धनुषा — प्रदेश २ स्वास्थ्य निर्देशनालयले पुस मसान्तमा प्रदेशको ६६ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ । कोरोना महामारीको तेस्रो लहरको रूपमा ओमिक्रोन संक्रमण बढ्न सक्ने भन्दै निर्देशनालयले खोप अभियानलाई तीव्र बनाएको हो ।
निर्देशनालयका प्रमुख विजय झाले चैतभित्र प्रदेशमा शतप्रतिशत खोप लगाउने पनि अभियान सुरु गरिएको बताए । उनले ओमिक्रोन रोकथामका लागि स्थानीय तहलाई सक्रिय बनाउने, नेपाल–भारत सीमामा हेल्थ डेस्क स्थापना र स्वास्थ्य मापदण्ड पालन गराउने काम अघि बढाइएको जानकारी दिए ।
‘प्रदेशका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको जिल्ला खोप समन्वय समितिलाई समेत सक्रिय बनाएका छौं । खोपबाट वञ्चित भएका गाउँ–टोल र विद्यालयमा केन्द्र राखेर खोप लगाउँदै छौं । नयाँ लहर समुदायस्तरमा फैल्न नदिन र रोकथामका लागि प्रदेश सरकार, प्रदेशका स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, प्रमुख जिल्ला अधिकारीसित छलफलसमेत गरिएको छ,’ उनले भने ।
कोभिड संक्रमितका लागि आईसीयू र भेन्टिलेटरसहितको अस्पताल तयारी अवस्थामा राखिएको झाले बताए । जनकपुरको मुजेलियामा गम्भीर अवस्थाका संक्रमितलाई उपचार गर्न १ सय बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको र प्रदेशका अस्पतालहरूमा अक्सिजन प्लान्ट सञ्चालन गरिएको उनले जानकारी दिए ।
कोरोनाको लहर फैलन नदिन पहिलो प्रयास स्वरूप स्वस्थ्य पीरक्षण जाँच बढाइएको छ । उनका अनुसार संक्रमण देखिएका र बाहिरबाट आउनेलाई आइसोलेसनमा राख्न प्रचारप्रसार गरिएको छ । विगतमा अस्पताल र भौतिक संरचनाको अभाव भए पनि अहिले अस्पताल तयारी अवस्थामा रहेको झाको दाबी छ ।
‘पहिला प्रदेशमा सामान्य संक्रमितलाई उपचार गर्न समस्या थियो । अहिले जटिल अवस्थामा समेत उपचार सम्भव भएको छ,’ उनले भने, ‘साधनस्रोत जुटाएर स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरिएको छ ।’
खोप कार्यक्रम अभिवृद्धिका लागि आइतबार प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रम तथा प्रदेश निर्देशक समितिको बैठक पनि बसेको थियो । बैठकमा सहभागी प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले खोप कार्यक्रमलाई युद्धस्तरमा अघि बढाउन निर्देशन दिए ।
