निर्वाचन आयोगले दाहाललाई सोध्यो २४ घण्टे स्पष्टीकरण

वैशाख २७, २०७९

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ  । वैशाख २३ गते भरतपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिबारे आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।

मंगलबार नेपाली कांग्रेस(बीपी) दाहालविरुद्ध मतदातालाई धम्क्याएको भन्दै उजुरी दिएको आयोगले जनाएको छ । 

आयोगले दाहाललाई सोधेको स्पष्टीकरणमा भनेको छ, 'यहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनमा जान्छ भन्नुको अन्तरनिहित मनसाय के हो ? यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानुनविपरीत छ, छैन ?' स्पष्टीकरणमा आयोगले दाहाललाई सोधेको छ, 'कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ/हुँदैन ?' आयोगले दाहाललाई स्पष्टीकरण पेस गर्नका लागि २४ घण्टाको समयसीमा तोकेको छ । 

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully