काठमाडौँ — मुलुकमा करिब सात महिनाअघि देखिएको कोभिड–१९ को दोस्रो लहर उत्कर्षमा पुगेका बेलाको दाँजोमा हाल आइसोलेसन, एचडीयू, आईसीयू, भेन्टिलेटर, अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर, प्लान्ट दोब्बर भएका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल देशभरिमा ८ हजार २ सय २ आइसोलेसन, ३ हजार ८ सय ४६ एचडीयू, २ हजार ७ सय ९७ भेन्टिलेटर, १३ हजार ९ सय ३९ अक्सिजन सिलिन्डर, ६ सय ९३ अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट छन् ।
‘यसै वर्ष जेठ महिनाको पहिलो र दोस्रो सातातिर (कोभिडको दोस्रो लहर उत्कर्षमा पुग्दा) को दाँजोमा हाल दोब्बर आइसोलेसन, एचडीयू, भेन्टिलेटर, सिलिन्डरलगायतका पूर्वाधार छन्,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, ‘दोस्रो लहरको उत्कर्ष रहेका बेला दुई अस्पतालमा मात्रै लिक्विड अक्सिजन ट्यांक काम गर्ने अवस्थामा थियो । अहिले १३ अस्पतालमा काम गर्ने अवस्थाको लिक्विड अक्सिजन ट्यांक छन् । अन्य ६ अस्पतालमा भएको लिक्विड अक्सिजन ट्यांक एक–दुई दिनभित्रै काम गर्ने अवस्थामा आउनेछ ।’
कोभिडको पहिलो लहरपछि एचडीयू बेडको अवधारणा आएको हो । पछिल्ला दिनमा आईसीयूको सेवा दिने गरी बनाइएको एचडीयू बेडको संख्यामा समेत उल्लेख्य वृद्धि भएको मन्त्रालयको दाबी छ ।
मन्त्रालयका अनुसार हाइफ्लो अक्सिजनसहितको शय्या र आवश्यक परे भेन्टिलेटरसमेत जोड्न सकिने गरी सघन उपचारका लागि आवश्यक पर्ने सबै प्रविधिसहित देशभरिमा ३ हजार ८ सय ४६ एचडीयू बेड निर्माण गरिएको डा.अधिकारीको भनाइ छ । कोभिडको पहिलो लहरताका एचडीयू बेडको संख्या शून्य रहेकामा दोस्रो लहरको उत्कर्ष रहँदाताका करिब १ हजार २ सयजति एचडीयू बेड जडान भएको थियो ।
आईसीयू शय्याको संख्यामा समेत पछिल्लो समय उल्लेख्य वृद्धि भएको दाबी स्वास्थ्य मन्त्रालयको छ । हाल देशभरि २ हजार ७ सय ९७ आईसीयू बेड रहेकामा कोभिडको पहिलो लहरको उत्कर्षताका यो संख्या करिब ७ सयदेखि ८ सयको हाराहारीमा थियो भने दोस्रो लहरको उत्कर्षताका गत जेठमा आईसीयू शय्या करिब १ हजार ४ सयको हाराहारीमा थियो ।
कोभिडको पहिलो लहरभन्दा अघि मुलुकमा न्यून मात्रामा भेन्टिलेटर थियो । पहिलो र दोस्रो लहरको बीचमा भेन्टिलेटरको संख्या करिब पाँच सयदेखि ६ सयसम्म पुगेको थियो भने दोस्रो लहरको उत्कर्षमा ८ सयदेखि ९ सयसम्म भेन्टिलेटर पुगेकामा हाल १ हजार ८ वटा भेन्टिलेटर जडान अवस्थामा छ । ‘हाल भएका भेन्टिलेटरबाहेक पनि आवश्यकता देखिए हामीसँग केही संख्यामा भएका भेन्टिलेटरलाई तुरुन्त जडान गर्न सकिन्छ’, डा.अधिकारीले भने ।
मुलुकमा पहिलो लहरताका खासै अक्सिजनको समस्या नदेखिए पनि दोस्रो लहरको उत्कर्षताका अक्सिजन अभावले ज्यान गुमाउनुपरेको घटना थुप्रै थियो । दोस्रो लहरको उत्कर्षताका मुलुकमा करिब ६ हजार अक्सिजन सिलिन्डर भएकामा हाल १३ हजार ९ सय ३९ अक्सिजन सिलिन्डर छ । यस्तै दोस्रो लहर उच्चतम बिन्दुमा हुँदाताका मुलुकमा हाइफ्लो अक्सिजन कन्सन्ट्रेटर खासै नभए पनि हाल ६ सय ९३ वटा हाइफ्लो अक्सिजन कन्सन्ट्रेटर छ ।
