पर्सा — वीरगन्जस्थित नेपाल–भारत सीमानाकामा रहेको हेल्थ डेस्कमा बिहीबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिनभरमा २ सय ७० जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३ भारतीय र ३ नेपालीको रिपोर्ट पोजिटिभ पाइएको हेल्थ डेस्क प्रमुख डा. अनिशा महतो जानकारी दिइन् ।
भारतको कोलकाताबाट तीर्थयात्री लिएर आएको बसका यात्रुमा एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण पाइएको हो । ‘४२ यात्रु सवार उक्त बस पशुपतिनाथ दर्शनका लागि काठमाडौं जाँदै थियो । हामीले बसमा सवार सबैको एन्टिजेन परीक्षण गर्यौं,’ उनले भनिन्, ‘तीमध्ये एक पुरुषमा संक्रमण देखिएपछि सबैलाई भारत नै फिर्ता पठायौं ।’
अन्य ५ संक्रमितमध्ये थप १ भारतीय कोलकाताबाट र अर्का भारतीय छिमेकी सहर रक्सौलबाट नेपाल आउँदै थिए । कोलकाताबाट फर्किंदै गरेका काठमाडौं, चितवन र पूवी नवलपरासीका ३ नेपालीमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरूलाई होम आइसोलनमा बस्ने सर्तमा एउटै सवारीसाधनको व्यवस्था गरी घर पठाइएको डा. महतोले बताइन् ।
पछिल्ला दिनहरूमा कोलकाताबाट आउनेहरूमा संक्रमण देखिइरहेको पनि उनले बताइन् । ‘पुस ८ देखि बिहीबारसम्म नाकामा संक्रमित देखिएका २३ जनामध्ये ७५ प्रतिशत कोलकाता वा पश्चिम बंगालको ट्राभल हिस्ट्री भएका छन्,’ उनले भनिन्, ‘यसले सीमा नाकाहरूमा कडाइ नगरिए नेपालमा पनि तीव्र रूपमा संक्रमण समुदाय स्तरमा विस्तार हुने खतरा छ ।’
उनका अनुसार भारतबाट संक्रमण भित्रिने खतरा बढ्दै गएपछि डेस्कमा एन्टिजेन परीक्षणको दर पनि बढाइएको छ ।
