कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी पुन

एक उपसभापतिबाहेक सबै पदमा संस्थापन इतरका उम्मेदवार विजयी

मंसिर २०, २०७८

अमृता अनमोल, सन्जु पौडेल

भैरहवा — कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनबाट अमरसिंह पुन सभापतिमा विजयी भएका छन् । संस्थापन पक्षका  भरतकुमार शाहलाई पराजित गर्दै उनी विजयी भएका हुन् । एक उपसभापति बाहेक संस्थापन इतर समूहका अमरसिंह पुन समूहको प्यानल नै विजयी भएको छ ।

निर्वाचन समितिका सदस्य जीवनारायण अधिकारीका अनुसार खसेको १ हजार ६ सय ३६ मतमा पुन ८ सय ५२ मत ल्याई विजयी बनेका हुन् । उनका प्रतिद्वन्द्वी भरतकुमार शाहलाई ८५ मतले उछिनेका हुन् । शाहले  ७ सय ६७ मत प्राप्त गरे । विजेता सभापति पुन रोल्पाका हुन् ।

पदाधिकारीमा उपसभापतिका उम्मेदवार अष्ठभुजा पाठकबाहेक अमरसिंह पुनको प्यानल विजयी भएको हो । रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका शाह र पाठकले पराजय भोगेका छन् । शाह संघीय संसदको सार्वजनिक लेखा समिति सभापतिसमेत हुन् । उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भएका छन् । श्रेष्ठले ८ सय ४७  मत प्राप्त गरेका छन् भने खनालले ७ सय ९२ मत प्राप्त गरे । पाठकले भने ७ सय ७२ मत पाएका छन् । 

त्यस्तै महामन्त्रीमा पनि पुन समूहकै विक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन् । खनालले ८ सय ४४ र आर्चायले ८सय ३९ मत प्राप्त गर्दै विजयी भएको अधिकारीले जनाए ।

सहमहामन्त्रीमा विष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन् । खनालले सर्वाधिक ८सय ६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७ सय ७६ मत प्राप्त गरेका हुन् । महिला सहमहामन्त्रीमा निमा गिरीले जित हांसिल गरिन् । उनले ८ सय ३० मत प्राप्त गरेकी छन् । 


अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully