१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भारतमा संक्रमण बढ्दै, नेपालमा छैन सतर्कता

स्थानीय निर्वाचनताका भारतमा रहेका नेपाली घर फर्कने भएकाले संक्रमण अझै बढ्ने जोखिम
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ को संक्रमण दुई सातायता केही बढेको पाइएको छ । भारतमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘बीए २.१२’ कारण पछिल्ला दिनमा संक्रमण बढेको छ । त्यसकै कारण नेपालमा पनि संक्रमण वृद्धि भएको आशंकामा स्वास्थ्य सेवा विभागले अनुसन्धान सुरु गरेको छ ।

भारतमा संक्रमण बढ्दै, नेपालमा छैन सतर्कता

‘केही सातायता कोभिडको संक्रमण दर अलिकति बढेको देखिएको छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले भने ।

हाल मुलुकभर कोभिडका सक्रिय संक्रमित १ सय ८५ जना छन् भने मंगलबार संक्रमण दर ०.३५ प्रतिशत देखिएको छ । मंगलबार २ हजार ३ सय ७६ नमुनाको पीसीआर परीक्षण गर्दा १२ जनामा र १ हजार २ सय ५८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । संक्रमण बढे पनि सघन उपचार (आईसीयू र भेन्टिलेटर) मा कोही पनि बिरामी नरहेको विभागले जनाएको छ ।

भारतमा देखिएको नयाँ भेरिएन्ट ‘बीए २.१२’ भने हालसम्म नेपालमा देखिएको छैन । नेपालमा हालसम्म ‘बीए २’ भेरिएन्ट नै देखिए पनि भारतको बिहार, नयाँदिल्लीलगायत ठाउँमा ‘बीए २.१२’ भेरिएन्ट पुष्टि भइसकेकाले चनाखो हुनुपर्ने निर्देशक डा. दासले बताए ।

भारतको सीमावर्ती बिहार राज्यमा समेत ओमिक्रोन परिवारको ‘बीए २’, ‘बीए २.१०’, बीए २.१०.१’ र बढी खतरनाक मानिएको ‘बीए २.१२’, समेत पुष्टि भएको छ । दिल्लीमा यसअघि नै ‘बीए २.१२.१’ पहिचान भइसकेको छ । ‘बीए २.१२’ भेरिएन्ट सबैभन्दा पहिले अमेरिकामा देखिएको थियो । यो भेरिएन्ट तेस्रो लहरको ‘बीए २’ को तुलनामा १० गुणा बढी खतरनाक रहेको बताइएको छ । ‘बीए २.१२’ भेरिएन्ट ‘बीए १’, र ‘बीए २’ र ‘एक्सई’ भन्दा फरक पाइएको छ । डा. दासका अनुसार ‘एक्सई’ ‘रिकम्बिनेसन’ भेरिएन्ट हो भने ‘बीए २.१२’ ‘म्युटेन्ट’ भेरिएन्ट हो । ‘एक्सइ’ र ‘बीए २.१२’ भेरिएन्टका बारेमा पर्याप्त तथ्यांकसमेत उपलब्ध नभएको डा. दासले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार हालसम्म गरिएको परीक्षणमा ९९ प्रतिशतभन्दा बढी नमुनामा ‘बीए २’ भेरिएन्ट र एक प्रतिशतभन्दा कम नमुनामा ‘बीए १’ भेरिएन्ट देखिएको छ । यहाँ ‘बीए २.१२’ पुष्टि नभए पनि स्थानीय निर्वाचनताका भारतबाट उल्लेख्य संख्यामा नेपाली घर फर्कने भएकाले संक्रमणको जोखिम बढ्ने अनुमान गरिएको छ । पछिल्ला दिनमा भारतको उत्तर प्रदेश र दिल्लीमा कोभिडको संक्रमण उकालो लागेको छ ।

नेपालसँग सिमाना जोडिएका बिहार, पश्चिम बंगाल, महाराष्ट्र, उत्तराखण्डलगायत राज्यमा समेत संक्रमण हरेक दिन बढ्दो क्रममा छ । यी राज्यमा रोजगारीका लागि जाने नेपालीको बाक्लो उपस्थिति छ । भारतमा रहेका नेपाली स्थानीय चुनावका लागि स्वदेश फर्कन थालिसकेका छन् । स्थल नाकामा कोरोना परीक्षण र होल्डिङ सेन्टरको व्यवस्था राम्रो नहुनाले संक्रमण गाउँसम्मै पुग्ने जोखिम छ ।

नयाँ भेरिएन्ट नआएसम्म कोभिडको चौथो लहर वा थप खतराको जोखिम कम भए पनि नाकामा निगरानी बढाउनुपर्ने विज्ञहरू बताउँछन् । ‘हरेक लहर नयाँ भेरिएन्टले गर्दा आउँछ भन्ने देखिसक्यौं, हाल ओमिक्रोन र यसको ‘सब–भेरिएन्ट’ नै देखिए पनि ‘बीए २.१२’ वा नयाँ भेरिएन्टबारे निगरानी जारी राख्नुपर्छ,’ ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने ।

केही दिनयता संक्रमणमा वृद्धि भएकाले ईडीसीडीले कारणमाथि अनुसन्धान थालेको छ । ईडीसीडीले संक्रमण वृद्धिमा ‘बीए २.१२’ भेरिएन्टको सम्बन्ध छ वा छैन भन्ने पत्ता लगाउन संकलित नमुनाहरूको जिन सिक्वेन्सिङ गरिरहेको ईडीसीडीले जनाएको छ ।

प्रकाशित : वैशाख २८, २०७९ ०६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?