काठमाडौँ — गर्भावस्थाको समयमा कोभिड खोप लगाएका महिलाहरूले समय नपुगी बच्चा जन्माउने र कम तौल भएको बच्चा जन्माउने जोखिमको सम्बन्ध नरहेको एक अध्ययनले देखाएको छ ।
यो अध्ययन गर्भावस्थाको समयमा खोप लगाएका महिलाहरूबाट जन्मेका बच्चाहरूमा गरिएको पहिलो स्वास्थ्य परीक्षणबाट गरिएको अध्ययन हो । जसले कोभिड खोप लगाएका गर्भवती महिलाहरूले समय नपुगी बच्चा जन्माउने र कम तौल भएको बच्चा जन्माउने जोखिमको सम्बन्ध नरहेको बताएको छ ।
कम तौल भएका बच्चाहरू र चाँडै जन्मिएका शिशुहरूको विकासमा ढिलाइ र अन्य स्वास्थ्य समस्याहरू देखिने सम्भावना तुलनात्मक रुपमा अन्यभन्दा बढी हुन्छ । यसअघिको अध्ययनले गर्भवती अवस्थामा खोप लगाएका र खोप नलगाएका महिलाहरूको तुलनामा गर्भपतनको जोखिम समान नै रहेको पत्ता लागेको थियो।
नयाँ अध्ययनले १५ डिसेम्बर २०२० र २२ जुलाई २०२१ सम्म एउटा मात्र बच्चा जन्माइरहेका ४६ हजार ७९ गर्भधारणहरू हेरेको थियो। जसमा गर्भावस्थाको अवधिमा कोभिड खोपको एक वा बढी डोज प्राप्त गर्ने महिलाहरू १० हजार ६४ जना पनि थिए । धेरैले फाइजर र मोर्डनाको खोप प्राप्त गरेका थिए । र धेरैजसोले गर्भावस्थाको दोस्रो वा तेस्रो त्रैमासिकमा खोप लगाएका थिए ।
समग्रमा भन्दा ६.६ प्रतिशत बच्चाहरु समयभन्दा पहिले जन्मिएका थिए त्यो भनेको ३७ हप्ता अघि हो । त्यसैगरी ८.२ प्रतिशत बच्चाहरु २ केजीभन्दा कम तौलको जन्मिएका थिए । अनुसन्धानकर्ताहरुले गर्भावस्थामा खोप लगाएका आमाहरू र नलगाएका बीचको दरमा कुनै फरक फेला पारेनन्।
येल युनिभर्सिटीका म्याटर्नल फेटल मेडिसिन स्पेसलिस्ट तथा अध्यनयका प्रमुख लेखक डा. हेडर एस लिपकाइन्ड भन्छन्– ‘हामी शिशुहरू र तिनीहरूको विकासक्रमको फलोअप अध्ययन गर्ने योजनामा छौँ, तर त्यो गर्न पर्याप्त समय मिलेको छैन ।’
सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी) ले मंगलबार सो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । यो अध्ययन डा. लिपकाइन्ड, सीडीसी, काइजर पर्मानेन्ट सेन्टर फोर हेल्थ रिसर्च र हार्वर्ड पिलग्रिम हेल्थ केयर इन्स्टिच्युटसँगको सहकार्यमा गरिएको हो ।
समय नपुगी बच्चा जन्मिनुको जोखिम कोरोना संक्रमित गर्भवती महिलाहरुमा बढी देखिएको छ । ‘प्रत्येक हप्ताको गर्भावस्थासँगै मस्तिष्कको विकास बढी हुन्छ। यदि तपाईंमा कोभिड छ र प्रिटर्म डेलिभरी गर्नुपर्छ भने यसले दीर्घकालीन विकासलाई पनि असर गर्न सक्छ,’ उनले भनिन्, ‘खोपको अर्को फाइदा भनेको आमाद्वारा आफ्नो शिशुमा कोरोनाभाइरस एन्टिबडी जान्छ जसले उनीहरूलाई रोगबाट जोगाउन मद्दत गर्दछ ।’
गर्भवती महिलाहरू जो कोरोनाबाट संक्रमित हुन्छन् उनीहरूमा गम्भीर रोगको विकासको उच्च जोखिम रहन्छ । स्वास्थ्य अधिकारीहरूले उनीहरूलाई खोप लगाउन आग्रह गरेका छन्। तैपनि, गर्भवती महिलाहरूमा खोपको दर कम रहेको छ ।
अमेरिकामा सेप्टेम्बरको अन्त्यसम्म लगभग ३१ प्रतिशत गर्भवती महिलाले मात्र कोभिड खोप लगाएका छन् ।
नेपालको कुरा गर्दा त्यो संख्या झन् न्यून छ । कतिले लगाए भन्ने तथ्यांक नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नै छैन । धेरैमा खोपले गर्भपात हुने, राम्रो बच्चा नजन्मिने लगायतका गलत बुझाइ स्थापित बनेको देखिन्छ ।
समुदाय अनुसार खोप दर पनि व्यापक रूपमा भिन्न छ। सीडीसीका अनुसार गर्भवती एसियाली अमेरिकीहरू मध्ये लगभग आधाले खोप लगाएका छन् । त्यसैगरी २५ प्रतिशत हिस्प्यानिक महिलाहरुले खोप लगाएका छन् भने १४ प्रतिशत गर्भवती अश्वेत महिलाहरूले खोप लगाएको देखिन्छ ।
डा. लिपकिन्ड भन्छिन्– ‘मेरो अभ्यासमा खोप नलगाएका महिलाहरु निश्चित रूपमा बिरामी हुन्छन् । हामीले कोभिडसंक्रमित महिलाहरुमा प्रिटर्म जन्म हुने र गर्भपतन पनि भइरहेको देखिरहेको छौँ । यो धेरै दु:खद हो।’
ओमिक्रोन भेरिएन्टको केस बढेसँगै उनले सबै गर्भवती महिलाहरुलाई खोप लगाउन आग्रह गरेकी छिन् । ‘मलाई लाग्छ कि मानिसहरू यत्तिकै अज्ञात भयसँग डराइरहेका छन् । यो नयाँ अनुसन्धानले मानिसहरूलाई खोपको बारेमा राम्रो धारणा सहयोग गर्छ होला ।’
