‘तोकिएको ठाउँमा उभिएपछि भोट मानिन्थ्यो’


धनकुटा — सिकुवामा बसेका परपर हेरिरहेका ओमनारायण श्रेष्ठले कार्यकर्ताको हूल बोकेर घर आइपुगेका उम्मेदवार देखेपछि आँखा चम्किलो पारे । प्रसन्न मुद्रामा थरथर काँप्दै गरेका हात उम्मेदवारको टाउकोमा राखेर आशीर्वाद दिए । सय वर्ष कटिसकेका यी वृद्ध बाको आशीर्वाद थाप्न टाढाटाढाबाट उनको घर ताकेर उम्मेदवारको लर्को लाग्यो ।



नागरिकतामा १०१ वर्ष लेखिए पनि धनकुटाको महालक्ष्मी नगरपालिका–७ मारेक टोलका श्रेष्ठ परिवारका अनुसार ओमनारायण १०६ वर्षका भए । उनका हजुरबा मरेक कटहरे गाउँबाट बसाइँ सरेर आएकाले ओमनारायणको परिचय गाउँटोलमा ‘मारेक बा’ का रूपमा छ । चुनावको चहलपहल देख्दा मारेक बालाई २०१५ सालको संसदीय निर्वाचनयताका धमिलो दृश्य सम्झनामा आउँछन् । त्यतिबेला उनी गाउँबाट एक घण्टाको दूरी हिँडेर मतदान गर्न पुगेका थिए । ‘चौतारोमा मतदान स्थल राखिएको थियो,’ उनले मधुरो स्वरमा सुनाए, ‘त्यतिबेला सँगै मतदान गरेकाहरू सबै दिवंगत भइसके ।’
गाउँटोलमा सबैले चिन्ने भएकाले त्यतिबेला आफूलाई मतदानस्थलमा कसैले नरोकेको र कुनै परिचयपत्र नमागेको सम्झना पनि उनीसँग छ । ‘मतदानस्थलमा धेरैजसो पुरुषमात्रै थिए, महिला त निकै कम,’ उनी सम्झन्छन्, ‘महिलाहरू घरधन्दाको काममा व्यस्त हुने भएकाले त्यस्तो भएको हो कि !’ उतिबेला अहिलेजस्तो मतदान गोप्य नहुने र मतदानस्थलमा कडा सुरक्षा पनि नरहेको उनले सुनाए । ‘मतपेटिका पनि थिएन । आफूले चुन्ने उम्मेदवारका लागि छुट्याइएको ठाउँमा उभिने र त्यसैका आधारमा जितहार छुट्याउने काम हुन्थ्यो,’ उनले भने ।
उम्मेदवारहरूले पैसा र भोज खुवाएर मतदातालाई प्रभावित पार्ने गरेका खबर उनले पनि सुनेका छन् । २०१५ सालको चुनावताका यस्तो प्रवृत्ति थिएन ।‘पैसै दिएर मतदाता प्रभावित गराउने चलन त थिएन, पेटभरि धानको भात खुवाएर भने फकाउँथे,’ उनी भन्छन् ।
फुर्सदको समयमा सिकुवामा बसेर श्लोक वाचन गर्ने र मुरलीको धुनमा रमाउने मारेक बा उतिबेलाका चुनाव सम्झिँदा पुराना दिनमै फर्किएजस्तो देखिन्छन् । उनले विगतमा जस्तै यसपालि पनि घरदैलोमा भोट माग्न आएका समूहलाई ‘देशलाई माया गर्ने भए मात्र भोट हाल्छु’ भन्दै आशीर्वाद दिएर पठाए । ‘वर्षौंदेखि भोट दिँदै आएको हो, सबैलाई देशलाई माया गर्नुपर्छ भन्दै आएको छु,’ उनले भने ।
८० वर्षपहिले दार्जिलिङमा चिया कमानमा काम गरेका मारेक बा त्यहाँबाट फर्केर धनकुटा बजार आए र ५२ ढोके दरबारमा केही वर्ष चौकीदारी गरे । राणा, पञ्चायत, बहुदल र लोकतन्त्र सबै व्यवस्था देखेभोगेका बाले वर्षौंदेखि भोट हाल्दै आए पनि अझै देशमा सुधार हुन बाँकी रहेको बताए । ‘मलाई पटक्कै अल्छी लाग्दैन, बरु केही काम नगरी बस्दा मात्र बेस्सरी अल्छी लाग्छ, मैजस्ता जाँगरिलालाई भोट दिऊँ लाग्छ,’ उनले भने ।
उम्मेदवारहरूले पैसा र भोज खुवाएर मतदातालाई प्रभावित पार्ने गरेका खबर उनले पनि सुनेका छन् । २०१५ सालको चुनावताका यस्तो प्रवृत्ति थिएन । ‘पैसै दिएर मतदाता प्रभावित गराउने चलन त थिएन, पेटभरि धानको भात खुवाएर भने फकाउँथे,’ उनी भन्छन् ।