एमालेले सातै प्रदेशमा प्रशिक्षण गर्ने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्थानीय तहको निर्वाचन

एमालेले सातै प्रदेशमा प्रशिक्षण गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ । एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो । 

केन्द्रीय सदस्य आइन्द्रसुन्दर नेम्वाङले सातै प्रदेशमा फागुन १ गतेदेखि १७ गतेसम्म चुनावकेन्द्रित प्रशिक्षण कार्यक्रम हुन लागेको जानकारी दिए ।

  • फागुन १ र २ गते प्रदेश १ को विराटनगरमा
  • फागुन ३ र ४ गते मधेस प्रदेशको जनकपुरमा
  • फागुन ६ र ७ गते वाग्मती प्रदेशको काठमाडौंमा
  • फागुन ८ र ९ गते गण्डकी प्रदेशको पोखरामा
  • फागुन ११ र १२ गते लुम्बिनी प्रदेशमा
  • फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा
  • फागुन १६ र १७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा

प्रशिक्षणमा १० औं राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक, संगठनात्मक र शैलीगत विषयहरु, स्थानीय तहमा एमालेको पाँच वर्षः उपलब्धि र अनुभवहरु तथा स्थानीय तह निर्वाचन तयारीबारे छलफल हुने उनले बताए ।

प्रशिक्षणमा सम्बन्धित प्रदेशका इञ्चार्ज तथा सहइञ्चार्जहरु, प्रदेश कमिटी पदाधिकारीहरु, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज र सहइन्चार्जहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु, एमालेबाट निर्वाचित जिसस प्रमुख वा उपप्रमुख, गाउँपालिका प्रमुख वा उपप्रमुख र पार्टीका पालिका अध्यक्षहरू सहभागी हुनेछन् ।

प्रकाशित : माघ २५, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

उडान प्रतिबन्ध फुकुवा गर्न गृहमन्त्रीलाई बेदिङवासीको आग्रह

हिमपातसँगै दोलखाको बेदिङ सम्पर्क विच्छेद
केदार शिवाकोटी

दोलखा — दोलखाको अति दुर्गम क्षेत्र बेदिङका स्थानीयहरूले उडान प्रतिबन्ध फुकुवा गर्नुपर्ने मागसहित गृहमन्त्रीलाई भेटेका छन् । हरेक वर्ष हेलिकप्टर उडान प्रतिबन्धका कारण स्थानीयहरूले ज्यान गुमाउनु परेको भन्दै बेदिङका बासिन्दाले गृहमन्त्री समक्ष प्रतिबन्ध फुकाइदिन आग्रह गरेका छन् ।

माउण्ट एभरेष्ट समिटर क्लब दोलखाका अध्यक्षसमेत रहेका दावाछिरि शेर्पाको नेतृत्वमा बेदिङवासीहरू उडानको समस्या लिएर गृहमन्त्रालय पुगेका हुन् । शेर्पाका अनुसार उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई निवेदन पेस गर्दै उडान फुकुवाको आग्रह गरेका हुन् ।

लगातारको हिमपातले बेदिङ सम्पर्क विच्छेदमा परेको भन्दै उक्त गाउँको अवस्था बुझिदिन पनि उनीहरूले गृहमन्त्रीलाई आग्रह गरेका छन् । जिल्लाका विभिन्न निकायमा बेदिङको अवस्था र हेलिकप्टर प्रतिबन्धको समस्या लिएर धाउँदा कतैबाट पनि समस्या समाधान नभएपछि गृहमन्त्री भेट्न पुगेको शेर्पाले बताए ।

‘वडा गाउँपालिका र सिडिओ कार्यालय धाएँ । तर कतैबाट बेदिङको अवस्थाका बारेमा जानकारी दिइएन, सरकारलाई बेदिङको समस्या सुनाउन पुगेका हौं,’ उनका अनुसार हिमपात भएसँगै २ सातादेखि बेदिङ सम्पर्क विच्छेद बनेको छ । शेर्पाले बेदिङमा केही दिनदेखि नै टेलिफोन सम्पर्क नभएकाले के भइरहेको भन्ने जानकारी पनि नआएको बताए ।

शेर्पाले भनेका छन्, ‘हाल बेदिङको अवस्था के छ कसैलाई थाहा छैन । टेलिफोन नलागेको धेरै भइसक्यो, कसरी बसेका होलान गाउँले भनेर चिन्ता लागेको छ ।’

जिल्लाको गौरीशंकर गाउँपालिका-९ मा पर्ने बेदिङसम्म पुग्न सडक भएको स्थानबाट कम्तीमा दुई दिन लाग्छ । बेदिङबाट माथिल्लो गाउँ ना पुग्न थप एक दिन लाग्छ । यी गाउँ पर्यटकीय क्षेत्र रोल्वालिङ उपत्यकामा पर्छन् ।

च्छो-रोल्पा हिमताल जाने पर्यटक यही गाउँमा बस्ने गर्छन् । ८३ परिवार रहेको बेदिङका अधिकांश घरहरू होमस्टेको रुपमा संचालनमा रहेका छन् । दूरसंचार प्राधिकरणले नेपाल टेलिकमको टावर संचालनमा ल्याए पनि यस क्षेत्रमा हिमपातका कारण सञ्चार सेवा एक महिनादेखि अवरुद्ध बनेको छ । च्छो-रोल्पा हिमपातको सूचनाका लागि टेलिकमले उक्त क्षेत्रमा मोबाइल सेवा संचालनमा ल्याएको हो ।

लिखित निवेदनसहित गृहमन्त्रीलाई भेट्न पुगेका शेर्पाले आफ्नो गाउँबारे अवस्था गृहमन्त्रीलाई सुनाएका थिए । जवाफमा गृहमन्त्री खाँणले बेदिङको अवस्था तत्काल बुझरे सूचना दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि बेदिङमा हेलिकप्टर उडान प्रतिबन्ध फुकुवा नगर्दा स्थानीयहरूले उपचार नपाएरै ज्यान गुमाउने गरेको समाचार इकान्तिपुरमा प्रकाशित थियो । ‘मन्त्रीज्यूले गाउँको अवस्था हेर्नुभयो । तत्काल समस्या समाधान गरिदिने वाचा गर्नुभएको छ, विश्वास छ अब प्रतिबन्ध हट्छ,’ गृहमन्त्रीसँग भेटेपछि शेर्पाले कान्तिपुरसित भने ।

हेलिकप्टर उडाउने अनुमति माग्दामाग्दै उपचार नपाएर मृत्यु

प्रकाशित : माघ २५, २०७८ १६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×