काठमाडौँ — दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री केजरीवालले मंगलबार बिहान ट्विटमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले आफूलाई सामान्य लक्षण देखिएको र घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिएका छन् । उनले पछिल्ला दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई पनि आइसोलेसनमा बस्न र कोभिड परीक्षण गराउन आग्रह गरेका छन् ।
I have tested positive for Covid. Mild symptoms. Have isolated myself at home. Those who came in touch wid me in last few days, kindly isolate urself and get urself tested
— Arvind Kejriwal (@ArvindKejriwal) January 4, 2022
मुख्यमन्त्री केजरीवाल पन्जाब, उत्तर प्रदेश र उत्तराखण्डमा हुन गइरहेको विधानसभा चुनावको प्रचारप्रसार कार्यक्रममा सहभागी हुँदै आएका थिए । आइतबार उनी उत्तर प्रदेशमा आयोजित एक सभामा सहभागी भएका थिए ।
दिल्लीमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्यामा समेत वृद्धि भइरहेको छ । सोमबार थप ४ हजार ९९ जनामा संक्रमण पुष्टि भएको दिल्ली सरकारले जनाएको छ । आइतबारको तुलनामा २८.३३ प्रतिशतले संक्रमण बढेको छ । आइतबार ३ हजार १ सय ९४ मा संक्रमण पुष्टि भएको थियो ।
दिल्लीमा अहिले करिब ११ हजार सक्रिय संक्रमित रहेका छन् भने ४२० जना अस्पतालमा उपचाररत छन् । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार दिल्लीमा नयाँ पुष्टि भएका केसमध्ये अधिकांश ओमिक्रोन भेरिएन्ट रहेको छ ।
