा ५–५ विकेट लिएका छन् । यसअघिका १९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले तीन पटक ४–४ विकेट लिए पनि ५ विकेट लिन सकेका थिएनन् ।

ह्युस्टनमा उनले ३ खेलमा दुईपल्ट ५–५ विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । करणअघि तीन पटकमात्र नेपाली खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा एकै खेलमा ५–५ वा त्यसभन्दा बढी विकेट लिएका छन् । सन्दीप लामिछाने जस्तै करणले पनि नेपालबाट दुई एकदिवसीय अन्तर्राष्ट्रियमा ५–५ विकेट लिने कीर्तिमान बनाएका छन् । अर्को एकै खेलमा ५ विकेट लिने कीर्तिमान सोमपाल कामीको नाममा छ ।

करणले टेक्सासको उच्च आद्रतामा ओमानविरुद्ध अघिल्लो साता पहिलो खेलमा १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिएका थिए भने मंगलबार सोही किसिमको प्रदर्शन दोहोर्‍याउँदै ओमानविरुद्ध १० ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । ब्याटिङका लागि उपयुक्त मानिएको मोसा क्रिकेट मैदानको विकेटमा करणलाई बलिङमा राम्रो प्रदर्शन गर्न साथ दिएको छ । यहाँको हावा लागिरहने मौसममा तीव्र गतिका बलरलाई बल स्विङ गर्न सबैभन्दा राम्रो समय हो ।


‘विकेट ब्याटिङमैत्री छ, यदि बलरले आफ्नो नियमित कार्य गर्ने हो भने तीव्र गतिका बलरहरू सुरक्षित हुन्छन् । मैले आफ्नो नियमित कार्यमात्र गरेको हुँ, अरू त्यस्तो केही छैन । जसरी पनि रन कम दिने रणनीति हो । त्यसरी बलिङ गर्ने हो भने दबाब हुन्छ र विकेट पनि पाइन्छ,’ करणले ओमानसँगको खेलपछि भने, ‘नयाँ बलमा १–२ ओभर सहज हुन्छ । आफ्नो योजना स्पष्ट हुने हो भने केही गाह्रो छैन ।’

करण र सन्दीपले नेपालको लिग २ यात्रामा सबै १५ खेल खेलेका छन् । करण ३२ विकेटका साथ नेपाली बलरमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । सन्दीपले २९ विकेट लिएका छन् । ‘पछिल्ला दुई वर्षमा नेपालमा नियमित क्रिकेट भइरहेको छ, त्यसले हामी सबै खेलाडी व्यस्त छौं । त्यसैले समय निकाल्न गाह्रो छ, यसको फाइदा खेलाडीलाई छ,’ करण नियमित एकरुपको प्रदर्शनका कारण दिँदै फिजियो (विक्रम न्यौपाने), ट्रेनर (साहिद केशभानी) ले गर्दा पनि खेलाडीहरू राम्रो लयमा भएको सुनाउँछन् ।


करणले चैतमा नेपालमा सम्पन्न त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । उनले कुल ५ खेलमा १३ विकेट लिएका थिए भने फाइनलमा पपुवा न्युगिनीविरुद्ध १२ बलमा अविजित ३३ रन बनाएका थिए । पपुवा न्युगिनीविरुद्धको राउन्ड रोबिनको खेलमा उनले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिँदै ५ विकेट पूरा गरेका थिए ।

उनले ह्युस्टनमा भने ब्याटिङमा आफ्नो प्रभाव देखाउन सकेका छैनन् । तल्लोक्रममा ब्याटिङ गर्ने उनी ओमानविरुद्ध ८ रनमा आउट भएका थिए भने अमेरिकाविरुद्ध खाता खोल्न सकेनन् । ब्याटिङमा आफूले खासै समय नपाएको र सही समयको प्रतीक्षामा रहेको उनको तर्क छ ।


नेपाली क्रिकेट अहिले जहाँ छ, करणको ब्याटिङमा एउटा इनिङ्समा देखाएको म्याचका कारण छ । सन् २०१८ मा नेपाल विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडासँग पराजय नजिक पुगेको अवस्थामा करणले ३१ बलमा अविजित ४२ रन बनाउँदै नेपाललाई विश्वकप छनोटमा पुर्‍याएको थियो । त्यहींबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा थालेका हो । करण र नेपाली क्रिकेट यस्तै अविस्मरणीय इनिङ्सको प्रतीक्षामा छ ।

प्रकाशित : असार २, २०७९ ०६:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×