न्युयोर्क — खोप निर्माण कम्पनी फाइजर र बायोएनटेकले कोभिडविरुद्धको खोपको बुस्टर डोजले ओमिक्रोन भेरियन्ट संक्रमितको शरीरमा प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ । कम्पनीले अन्य भेरियन्टविरुद्ध फाइजर खोप दुई मात्रा लगाउँदा विकसित हुने रोगप्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध भने तीन मात्रा आवश्यक पर्ने देखिएको अध्ययनले पुष्टि गरेको जनाएको हो ।
फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले बिहीबार एक विज्ञप्ति जारी गर्दै खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जनाएका हुन् । तर उक्त कम्पनीले पछिल्लो नतिजा प्रारम्भिक रहेको बताउँदै वास्तविक प्रभावकारिताबारे ठोस अध्ययन गर्न तथ्यांक संकलन जारी रहेको जनाएको छ । फाइजरले ओमिक्रोनलक्षित खोप विकसित गरिरहेको र त्यो सय दिनभित्र वितरणका लागि तयार हुने उनको भनाइ छ । तर उक्त खोप आपत्कालीन प्रयोगमा आउनुअघि खोप नियामक निकायहरूबाट स्वीकृत हुनुपर्छ ।
यसअघि, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडविरुद्ध हाल प्रयोगमा रहेका खोपहरूले नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको जनाएको थियो ।
दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा ओमिक्रोनविरुद्ध फाइजर खोपको प्रभावकारिता पहिलेको तुलनामा कम देखिएको विवरणपछि डब्लूएचओको भनाइ सार्वजनिक भएको थियो । हाल विश्वभरका अनुसन्धानकर्ताहरूले ओमिक्रोन र खोपको प्रभावकारिताबारेका तथ्यांकहरू संकलन गरिरहेको जनाएका छन् ।
नयाँ भेरियन्टविरुद्ध मोडेर्ना, जान्सेन र अन्य खोपहरूको प्रभावकारिताबारे भने अध्ययन भइसकेको छैन् । हासम्म देखिएकामध्ये ओमिक्रोन सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो । पहिलो पटक नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोनले हाल विश्वव्यापी रूपमा त्रास फैल्याइरहेको छ ।
डब्लूएचओले यो भेरिएन्टलाई ‘संक्रमणको उच्च जोखिम’ को सूचीमा राखिसकेको छ । ओमिक्रोनको उत्परिवर्नन तीव्र रूपमा फैलिइरहेकाले थप सतर्कता अपनाउनुपर्ने संगठनको भनाइ छ । तर, पहिलेका भेरियन्टको तुलनामा ओमिक्रोनले मानिसहरूमा पार्ने प्रभावबारे भने अझै प्रस्ट भइसकेको छैन ।
