भारतमा एकै दिन ९० हजार संक्रमित

पुस २३, २०७८

एजेन्सी

नयाँदिल्ली — कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि भारतमा एकै दिन ९० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९० हजार ९ सय २८ जना संक्रमित भएका हुन् । योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या ३ करोड ४९ लाख नाघेको छ । 

मन्त्रालयका अनुसार सोही अवधिमा थप ३ सय २५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार ६ पुगेको छ । भारतभर हाल २ लाख ८५ हजार ४ सय १० जना संक्रिय संक्रमित छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १९ हजार २ सय जना निको भएको जनाएको छ । निको हुने दर ९७.८१ प्रतिशत रहेको जनाइएको छ । सन् २०२१ को जनवरी १६ बाट कोभिडविरुद्धको खोप अभियान सुरु गरेको भारतले १ अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइसकेको जनाइएको छ । 

यसैबीच, भारतमा नयाँ भेरिएन्टबाट पहिलो पटक एक जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले राजस्थानमा ७४ वर्षीय एक पुरुषको ओमिक्रोन संक्रमणका कारण ज्यान गएको जनाएको हो । मधुमेहका रोगी उनको केही दिनदेखि उपचार भइरहेको थियो । 

भारतमा अहिलेसम्म २ हजार १ सय ३५ जना संक्रमित भएको बताइएको छ । भारतमा हालसम्म २ हजार ३ सय ६० जनामा ओमिक्रोनको संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ६ सय ५३ महाराष्ट्र र दिल्लीका ४ सय ६४ जना छन् । ‘प्राविधिक रूपमा यो ओमिक्रोनसँग सम्बन्धित मृत्यु हो ।

मृतक मधुमेहसहित अन्य रोगपीडित थिए,’ स्वास्थ्य मन्त्रालयका संयुक्त लव अग्रवालले भने । भारतीय सञ्चारमाध्यमका अनुसार उनको राजस्थानस्थित उदयीपुर अस्पतालमा १५ दिनदेखि उपचार भइरहेको थियो । 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully