काठमाडौँ — सरकारले ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएकालाई कोभिड–१९ विरुद्धको खोपको ‘अतिरिक्त मात्रा’ दिने निर्णय गरेको छ । पूर्ण खोप लगाएको ३ महिना पुगेका र चीनमा निर्मित भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथिकालाई अतिरिक्त खोप दिन लागिएको हो ।
विज्ञहरूले कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण आउन सक्ने अर्को लहरको जोखिम न्यून गर्न बुस्टर डोजको आवश्यकता औंल्याउँदै आएका थिए । सरकारले बुस्टर डोज नभने पनि मंगलबारदेखि ‘अतिरिक्त खोप’ दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार यससम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । सूचनामा पहिले जुन खोप लगाइएको हो, सोही प्रकृतिको थप एक मात्रा खोप दिइने उल्लेख छ । केही दिनअघि राष्ट्रिय खोप सल्लाहकार समितिले पनि निश्चित समूहलाई खोपको अतिरिक्त मात्रा दिन सिफारिस गरेको थियो ।
‘कमजोर प्रतिरक्षा प्रणाली भएकाले पहिले पूर्ण मात्रा खोप लगाएको कार्ड र चिकित्सकको सिफारिस लिएर मंगलबारदेखि खोप केन्द्र जानुपर्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘६० वर्षमाथिका भेरोसेल र सिनोफार्म खोप लगाएकाहरूले खोप कार्ड मात्र लिएर खोप केन्द्र पुगे हुन्छ ।’
सरकारले निश्चित समूहलाई अतिरिक्त खोप दिने निर्णय गरे पनि विज्ञहरूले भने पूर्ण मात्रा लगाएको ६ महिना पुगेका सबैलाई त्यस्तो खोप दिनुपर्ने बताएका छन् । अतिरिक्त मात्राले ओमिक्रोनलगायत नयाँ भेरिएन्टबाट हुने क्षति कम गर्नुका साथै संक्रमणले छोइहाले पनि अस्पताल बसाइ, जटिलता र मृत्युको जोखिम कम गर्न सक्ने उनीहरूको भनाइ छ । ‘पूर्ण मात्रा खोप लिएका अधिकांशको शरीरमा कोभिडविरुद्घको प्रतिरोधक क्षमतामा कमी आइसकेकाले सरकारले तुरुन्त सबैलाई अतिरिक्त मात्रा सुनिश्चित गर्नुपर्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘विश्वका धेरैजसो राष्ट्र आफ्ना नागरिकलाई कोभिडबाट सुरक्षित पार्न अतिरिक्त मात्रा दिइरहेका छन्, हामी के हेरेर कसेका छौं ?’
वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले पनि थप मात्रा खोप दिन ढिलाइ गर्न नहुने बताए । ‘विश्वका महाशक्ति मुलुकहरूमा बुस्टर डोज लगाउन थालिसके, हामी जस्तो सानो मुलुक किन पछि परेका हौं ?’ उनले भने, ‘एकातिर संक्रमण नफैलियोस् पनि भन्ने अर्कोतर्फ थप खोपको निर्णय पनि नगर्ने, यो त अति विरोधाभास भयो ।’
सोमबारसम्ममा कुल जनसंख्याको ३४.९ प्रतिशत अर्थात् १ करोड ५ लाख ९७ हजार ७ सय ९७ जनाले पूर्ण र ४७.३ प्रतिशत अर्थात् १ करोड ४३ लाख ६० हजार ६ सय ८३ जनाले एक मात्रा खोप लगाएका छन् ।
हालसम्म खरिद र अनुदान गरी ३ करोड ९२ लाख ३ हजार ९ सय २७ मात्रा खोप भित्रिएको छ । त्यसमध्ये सोमबारसम्म २ करोड ४९ लाख ५८ हजार ४ सय ८० मात्रा खोप लगाइएको छ । आगामी तीन महिनाभित्र करिब एक करोड ७५ लाख मात्रा थप खोप भित्रिने निश्चित भइसकेको छ ।
अतिरिक्त खोप कसलाई ?
