दाहाललाई कोरोना संक्रमणपछि प्रधानमन्त्रीसहित शीर्ष नेता कन्ट्याक्ट ट्रेसिङमा- समाचार - कान्तिपुर समाचार

दाहाललाई कोरोना संक्रमणपछि प्रधानमन्त्रीसहित शीर्ष नेता कन्ट्याक्ट ट्रेसिङमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएको छ । अध्यक्ष दाहालसँगै माओवादीका शीर्ष नेताहरूलाई पनि कोरोना संक्रमण भएको छ ।

सामान्य ज्वरो आएपछि शुक्रबार साँझ स्वाब परीक्षण गर्दा दाहाललाई कोभिड-१९ पोजिटिभ देखिएको थियो । दाहाल शुक्रबार बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संलग्न थिए ।

माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ पनि बैठकमा सहभागी थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए । दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैठकमा सहभागी सबै नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

कांग्रेस उपसभापति खड्का भने माओवादी अध्यक्ष दाहाललाई कोरोना संक्रमण पुष्टि भइसकेपछि आफू आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

दाहालको सचिवालयले स्वास्थ्यमा असहजता देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 'अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी एन्टिजेन र आरटी-पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ । स्वास्थ्य अवस्था सामान्य छ,' दाहालको सचिवालयले भनेको छ, 'यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले स्वास्थ्य सतर्कता अपनाइदिनु हुनेछ । स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेसनमा रहनु हुनेछ ।'

दाहाल निवास खुमलटारमा बस्दै आएका सबैको शुक्रबार पीसीआर परीक्षण गरिएको थियो । जसमा उनका स्वकीय सचिव रमेश मल्ललाई पनि संक्रमण भेटिएको थियो । दाहाललाई ज्वरो आएको थियो भने मल्ललाई खोकी लागेको बताइएको छ ।

त्यसअघि दाहाललाई बधाई दिन आएका र उनीसँग बैठकमा रहेका नेता तथा कार्यकर्ताहरूलाई कोरोना संक्रमण भेटिएको थियो । ८ औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीबाट दाहाल अध्यक्षमा पुस १९ गते निर्विरोध चयन भएका थिए । त्यसपछि दाहाल निवासमा बधाई दिनेको भीड लागेको थियो ।

दाहालसँग निरन्तर सम्पर्कमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । त्यस्तै, माओवादी नेताहरू मातृका यादव, हरिबोल गजुरेल, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, वाइसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई पनि कोरोन संक्रमण भएको छ । यी नेताहरू पछिल्लो समय दाहालको सम्पर्कमा रहेका थिए ।

प्रकाशित : पुस २४, २०७८ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहको विकास, घरघरमा सडक

सुविधाभन्दा जोखिम बढी
विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिकाको घाँजरीपिपलको संग्रही, मैदु तथा वडा कार्यालय नजिकैसम्म पुग्न २०६४ मा पहिलो पटक सल्लीबजार नजिकैबाट कृषि सडक खनियो । संघीयतापछि स्थानीय तहले स्वारा, अम्रा, ढोरपिपल हुँदै पाँच ठाउँबाट सडक खनेको छ । उक्त स्थानमा पुग्न अहिले ६ वटा मोटरबाटो छन् । एउटै गाउँमा पुग्न धेरै सडक भए पनि स्थानीयले त्यसको सहज रुपमा प्रयोग गर्न पाएका छैनन् । वर्षात्‌को समयमा स्थानीय सधैं हिँडेर आउजाउ गर्न बाध्य हुने गरेका छन् । 

शारदा नगरपालिकाको खलंगाबाट रानीकोट जाने ग्रामीण सडक २०५४ सालमा जोडियो । त्यसपछि स्थानीय तहले रानीकोटकै बिच गाउँमा जाने भन्दै २०७४ मा अर्को सडक खन्यो । त्यसैगरी तल्नो गाउँमा जाने भन्दै अहिले अर्को सडक खनिरहेको छ भने तल्नो मार्के तथा हिवल्चाबाट समेत सडक जोडिँदै छ । विभिन्न स्थानबाट सडक जोडिए पनि दुई सडकमा भन्दा अन्य सडकमा नियमित गाडी चल्न सकेका छैनन् ।

संघीयता पश्चात जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तहले विकासको नाममा वडाका केन्द्र पुग्नेमात्र नभई घरघर पुग्ने सडक निर्माण गरेका छन् । विकासको मुख्य आधार सडक भन्दै स्थानीय तहले सडक खने पनि स्थानीयले भने पूर्ण रुपमा त्यसको सदुपयोग गर्न पाएका छैनन् । स्थानीय तहले खनेका अधिकांश सडक कच्ची भएकाले नियमित गाडी सञ्चालनमा नआउँदा वर्षमा ६ महिना हिँडेर आउजाउ गर्न बाध्य हुँदै आएका छन् स्थानीय । प्रत्येक वर्ष विनियोजन गर्ने विकास बजेटको ६० प्रतिशतभन्दा बढी बजेट प्रयोग गरी स्थानीय तहले पालिकाका सबै क्षेत्रमा सडक खनेका हुन् ।

विकासको मुख्य आधार भन्दै जिल्लाका १० स्थानीय तहले झन्डै एक हजार किलोमिटर सडक निर्माण गरेका छन् । त्यसमा पाँच सय किलोमिटर जति तत्कालीन जिल्ला विकास समितिले खनेका पुरानो सडक स्तरवृद्धि गरेका छन् भने पाँच सय किमी नयाँ कटिङ गरेका छन् । स्थानीय तहले सडक निर्माण गर्दा प्रत्येक वर्ष ८ देखि २० करोडसम्म खर्च गरेका छन् । करोडौँ रुपैयाँ खर्च गरेर गाउँ-गाउँ तथा घरघरसम्म सडक पुर्‍याउँदा पहिलाको तुलनामा राहत भए पनि स्थानीयले पहिरो लगायत अन्य जोखिम उत्तिकै मोल्नु परेको छ । उनीहरूले सडककै कारण बेलाबेलामा विभिन्न सास्ती भोग्दै आएका छन् ।

स्थानीय तहले खनेको कच्ची सडक वर्षात्‌को समयमा हिलाम्मे भएपछि मोटरसाइकलमा जोखिम उठाएर आउजाउ गर्दै एक यात्रु । तस्बिर : विप्लव महर्जन/कान्तिपुर

बन्गाड कुपिण्डे नगरपालिका-१२ निगालचुला आसपासमा स्थानीय तह तथा प्रदेश सरकारको बजेटमा सडक निर्माण गरेपछि विकट मानिने निगालचुला सडकको पहुँचमा पुगे पनि नियमित गाडी सञ्चालन हुन नसकेको दुर्गाबहादुर पुनले बताए । उक्त सडकमा हिउँदमा गाडी चल्ने गरेको उनले जानकारी दिए । ‘बस्तीमा सडक पुग्नु राम्रो कुरा हो । विकासको मुख्य आधार सडक हो भनेर अन्य योजनाप्रति खासै ध्यान नदिनु गलत हो‚’ उनले भने‚ ‘यसले गर्दा अन्य योजना ओझेलमा परेका छन्’ । सधैं आर्थिक वर्षको अन्तिममा डोजर प्रयोग गरी सडक निर्माणको काम गर्ने र वर्षात्‌को समयमा परेको पानीले सबै बगाउने गर्दा धेरैजसो सडक प्रयोगविहीन भएका र एक वर्षअघि निर्माण गरेको सडक अर्को वर्ष मर्मत गर्ने नाममा ठुलो रकम दुरुपयोग हुँदै आएको उनको भनाइ छ ।

स्थानीय तहले निर्माण गरेका दर्जनौं सडकमध्ये अहिले दुई दर्जनजति मात्र प्रयोगमा आएका र तीमध्ये केही सडकमा मात्र नियमित गाडी संचालनमा आएका कालिमाटी गाउँपालिका-५ का धर्मबहादुर गाहामगरले बताए । स्थानीय तहले सडक निर्माणलाई प्राथमिकता दिए पनि स्तरवृद्धिका लागि भने खासै ध्यान नदिएको उनले बताए । ‘घर नजिकैसम्म पुग्ने सडक छ । आफ्नो मोटरसाइकल भयो भने घरसम्म पुग्न सकिन्छ‚ नत्र आधा बाटो हिँड्नुपर्छ‚’ उनले भने‚ ‘सडक निर्माण गर्दा केही बस्ती जोखिममा परेका छन् तर सम्बन्धित निकायले पहिरो नियन्त्रणमा खासै ध्यान दिएको छैन ।’ गाउँमा कोही बिरामी भएमा बिरामी ओसारपसार गर्न भने सहज भएको उनको भनाइ छ ।

स्थानीय तहले जंगलसँगै पहाड फोडेर निर्माण गरेको सडक । तस्बिर : विप्लव महर्जन/कान्तिपुर

वातावरण परीक्षणबिनै स्थानीय तहले सडक निर्माण गर्दा विकासको नाममा विनाश पनि उत्तिकै भएको बाग्चौर नगरपालिका-१२ का नन्दराम ओलीले बताए । उनले जथाभावी डोजर प्रयोग गरी सडक खन्दा त्यहाँका बस्तीका घरहरू पहिरोको उच्च जोखिममा परेको, पहिरो जाँदा भागाभाग भएको र पहिरोकै कारण खानेपानी, बिजुलीमा धेरै क्षती पुगेको, बस्तीका दुई दर्जन परिवार दुई सातासम्म विस्थापित भएको उल्लेख गरे । उनका अनुसार पहिरोको जोखिमका कारण वर्षातको समयमा स्थानीय घरमा बस्नसमेत डराउने गरेका छन् । स्थानीय तहले निर्माण गरेको सडक निर्माण भएपछि गाडी चल्न थालेको भन्दै उनले यसले गर्दा धेरै टाढासम्म हिँडेर जानुपर्ने समस्याको अन्त्य भएको र घरमा प्रयोग गर्ने सामग्री टाढाबाट बोकेर ल्याउनु नपरेको बताए ।

विकासको काम गर्दा केही विनाश भए पनि विनाश रोक्न प्रयास गरिरहेको जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् । सुरुवातमा सडकलाई प्राथमिकता दिए पनि अन्य काम पनि सँगसँगै गरिरहेको उनीहरूले उल्लेख गरे ।

कालिमाटी गाउँपालिका सल्यानका अध्यक्ष दानबहादुर खत्रीले चार वर्षको अवधिमा झन्डै ४० करोडभन्दा बढी रकम खर्चेर एक सय ५० किलोमिटर सडक निर्माण गरेको र त्यसमा आधा स्तरवृद्धि र आधा नयाँ कटिङ रहेको बताएका छन् । स्तरवृद्धि गरेका मुख्य सडकमा गाडी चलिरहेको उनले जानकारी गराए । उनले सडक खन्ने क्रममा खसेका ढुंगामाटोले गर्दा केहीका खेतीयोग्य जग्गा, सिँचाइ कुलो, पानीका मुहान पुरिएका र ठाउँ ठाउँमा पहिरो गएको स्वीकारे । पुरिएका सिँचाइ कुलोलगायत क्षती पुगेका अन्य योजना मर्मत र पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण कार्य गरिएको उनको भनाइ छ ।


कारागिठीको एक बस्तीको छेवैबाट स्थानीय तहले खनेको सडक । तस्बिर : विप्लव महर्जन/कान्तिपुर

त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले स्थानीयको चाहनाअनुसार सडक निर्माणलाई प्राथमिकता दिएको र चार वर्षको अवधिमा झन्डै सय किमी सडक निर्माण गरेको बताए । उनले सडक निर्माणबाट स्थानीयलाई बाहिर आउजाउमा मात्र नभई उत्पादित वस्तु बाहिर निकासी गर्नसमेत सहज भएको जानकारी गराए । स्थानीय तहले निर्माण गरेका अधिकांश सडकमा गाडी चल्ने गरेको भन्दै उनले सडक निर्माणसँगै अन्य योजनाका काम पनि भइरहेको बताए ।

सडक निर्माणले नाङ्गिदै जंगल
स्थानीय तहले जथाभावी सडक खन्दा चारैतिर हरिया देखिने जंगल नाङ्गिदै गएका छन् । सडक निर्माणकै क्रममा गन्नै नसकिने सयौँ रुखहरू मासिएका छन भने पहिरोको जोखिम पहिलाभन्दा बढ्दै गएको छ । वन मासिँदा वातावरणमा समेत असर परेको छ । वन तथा वातावरण ऐन २०७६ अन्तर्गत सडक खन्दा एक रुख मासे बापत २५ रुखबिरुवा रोप्नुपर्ने भए पनि स्थानीय तहले रुखबिरुवा रोप्ने बारेमा खासै ध्यान दिएका छैनन् । डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरिले स्थानीय तहले सडक खन्दा क्षती भएका रुखबिरुवाको भने अहिलेसम्म गन्ती नभएको र सडक खन्दा कहाँ कहाँ पहिरो गयो भन्ने कुनै तथ्यांक नभएको बताएका छन् ।

बढ्दै पहिरोको उच्च जोखिम
जथाभावी खनेको सडकका कारण जिल्लाका अधिकांश स्थानमा पहिरोको जोखिम बढ्दै गएको छ । वर्षैपिच्छे वर्षात्‌को समयमा जाने पहिरोका कारण अघिल्लो वर्षमा केही घरमा क्षती पुगेको छ भने अहिले पनि डेढ दर्जनभन्दा बढी बस्ती र केही विद्यालय जोखिममा परेका छन् । सम्बन्धित निकायले पहिरो नियन्त्रणसम्बन्धी कुनै ध्यान नदिएको स्थानीयको गुनासो छ ।

पुरिए पानीका मुहान
वातावरण परीक्षणबिना तथा डोजरको भरमा खनेका सडकका कारण जिल्लाभित्र रहेका ५० भन्दा बढी पानीका मुहानमा असर परेको छ । जसका कारण दुई दर्जनभन्दा बढी मुहान सुकेका छन् भने केही पुरिएका छन् । मुहान पुरिँदा र सुक्दा पहाडमा बस्ती भएका क्षेत्रमा खानेपानीको अभाव बढ्दै गएको छ ।

प्रकाशित : पुस २४, २०७८ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×